+
+

आजदेखि शुरु भयो तिहार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते ६:४१

१६ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।

मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।

बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ : १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उनले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?