+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : उड्ला त समयमै जहाज ?

विकास रोका मगर विकास रोका मगर
२०७८ कात्तिक १६ गते १९:४७

१६ कात्तिक, पोखरा । सन् २०२० को शुरुदेखि सञ्चालनमा आउने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालन नहुने देखिएको छ ।

एकातिर विमानस्थल निर्माण पूरा भएको छैन भने विमानस्थल नजिकैको डाँडा काट्ने, वर्षाको पानीको निकास र ल्याण्डफिल साइट सार्ने काम पनि हुन सकेको छैन ।

हालसम्म विमानस्थलको ८५ प्रतिशत भौतिक पूवार्धार निर्माण भएको छ । पुसको मध्यदेखि आन्तरिक उडान र आउँदो वैशाखदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नागरिक उड्ड्यन प्राधिकरणको तयारी छ । तर यो मितिमा उडान असम्भवप्राय छ ।

‘सबै समस्याहरु ज्यूँका त्यूँ छन् । प्रक्रियागत रुपमा ढिलाइ हुने भयो । अब के हुन्छ हेरौं,’ पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमले अनलाइनखबरसँग भने । उनी विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलको संयोजकसमेत हुन् ।

विमानस्थलदेखि करिब २ किलोमिटर पर पोखरा महानगरपालिकाको फोहोर फाल्ने ल्यान्डफिल साइट छ । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी उडानका लागि ल्याण्डफिल साइट पनि मुख्य समस्या बनेको छ । ल्यान्डफिल साइटको फोहोरमा आउने चराका कारण दुर्घटना हुनसक्ने जोखिम रहेको उनको भनाइ छ ।

तर पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट स्थानान्तरण गर्न सकेको छैन । महानगरको कार्यपालिका बैठकले पोखरा महानगरपालिका– १६ र २० को बीचमा पर्ने पस्मराङ क्षेत्रलाई नयाँ ल्यान्डफिल साइट तोकेको छ । तर स्थानीय वासिन्दाको विरोधका कारण उक्त ठाउँमा ल्याण्डफिल साइट बन्ने वा नबने टुंगो छैन ।

महानगरपालिकाले ल्याण्डफिल साइट क्षेत्रका वासिन्दासँग वार्ता तथा सहजीकरण गर्न वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । पौडेल पनि ल्यान्डफिल साइट स्थानान्तरण हुनेमा विश्वस्त छैनन् ।

‘अहिलेलाई ठाउँमात्रै चुनिएको हो । त्यहाँ थप अध्ययन हुनै बाँकी छ । स्थानीयको सहमति लिनै बाँकी छ,’ उनले भने, ‘फेरि हामी (पोखरा महानगर) ले भनेर मात्रै हुने होइन । प्रदेश, केन्द्र सबैको सहमति चाहिन्छ ।’

सम्बन्धित पक्ष जिम्मेवार भएनन् : गौतम

पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतम सरोकारवाला पक्ष जिम्मेवार नहुँदा समयमा विमानस्थल सञ्चालन गर्न कठिन रहेको बताउँछन् ।

‘हामीले भनेको समय आइसक्यो । त्यतिबेला ‘कन्डिसन’को कुरा गरेको हो । सबैले आआफ्ना काम समयमै पूरा गरेर अघि बढेको भए हुने थियो,’ अनलाइनखबरसँग गौतम भन्छन्, ‘तर, सबैले आफ्नो काम समयमै पूरा नगरिदिएपछि ढिलाइ हुने नै भयो ।’

गौतमका अनुसार प्राधिकरणले औंल्याएका रिठ्ठेपानी डाँडा कटान, ल्यान्डफिल साइट स्थानान्तरणलगायतका समस्या ज्यूँका त्यूँ छ । ‘टाइमअनुसार नहुने नै भयो । बल्ल डाँडा कटानको पूरक इआईए शुरु भएको छ । ल्यान्डफिल साइट पनि भर्खर खोजियो भन्ने कुरा आएको छ । प्रक्रियागत रुपमा कति लाग्छ भन्न सकिँदैन,’ उनले भने ।

चैतमा सक्छौ, उडान सम्भव छैन : आयोजना

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले सन् २०१७ नोभेम्बरदेखि विमानस्थल बनाइरहेको छ । सन् ०२१ जुनमै निर्माण सकिनुपर्ने भए पनि एक वर्ष म्याद थपिएको थियो । म्याद सकिन अब ९ महिना बाँकी छ । तर, विमानस्थल चैतभित्रै सक्ने गरी काम भइरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

म्याद सकिनुअगावै निर्माण पूरा भए पनि तत्काल उडान सम्भव नहुने मुनकर्मी बताउँछन् । ‘हामीले निर्माण सकेपछि पनि उडान स्ट्रक्चर तयार हुन २-३ महिना लाग्छ । अझै धेरै चरणहरु पार गर्नुपर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो भन्दा अगाडि यहाँबाट अपरेसन (उडान) को कल्पना पनि गरेका छैनौं ।’

मुनकर्मीले रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरण नगर्दासम्म उडान सम्भव नहुने बताए । विमानस्थलका लागि रिठ्ठेपानीको करिब २ हेक्टर जमिन कटान गनुपर्ने हुन्छ ।

‘रिठ्ठेपानी डाँडा कटानका लागि भर्खर पूरक इआईए गर्दैछौं । रुखको लगत, सीमांकन गरेर स्टिमेटको अन्तिम चरणमा छौं । यो प्रक्रिया लामो हुन्छ,’ उनले भने, ‘महानगर र प्रदेश सरकारसँग त्यहाँ (रिठ्ठेपानी डाँडा) को माटो कहाँ व्यवस्थापन गर्ने छलफल चलिरहेको छ ।’

प्रदेश सरकारले बनायो सहजीकरण समिति

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भन्दै गण्डकी प्रदेश सरकारले सहजीकरण समिति बनाएको छ । विमानस्थल सञ्चालनमा हाल देखिएका समस्या हल गर्न, अवरोधबिना उडान सुरु गर्न संघीय र स्थानीय सरकारसँग सहजीकरण गर्न प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको हो ।

मन्त्रिपरिषद बैठकले गठन गरेको ९ सदस्यीय विमानस्थल सञ्चालन सहजीकरण समितिमा गण्डकी सरकारका प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव, पोखरा महानगरपालिकाका प्रमुख वा उपप्रमुखमध्ये एक, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष र परियोजनाका प्रमुख सदस्य छन् । समितिको सदस्य सचिव पर्यटन मन्त्रालयका सचिव रहने छन् ।

कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालनमा ल्याउन सहजीकरण समिति गठन गरिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिए ।

‘एअरपोर्ट सञ्चालन भइसकेपछि एअरलाइन कुरियरको व्यवस्था, समायोजन पनि गर्छ । डाँडा काट्ने, बाढीपहिरो र पानीका बहावले ल्याउने समस्या पनि समाधान पनि गर्छ,’ उनले भने, ‘समितिले सरकार र आयोजनाका बीचमा एउटा ब्रिजको काम गर्छ । प्रदेश सरकारको भूमिका समितिले निभाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?