+
+
अर्थ समितिमा स्टील उद्योगीहरुको चेतावनी :

स्पञ्‍ज आइरनमा भन्सार महशुल हटाउने निर्णय फिर्ता लिन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १६:४३

१६ कात्तिक, काठमाडौं । स्पन्ज आइरनमा लगाउँदै आएको भन्सार दर हटाउने र आयातित बिलेटमा अन्तशुल्क बढाउने निर्णय तत्काल फिर्ता लिन सरकारमाथि तीव्र दवाव परेको छ ।

स्टील व्यवसायीहरुले तत्काल सो निर्णय सरकारले फिर्ता नलिए नेपालमा रहेका ३० वटा मध्ये २४ वटा स्वदेशी स्टील उद्योग ६ महिनाभित्र बन्द हुने चेतावनी समेत दिएका छन्।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै साखः स्टीलम प्रालिका प्रबन्ध निर्देशक किरण प्रकाश साखः र पञ्चकन्या स्टील प्रालिका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले ६ वटा उद्योगलाई मात्रै केन्द्रित गरेर स्पन्ज आईरनमा लगाउँदै आएको भन्सार दर हटाउने सरकारको निर्णय देशको हितमा नहुने भन्दै मान्य नहुने चेतावनी दिए ।

साखः स्टीलका प्रबन्ध निर्देशक किरण प्रकाश साखःले यो निर्णय जति छिटो सच्‍याए उति राष्ट्रलाई फाइदा हुने बताए । उनले निर्णय सच्‍याउन ढिलाइ भए मुलुकका सबैजसो स्टील उद्योग ६ महिनाभित्र बन्द हुने चेतावनी समेत दिए।

‘हामी दावाका साथ भन्छौ–यो देश यही पोलिसीमा रहन सक्दैन। यो करेक्शन हुन्छ, हुनुपर्छ । कहिले हुन्छ, त्यो थाहा भएन । अब ६ महिनामा पनि करेन्सन नहुने हो भने त्यो बेला हामी सबै मरिसकेका हुनेछौं ।’ उनले भने, ‘यो करेक्सन नभई मुलुकको अर्थमन्त्री स्मुथ्ली जानै सक्दैन । यो चाँडोभन्दा चाँडो करेक्सन हुन जरुरी छ।’

पञ्चकन्या स्टील प्रालिका प्रबन्ध निर्देशक श्रेष्ठले सरकारको सो निर्णयले डेढ महिना भित्रमा ४ वटा स्टील उद्योग बन्द भईसकेको समितिलाई जानकारी गराए । अव २ वटा उद्योग पनि बन्द हुने अवस्था रहेको उल्लेख गर्दै उहाँले पूराना कच्चा पदार्थहरु भएका उद्योगहरु जेनतेन गरेर हाललाई चलिरहेको बताए ।

प्रबन्ध निर्देशक श्रेष्ठले खर्बौं लगानीका स्टील उद्योगहरु बन्द गराउने गरी सरकार निर्णय लिएकाले त्यसलाई सच्याउन सम्बन्धित निकायहरुसँग गुहार माग्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे । उनले भने, ‘२४ वटा उद्योगमध्ये ४ वटा उद्योग बन्द भईसकेको अवस्था छ । अरु २ वटा स्टील उद्योग बन्द हुने अवस्था छ । अव पूराना र मेटिरियल्स भएको उद्योगहरु जेनतेन गरेर चलाउनुपर्ने बाध्यात्मक अवस्था छ ।’

यता, समितिका सदस्यहरुले पनि स्वदेशी उद्योगलाई बन्द गराउने गरी सरकारले निर्णय गर्न नमिल्ने उल्लेख गर्दै सो सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल तत्काल गर्नुपर्ने बताएका छन् ।

समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले लगाएको अन्तशुल्क घटाउने पाउने व्यवस्था रहेको उल्लेख गर्दै तत्सम्बन्धमा तत्काल अर्थ मन्त्रालयसँग छलफल गरेर समितिले आवश्यक निर्देशन दिनुपर्ने बताए ।

समितिका अर्का सदस्य श्यामकुमार श्रेष्ठले पनि सो सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरेर नेपालको स्वदेशी उद्योगलाई अन्याय गर्न समितिले दिन नहुने धारणा राखे ।

समितिका सदस्यहरुले स्वदेशी उद्योगलाई धराशायी बनाउने सरकारका कुनै पनि निर्णय मान्य नहुने चेतावनी समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?