+
+

लक्ष्मीपूजालाई बिजुली पर्याप्त, प्राधिकरणका मर्मत टोली तयारी अवस्थामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १३:१०

१८ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका दिन बेलुकी सकेसम्म कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी गरेेको छ । महत्वपूर्ण दिन भएकाले सकेसम्म कतैपनि बत्ती नजाने गरी व्यवस्था गर्न आवश्यक वितरण प्रणलीमा प्राविधिक मर्मतसम्भारसहितको काम कामहरु गरिसेकको प्राधिकरणले बताएको छ ।

लक्ष्मी पूजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने गरिन्छ । कतै प्राविधिक समस्या आएर लाइन जाने सक्ने भएकाले सबै ‘नोलाइट’को मर्मत टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले बताएको छ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिमले मर्मत गरिहाल्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । यस वर्षको तिहारमा करिब देशभर १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको उनको भनाइ छ ।

गत भदौमा प्रणालीमा एकै दिनमा १६२० मेगावाटको पिक लोड आउँदा प्राधिकरणले सहजै व्यवस्थापन गरेको थियो । प्राधिकरणका अनुसार अहिले दिनमा २ सय मेगावाट र रातमा ५ सय मेगावाटसम्म बिजुली माग भन्दा बढी उत्पादन भइरहेको छ ।

अहिले कुलेखानीको विद्युत खेर गइरहेको भन्दै प्रसारणका कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने घिसिङले बताए । घिसिङले आम उपभोक्ताहरुलाई ढुक्कसँग विद्युतीय उपकरणहरु चलाउन पनि आग्रह गरेका छन् ।

‘यो तिहारमा हामीले १५ सय मोगावाट भन्दा बढी लोड आउने अपेक्षा गरेका छैनौं, हामीसँग अहिले करिब २ हजार प्लस मेगावाटभन्दा बढी जलविद्युतको जडित क्षमता छ, १५-१६ सय मेगावाटका आयोजना नियमित अप्रेसनमा छन्,’ उनले भने, ‘कुलेखानी समेत चलाउन सकिने भएकाले बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन । सबै उपभोक्ताले निर्धक्कसँग तिहारमा झिलिमिली गर्दा हुन्छ ।’

विद्युत् भारप्रेषण केन्द्रका प्रमुख तथा प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराई लक्ष्मीपूजाका दिनमा उद्योगहरु बन्द हुने र व्यपारिक ग्राहले पनि नियमितको परिमाण्का खपत नगर्ने भएकाले माग व्यवस्थापनमा कुनै दबाव नरहेको बताउँछन् ।

‘प्राविधिक समस्या परेर कतै लाइन काटिनेबाहेक मागका पक्षबाट कुनै खालको समस्या छैन,’ उनले भने,’लक्ष्मीपूजामा अरु दिनभन्दा कम माग आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?