+
+

हराउन थाले मौलिक देउसी भैलो

रासस रासस
२०७८ कात्तिक १९ गते १४:२८

१९ कात्तिक, रामपुर (पाल्पा) । तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।

केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ ।

देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन ।

भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।    
हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।।    
हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।    

यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको रामपुरका देवराज अर्याल बताउँछन् ।

‘अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको छ, गीत गाएर देउसी खेल्दाको मज्जा नै धेरै आउँथ्यो, हिजोआज त ठूला–ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, संस्कृति यसरी परिवर्तन हुँदैछ’, उनले भने ।

उज्यालै–उज्यालैको पर्वका रूपमा लिइने दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने तिहार पर्वले ढपक्कै गाउँघर बजारमा ढाकिसकेको छ ।

दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलिराजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ ।

सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो ।

स्थानीयवासी शिवकुमारी वाग्ले पश्चिमी संस्कृतिले समाजमा प्रभाव पार्न थालेपछि मौलिक परम्परागत देउसीभैलो गाउने चलन हराउन थालेको बताउँछन् ।

‘औँसीका दिनबाट गाउँका साथीभाइ जम्मा भएर घरघरमा जाने कसैले देउसी भन्ने कसैले भट्याउँदै नाच्ने गरिन्थ्यो, अहिलेका पुस्तालाई सुनाउँदा आश्चर्य मान्ने अवस्था आइसक्यो’, उनले भने ।

गाउँगाउँमा सूचना प्रविधिको विकास हुँदै जाँदा मौलिक संस्कृति हराउन थालेको हो । परम्परादेखि नै चलिआएका संस्कार संस्कृतिलाई जोगाइराख्न सबै लाग्नुपर्ने रामपुरका कलाकार लक्ष्मी तिवारीको भनाइ छ ।

फाट्टफुट्ट रूपमा अहिलेको देउसीभैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ ।

केहीले देउसीभैलो संस्कृतिलाई रमाइलोका रूपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतलाई स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ ।

रामपुर युवा क्लबले भने यस वर्ष सामाजिक सन्देश प्रवाह गर्दै देउसीभैलो कार्यक्रम सुरु गरेको छ । ‘सफा रामपुर, उज्यालो रामपुर’ बनाउने उद्देश्यले क्लबले देउसीभैलो सुरु गरेको हो । रामपुरको मुख्य बजार बेझाड बजार क्षेत्रलाई सफा र उज्यालो बनाउन र परम्परालाई धान्नका निम्ति देउसीभैलो कार्यक्रम गरेको क्लबका सचिव सुन्दर कँडेलले बताए ।

‘सामाजिक कामको लागि क्लबका सदस्य मिलेर देउसीभैलो आयोजना गरिएको छ, यस कार्यक्रमाट सङ्कलित रकम सामाजिक क्षेत्रमा खर्चिने र पुरानो चलन रीतिरिवाजलाई कायम राख्न युवाहरु मिलेर देउसीभैलोमा निस्केका छौँ’, उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?