+
+

खेम सेञ्चुरी भन्छन्- संघर्षका दिनमा ५-६ वर्ष तिहारमा घर गइनँ

सुशील नेपाल सुशील नेपाल
२०७८ कात्तिक १९ गते १०:५५

खेम सेञ्चुरी लोकदोहोरीको क्षेत्रमा पछिल्लो समयका लोकप्रिय कलाकार हुन् । गायक, संगीतकार तथा म्युजिक भिडियोमा अभिनय समेत गर्दै आएका खेमका थुप्रै गीत रुचाइएका छन् । ‘सोचेझैं जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’, ‘रमरम मरौटी’ उनका धेरै रुचाइएका गीतमा पर्छन् ।

लोकदोहोरी क्षेत्रमा रुचाइएका कलाकार खेम तिहार आफ्नो सबैभन्दा मनपर्ने चाड भएको बताउँछन् । तिहारसँग जोडिएका आफ्ना विषय उनले अनलाइनखबरसँग बाँडेका छन् ।

यस वर्ष टीका छैन

तिहार भन्नेबित्तिकै खेम रोमाञ्चित हुँदै भन्छन्, ‘मलाई सबैभन्दा मनपर्ने, सबैभन्दा रमाइलो चाड तिहार लाग्छ ।’

तिहारको अधिकांश पक्ष असाध्यै मनपर्ने उनी बताउँछन् । देउसी-भैलो, ढकमक्क फूल, झिलिमिली बत्ती, भाइटीका, सेलरोटी उनलाई मनपर्ने कुरा हुन् । तर, यसवर्ष भने उनले टीका लगाउने छैनन् । आफन्त बितेका कारण यस वर्ष टीका नभएको खेमले बताए । उसो त उनले गत वर्ष पनि तिहारमा टीका लगाउन पाएनन् ।

कोरोना महामारीका कारण गत वर्षको तिहारमा उनी काठमाडौंमै रहे । ‘यसवर्ष टीका छैन । टीका नभएपनि शुभचिन्तकहरुलाई शुभकामना दिइरहेको छु । घर केही साता अगाडि गएर आएको हुँ । त्यसैले तिहारमा काठमाडौंमै हुनेछु,’ उनले तिहारको योजना सुनाए ।

तिहारलगत्तै भने सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम, दाङ लगायतका स्थानमा जाने खेमले बताए ।

देउसी-भैलोमा भट्याउने र नाच्ने

खेम रुपन्देहीको रुद्रपुरमा जन्मिए, हुर्किए । उनको बाल्यकाल पनि त्यहीं बित्यो । तिहार आउनेबित्तिकै उनी बाल्यकाल सम्झिन्छन् ।

बाल्यकालमा देउसी-भैलो खेलेपछि उनलाई तिहार आएझैं लाग्थ्यो । त्यसैले अहिले पनि तिहार भन्नासाथ देउसी-भैलोकै बढी सम्झना आउने उनी बताउँछन् । ‘बाल्यकालमा हुँदा दिदीबहिनी दाजुभाइको सम्बन्ध त्यति ख्याल नहोला । टीका किन लगाइन्छ भन्ने थाहा नहोला,’ उनी अगाडि भन्छन्, ‘देउसी-भैलो खुबै मनपथ्र्यो । त्यसैले अहिले पनि तिहार भन्नेबित्तिकै बाल्यकालको देउसी-भैलो सम्झनामा आइहाल्छ ।’

बाल्यकालको देउसी-भैलोमा उनका विभिन्न सम्झना जोडिएका छन् । गाउँमा उनीहरुको युवा क्लब थियो, सनस्टार युवा क्लब । सोही क्लबबाट हरेक वर्ष देउसी-भैलो खेल्थे ।  देउसी-भैलोमा भट्याउन, नाच्नमा खेम अगाडि सर्थे । उनले सुनाए, ‘देउसी-भैलोको छुट्टै रौनक हुन्थ्यो । रातभर पनि देउसी खेल्थ्यौं । साथी एवं दाइदिदीहरुले मलाई भट्याउन प्राथमिकतामा राख्थे । नाच्नमा पनि अगाडि सर्थें । शायद, त्यो अनुभव अहिले कलाकारिताका लागि काम लागिरहेको छ ।’

देउसी खेल्न जाँदा हिलोमा चिप्लिएका, नाच्दै गर्दा सुरुवाल फुत्किएका, साथीहरुले सेलरोटी ल्याएर खुवाएका, सुन्तला, बेलौती चोरेर खाएका बाल्यकालका ती क्षण सम्झिँदा आज रोमाञ्चित हुने उनी बताउँछन् । देउसी खेलेर संकलन गरेको रकम क्लबकै मातहतमा सामाजिक काममा खर्च गर्ने गरेको उनी सम्झिन्छन् । कहिलेकाहीं भने पिकनिकमा खर्च गर्ने गरेको उनी बताउँछन् ।

