News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा गरिबी र रोजगारी अभावले तिहारमा पनि धेरै घर सुनसान छन्, किनकि परिवारका सदस्य भारत गएका छन्।
- चन्द्रा सुनारले चामल किन्ने पैसा नभएको र तिहार सकिएपछि काम खोज्न भारत जाने बताइन्।
- रत्ना औजी र जवा सुनारजस्ता बासिन्दाले परिवारको विछोड, बेपत्ता छोरा र भत्ता नआएकाले चाडपर्वमा पीडा भएको बताए।
२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिकांश घरका ढोकामा ताल्चा झुण्डिएका छन् । आँगन सुनसान छन् ।
घरमै भएकाहरूको मनमा पनि तिहारको उमंग छैन । उनीहरूलाई एउटै चिन्ता छ– बिहान–बेलुका चुलो कसरी बाल्ने ?
चाडपर्वका बेला झन् मन भारी हुने गरेको बस्तीकी चन्द्रा सुनार बताउँछिन् । उनको नाममा एक कट्ठा पनि जमिन छैन । काखमा दुई साना छोराछोरी छन् ।
गाउँघरमा अरूका छोराछोरीले नयाँ लुगा लगाएको देखेपछि उनका छोराछोरी पनि लुगा किनिदिन जिद्दी गर्छन् । तर चामल किन्ने पैसासमेत नभएको उनी बताउँछिन् । ‘काम खोजौं भने गाउँमा ज्याला मजदुरी पाइँदैन । खानलाउनै नपुगेपछि केको तिहार मनाउनु ? बालबच्चा नयाँ कपडा भन्छन्, मसँग अन्न छैन’, चन्द्रा भन्छिन्, ‘तिहार सकिनेबित्तिकै काम खोज्न भारत जान्छु ।’

निगालीमा इँटाले बनेका पक्की घर पनि छन् । तर, ती घरभित्र मान्छे भेटाउन मुस्किल पर्छ । स्थानीय रत्ना औजीका अनुसार एक–दुई कट्ठा जमिनले वर्षभरि खान पुग्दैन । त्यसैले पेट पाल्नकै लागि धेरैजसो घरमा ताल्चा लगाएर परिवारका सदस्य भारत गएका छन् ।
रत्नाका दुई छोरा पनि भारतमै छन् । जेठा छोरा पुष्कर मुम्बईमा काम गर्छन् भने कान्छा अजय काम छुटेपछि दिदीको घरमा बसिरहेका छन् । घरमा सन्तान नभएपछि रत्ना पनि कहिले एउटी छोरी त कहिले अर्की छोरीको घरमा पाहुना जसरी दिन काटिरहेकी छन् ।
चाडबाडमा सबैजना सँगै बसेर रमाउने रहर भए पनि गरिबीले परिवारका सदस्यलाई अलग्याएको उनी बताउँछिन् ।
बस्तीकी ६० वर्षीया जवा सुनारको पीडा झन् दर्दनाक छ । उनका चार छोरामध्ये एक जनाको भारतको पिथौरागढमा काम गर्ने क्रममा मृत्यु भयो । अर्का छोरा सीताराम बेपत्ता भएको ३० वर्ष भइसक्यो, अहिलेसम्म उनको अत्तोपत्तो छैन । घरमा रहेका अरू दुई छोराको आर्थिक अवस्था पनि नाजुक छ ।
केही वर्षअघि दुर्घटनामा परेर खुट्टा भाँचिएपछि जवा राम्रोसँग टेक्न सक्दिनन् । तैपनि सकिनसकी गाउँ डुलेर कसैले दिएको अन्नका भरमा उनको छाक टरिरहेको छ । ‘भत्ताको पैसा तिहारअघि नै आएको भए अलिकति सजिलो हुन्थ्यो । यसपालि त त्यो पनि पाइएन’, उनी भन्छिन् ।
पुष्पा सुनारको पीडा पनि उस्तै छ । जेठा छोरा भारत गएको एक वर्ष भइसक्यो । उनी चाडबाडमा पनि घर फर्किन सकेनन् ।
सक्नेहरूका लागि तिहार खुसी र उमंग लिएर आएको छ । तर निगालीका बासिन्दाका लागि भने यो चाड खाली पेट र एक्लोपनको भारी बनेर आएको छ ।

प्रतिक्रिया 4