+
+

‘आबुधाबी डायलग’मा नेपालका पाँच मुद्दा, श्रमिकको तलब बढाउन माग 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते २१:२७

१५ कात्तिक, काठमाडौं । नेपालले ‘आबुधाबी डायलग’को छैठौं मन्त्रीस्तरीय बैठकमा विदेशमा कार्यरत श्रमिकको न्युनतम तलब वृद्धिको माग गरेको छ । श्रमिक पठाउने र लिने मुलुकहरुबीच भएको बैठकमा नेपालले श्रमिकलाई कार्यस्थलमा सुरक्षा प्रत्याभूति गराउनुपर्ने  पाँच वटा प्रमुख मुद्दाहरुलाई उठाएको छ ।

बैठकमा नेपालकोतर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णप्रसाद श्रेष्ठ (किसान)ले नेतृत्व गरेका थिए । अक्टोबर २५ देखि २९ तारिकसम्म दुबईमा भएको बैठकमा मन्त्री श्रेष्ठले श्रमिकको हतिका पक्षमा महत्वपूर्ण विषयहरु उठाउन गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सो बैठकको एजेण्डा तय गर्न बसेको वरिष्ठ अधिकारीहरुको लागि बैठकमा श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले नेपालको तर्फबाट कोभिड-१९ को कारण आप्रवासी श्रमिकहरुले भोगेका समस्याहरुको समाधानका लागि पहल गर्न आप्रवासी श्रमिक आपूर्ति गर्ने देशका प्रतिनिधिहरुलाई विशेष अनुरोध गरेका थिए ।

बैठकलाई विशेष सम्बोधन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गई स्वदेश फर्केका कामदारहरुलाई स्वदेशमा नै पुनः एकीकरण गर्न सहयोग गर्न रोजगारदाता मुलुकहरुसँग अनुरोध गरे । वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई देशमै पर्याप्त अवसर दिलाउन र समाज तथा परिवारका एकीकृत भएर बस्न उचित वातावरण निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ ।

उनले स्वच्छ रुपमा कामदार भर्ना प्रक्रिया सुनिश्चित गर्नका लागि कामदार पठाउने मुलुक र लिने मुलुकबीच थप सहकार्यको आवश्यकता पनि औंल्याए । नेपालले अहिले श्रमिकहरु वैदेशिक रोजगारीमा आउने क्रममा ठगिने क्रम कम नभएको भन्दै त्यसका लागि सरकारीस्तरमै स्वच्छ भर्ना प्रक्रियाका लागि समझदारी र सहकार्य हुनुनपर्नेमा जोड दिएको छ ।

मन्त्री श्रेष्ठले विदेशमा कार्यरत नेपाली श्रमिकहरुको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न पनि माग गरे । श्रमिकहरु कार्यस्थलमा दुर्घटना र स्वास्थ्य समस्या लगायतबाट पीडित भइरहेको र धेरैको ज्यान समेत जाने र अंगभंग हुने अवस्था रहेकाले त्यसतर्फ रोजगारदाता मुलुकले थप ध्यान दिनुपर्ने विषयलाई नेपालले बैठकमा जोडका साथ उठाएको छ ।

मन्त्री श्रेष्ठले बैठकमा आप्रवासी श्रमिकले सिकेको सीपको पहिचान गरी उनीहरुलाई उपयुक्त काममा मात्र लगाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् । श्रमिकको सिपको उचित उपयोग गर्नेतर्फ ध्यान दिनुपर्नेमा नेपालले बैठकमा रोजगारदाता मुलुकको ध्यानाकर्षण गराएको छ ।

मन्त्री श्रेष्ठले श्रमिकको न्यूनतम तलवमान बढाउने विषयमा ध्यान दिन पनि माग गरेका छन् । श्रमिकहरुले न्युन तलबमा विदेशमा आएर काम गर्नुपर्ने अवस्था अन्त्यका लागि हाल कायम रहेको तलबमानमा वृद्धि गर्नुपर्नेमा नेपालको प्रतिनिधिमण्डलले जोड दिएको छ ।

मन्त्री श्रेष्ठले आगामी २ वर्षको लागि अध्यक्ष राष्ट्रको जिम्मेवारी लिएको मित्रराष्ट्र पाकिस्तानलाई बधाइ दिँदै अध्यक्ष राष्ट्रले अबुधाबी डायलगमा उठाउने विषयमा समर्थन गर्ने र अन्य सदस्य राष्ट्रहरुबीच निरन्तर सहकार्य गर्ने बताए ।

उनूले संयुक्त अरव इमिरेट्सका माननीय मानव संशाधन तथा इमिरिटाइजेशन मन्त्रीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध विषयहरुमा छलफल भएको मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । मन्त्री श्रेष्ठले कतार, साउदी अरेबिया र मलेसिया सरकारका समकक्षीहरुसँग द्विपक्षीय श्रम सम्झौताका विषयहरुमा छलफल गरेका थिए ।

‘समग्रमा अबुधाबी डायलगको छैठौं संस्करणमा नेपालको तर्फबाट मन्त्रीज्यूको नेतृत्वमा सहभागिता जनाउनुले नेपालको वैदेशिक रोजगार व्यवस्थापनको क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको छ,’ प्रवक्ता घिमिरेले भनेका छन् ।

बैठकमा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सेलर निर्मला थापा पनि सहभगी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?