संघर्षका दिनमा थुप्रै वर्ष तिहारमा घर गइएन

सानैदेखि गीतसंगीतमा रुचि राख्ने खेम गायक बन्ने सपना बोकेर २०६६ सालमा काठमाडौं आएका थिए । तर, काठमाडौंले उनलाई सोचेजस्तो स्वागत गरेन । एल्बम निकाले, लगानी डुब्यो । आफूलाई टिकाउनका लागि दोहोरी साँझ, रेष्टुरामा काम गर्न थाले । उनले रचना गरेका, संगीत भरेका, गाएका केही गीतहरु चलेका पनि थिए । तर, आर्थिक रुपमा भने सबल थिएनन् । त्यो समय ५/६ वर्ष उनी दशैं तिहारमा घर गएनन् ।

खेम परिवारको जेठो छोरा हुन् । उनका दुई भाइ र तीन बहिनी छन् । अहिले जेठी बहिनीको विवाह भइसकेको छ ।

बाल्यकालमा हुँदा जिम्मेवारी कम हुने भएकाले स-साना कुरामा पनि खुशी मिल्छ । तर ठूलो भएपछि बिस्तारै जिम्मेवारी आफूमा सर्छ । जेठो छोरो भएकाले परिवारको जिम्मेवारी खेमको काँधमा थियो । उनले आफ्नो जिम्मेवारी बुझिसकेका थिए ।

‘म सांगीतिक क्षेत्रमा संघर्षरत् थिए । म आफ्ना सपनाहरुलाई पछ्याउँदै थिएँ । तर, साेंचेजस्तो सफलता पाइरहेको थिइन,’ खेम सुनाउँछन्, ‘घर जाँदा मेरो छोरो आयो, मेरो दाइ आयो भनेर खुशी हुने दिन आउनुपर्‍यो नि भन्ने लाग्थ्यो । सोही कारण केही वर्ष दशैंमा बुबाआमासँग टीका लगाएन्, तिहारमा बहिनीहरुसँग टीका लगाइन । चाडपर्वमा पनि काठमाडौंमा एक्लै बसें ।’

ती दिनहरुमा बहिनीहरुबाट तिहार मनाउन आउन आग्रह रहेपछि उनले आउँछु भनेर टार्ने गर्थे । ‘तिहारको अघिल्लो दिन आइपुग्छु भन्थें । तर, जाँदिनथें,’ उनले भने, ‘बहिनीहरुलाई त्यसरी धेरै वर्ष आउँछु भनेर ढाँटेको छु ।’

दुई वर्षअगाडिको तिहार

खेम केही वर्षको अन्तरालपछि दुई वर्ष अगाडिको दशैं-तिहार घरमा परिवारका साथ मनाए । बुबाआमा, बहिनीहरुलाई लत्ताकपडा लगिदिए ।

‘बिस्तारै मेरा सिर्जनाहरु वाच हुन थाले । सांगीतिक क्षेत्रबाट केही राम्रो भएसँगै दुई चार पैसा आउन थाल्यो । आमा, बहिनीहरुलाई राम्रो लुगा किनिदिएर लान सकेँ । त्यसपछि बल्ल म चाडपर्वमा घर जान थालेको हुँ’ उनले सुनाए । पैसा, सम्पत्ति ठूलो कुरा नभएपनि ति कुराहरु बाधिँएको, त्यसभित्र खुशीहरु रहेको खेम बताउँछन् ।

दुई वर्ष अगाडि पनि विवाहित जेठी बहिनीसँग भने तिहार मनाउन पाएनन् । उनीसँग तिहार मनाउन नपाएको धेरै वर्ष भैसकेको छ । यद्यपी, धेरै वर्षपछि दुई वर्षअघि दुई बहिनीहरुसँग तिहार मनाउन पाउँदा धेरै रमाईलो भएको खेम बताउँछन् ।

तास खेल्न आएन

खेम आफूलाई तास खेल्न कहिल्यै नआएको र त्यसमा रुचि पनि नभएको बताउँछन् । उनका साथीहरु तिहारमा तास खेल्छन् । साथीहरुले तास खेल्न आग्रह पनि गर्छन् । खेम भन्छन्,‘तर मलाई तास सिक्न, खेल्नतिर मन नै गएन् ।’ तास चिन्ने तर खेलहरु भने थाहा नभएको उनले बताए ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?