+
+

मेटमणिको दाबी : आगामी निर्वाचनमा एमालेले प्रत्यक्षमा एक सिट पनि जित्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १३:३९

१७ कार्तिक, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आउने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एकसिट पनि नजित्ने दावी गरेका छन् ।

लुम्बिनी प्रेस क्लबले बुधबार बिहान भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले प्रत्यक्षमा एक सिट नजितेपनि समानुपातिकतर्फ भने एमालेले १०–१२ सिट ल्याउन सक्ने बताए । ‘१६५ निर्वाचन क्षेत्र मध्ये एमालेको कुनै पनि स्थानमा जित्न सक्दैन’–चौधरीले भने–‘समानुपातिक तर्फ १०–१२ सिट आउला ।’

एमालेलाई ओली कम्पनीको संज्ञा दिंदै चौधरीले आउँदो निर्वाचनमा ओलीबाहेक सबै कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्ने दावी समेत गरे । ‘कम्युनिष्टहरुबीच एकता वा मोर्चा हुन्छ’– उनले भने, ‘यस्तो एकतामा केपी ओली हुने छैनन् ।’

कम्युनिष्टहरुबीच एकता गर्ने र सकेसम्म उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि सहकार्य गरेर निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बन्ने गरी अघि बढिरहेको चौधरीको दावी छ ।

उनले अहिलेको सत्ता गठबन्धन निर्वाचनसम्म मात्र नभई निर्वाचनपछि पनि कायम रहने जनाए । एमाले कम्युनिष्ट विचार र सिद्धान्तबाट विचलित भएको भन्दै सोही कारण नेपालको कम्युनिष्ट आन्दोलन अत्यन्तै अफ्ठयारो अवस्थामा पुगेको उनले बताए ।

नेता चौधरीले नेकपा (एकीकृत समाजवादी) निर्माण नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन समाप्त हुने अवस्थामा पुगेको बताए ।

नेता चौधरीले घनश्याम भुसाल लगायत केही नेताहरुले केही समय बाटो बिराएर ओली नेतृत्वको पार्टीमा रहे पनि उनीहरु छिट्टै एकीकृत समाजवादीमा फर्कने दावी गरे ।

‘अहिले उहांहरु रनभुल्ल भएर ओलीको पार्टीमा हुनुहुन्छ’– उनले भने–‘एमालेको महाधिवेशन अगाडि नै घनश्याम दाईहरु समाजवादीमा आउनुहुन्छ ।’

उनले प्रधानान्याधीशको राजीनामाको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि कुरा हुने र दृष्टिकोण बनाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?