+
+
Shares

आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै

तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते ६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहारको चौथो दिन आज काठमाडौंलगायत देशभर गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।
  • शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ र यसले पुण्य प्राप्त हुने विश्वास छ।
  • धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले गाईको अभावमा संकल्प गरेर रकम राख्ने चलन बढेको बताए।

२३ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व रहेको छ ।

धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा संकल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताए ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिआएको छ ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?