News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारामा राष्ट्रिय भेला आयोजना गरेको छ।
- निवर्तमान सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिको रूपमा भेलाको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ।
- भेला संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा हुने कार्यक्रममा ५ हजार ५ सय सहभागीका लागि व्यवस्था गरिएको छ।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले उदघाटन गर्नेछन् ।
देउवाले प्रमुख अतिथिको रूपमा भेलालाई सम्बोधन गर्नेछन् । सभापतित्वको आसनग्रहण भेला संयोजक डा. शशांक कोइरालाले गर्नेछन् । देउवा र कोइरालालाई मञ्चमा विशेष आसनको व्यवस्था गरिएको छ ।
पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू विशिष्ट अतिथिको रूपमा सहभागी हुनेछन् । अन्य सहभागीहरूका लागि ५ हजार ५ सय कुर्सीको व्यवस्था गरिएको छ ।
आज भेलाको उदघाटन प्रमुख अतिथि देउवाले गर्नेछन् । नेताहरुको भाषण सुन्न र हेर्न सहज होस् भन्नका लागि डिजिटल बोर्डहरूको व्यवस्था समेत गरिएको छ ।
राष्ट्रिय भेलाका लागि मिराकल पार्टी प्यालेसले तीन दिनका लागि हल नि:शुल्क उपलब्ध गराएको छ । यो पार्टी प्यालेसका सञ्चालक गोपाल कँडेल हुन् । उनी नेपाली कांग्रेस धादिङका पूर्वक्षेत्रीय सभापति स्वर्गीय सीताराम कँडेलका भतिज हुन् ।
भेलामा सहभागीहरूका लागि साउन ३० र ३१ गते नास्ता, खाना र खाजाको प्रबन्ध नि:शुल्क मिलाइएको छ । आज उद्घाटनको दिन भने भोजनको व्यवस्था गरिएको छैन ।
भेला प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार बिहानको नास्ता ७ बजेदेखि ९ बजेसम्म हुने छ । त्यसपछि पहिलो सत्र ९ बजेदेखि १२ बजेसम्म सञ्चादन हुनेछ । दिउँसोको खाना १२ बजेदेखि २ बजेसम्म हुने छ । त्यसपछि दोस्रो सत्रमा विषयगत छलफल २ बजेदेखि साँझ ५ बजेसम्म हुने विश्वकर्माले जानकारी दिए ।
भेलाका सहभागीहरूलाई नास्ता, खाना र खाजाका लागि ओमसाई क्याटरिङबाट प्रबन्ध मिलाइएको छ ।
प्रतिक्रिया 4