+
+

चीनमा कम्युनिष्ट नेतामाथि टेनिस खेलाडीले लगाइन् यौन दुर्व्यवहारको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १७:४४

१८ कात्तिक, काठमाडौं । चीनकी पूर्व टेनिस स्टार पेङ सुआईले एक कम्युनिष्ट नेतामाथि यौन दुर्व्यवहारको लगाएकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेतामाथि गम्भीर आरोप लागेपछि अधिकारीहरूले सुआईको यौन दुर्व्यवहारसम्बन्धी पोष्टमाथि प्रतिबन्ध लगाएका छन् । त्यस्तै, चिनियाँ इन्टरनेटमा हंगामा मच्चाइरहेको यो विषय उल्लेख भएका सबै पोस्ट पनि हटाएको छ ।

मंगलबार ३५ वर्षीया सुआईले पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीमाथि जबर्जस्ती यौन सम्पर्क गरेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल वेइबोमा एक पोष्ट गरेकी थिइन् । तर हाल सो पोस्ट सामाजिक सञ्जालबाट हटाइएको सीएनएनले जनाएको छ ।

खुलापत्रको रुपमा लेखिएको सुआईको पोष्टमा आफू र झाङ कम्तीमा १० वर्षसम्म सम्बन्धमा रहेको उल्लेख छ । खुलापत्रमा हाल ७५ वर्षीय झाङलाई आफूले मन दिएको भन्दै उनले लेखेकी छन् – ‘तपाईंले किन मेरो घरमा फेरि आउनुभएको र आफ्नो घर लगेर मलाई यौन सम्पर्कका लागि बाध्य पार्नुभएको थियो ? हो, मसँग कुनै प्रमाण थिएन र प्रमाण सम्भव पनि थिएन ।’

‘मैले आफूलाई कतिसम्म घृणित ठानेकी थिएँ भनेर शब्दमा भन्न सक्दिनँ, न त मैले अझै पनि मान्छे हुँ भनेर कैयौं पटक आफैंलाई सोधेको कुरा भन्न सक्छु’, सुआईको पोष्टमा भनिएको छ, ‘मैले आफूलाई हिँडिरहेको जिउँदो लास ठानेकी थिएँ । हरेक दिन म खासमा को हुँ भनेर सोच्थेँ ।’

सन् २०१२ देखि २०१७ सम्म ७ सदस्यीय पोलिटब्यूरो स्थायी कमिटीमा रहेका झाङले सन् २०१८ मा उप-प्रधानमन्त्री पदबाट राजीनामा दिँदै राजनीतिबाट सन्यास लिएका थिए । ३५ वर्षीया सुआई विम्बल्डन तथा फेन्च ओपन टेनिसकी च्याम्पियन हुन् ।

यौन हिंसा तथा दुर्व्यवहारविरोधी अभियान ‘मिटु’ चीनमा समेत विस्तारै फैलिन थालेको छ । यसअघि चीनका केही वौद्धिक, एनजीओकर्मी र सेलिब्रिटीमाथि सार्वजनिक रुपमै यौन हिंसाको आरोप लागेको थियो ।

तर कम्युनिष्ट पार्टीको उपल्लो तहका वरिष्ट नेतामाथि यौन हिंसा एवं दुर्व्यवहारको आरोप लागेको यो पहिलो पटक हो । त्रासका कारण यौन दुर्व्यवहारबारे खुलेर बोल्ने साहस कमैसँग मात्रै हुने न्युयोर्कस्थित चिनियाँ महिला अधिकारकर्मी एलभी पिङको भनाइ छ ।

‘पेङ सुआईका लागि मुख खोल्ने कुरा कति महत्वपूर्ण छ भनेर हामीले महसुस गर्नुपर्छ’, पिङले भनिन्, ‘कमैसँग मात्रै यस्तो कुरा गर्ने साहस हुन्छ किनभने यसका कारण आफू र आफ्नो परिवार खतरामा पर्छ ।’

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक बस्नुभन्दा २ दिनअगाडि राजनीतिक रुपले संवेदनशील यौन काण्ड बाहिरिएको हो । सुआईको आरोप अनलाइनमा तीव्र फैलिन थालेपछि इन्टरनेटमा ‘मिटू’माथि कडा सेन्सरसिप लगाइएको छ ।

मंगलबार बिहान पोष्ट गरिएको सुआईको पोष्ट ३० मिनेटभित्रै वेइबोबाट हटाइएको थियो । त्यस्तै, सामाजिक सञ्जालमा निकै भाइरल बनेको पोष्टको स्क्रिनसट र प्राइभेट च्याट ग्रुपसहित यौन दुर्व्यवहारको आरोपबारे बहस हुने कुनै पनि पोष्ट हटाइएको छ ।

पाँच लाखभन्दा बढी फलोअर रहेको सुआईको भेरिफाइड अकाउन्ट बुधबारसम्म वेइबोमा थियो तर हाल उनको अकाउन्ट बन्द गरिएको छ । साथै, उनको पोष्टमुनिका सबै कमेन्ट पनि नदेखिने बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?