+
+

तिहारको दक्षिणा र चौरासी व्यञ्जनको प्रसंग

कृष्णहरि बास्कोटा कृष्णहरि बास्कोटा
२०७८ कात्तिक २० गते १९:००

प्रत्येक वर्षको भाइटीकाको दिन दिदीबहिनीलाई कति दक्षिणा दिने भन्ने विषयमा आम दाजुभाइ अन्यौलमा रहन्छन् । यसैगरी, सबैका दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई भाइटीकापछि कसरी चौरासी व्यन्जन खुवाउने होला भनी तनावमा रहन्छन् । यिनै सेरोफेरोमा यो आलेख तयार गरेको छु

चौरासी व्यन्जन :

प्रत्येक दिदीबहिनीले भाइटीकापछि आफ्ना दाजुभाइको स्वास्थ्य अवस्थाको ख्याल गरी चौरासी व्यञ्जनको भावना मिसाएको उपयुक्त खाना खुवाउनु पर्छ । जसअनुसार प्रेशरका बिरामी दाजुभाइलाई चिल्लोपिरो र नुन कम भएको खाना खुवाउनु पर्छ ।

यदि आफ्ना दाजुभाइलाई युरिकएसिडको समस्या छ भने रातो मासु खुवाउनु हुँदैन । यसैगरी, अपच हुने रोगी दाजुभाइलाई कोचीकोची खुवाउनु हुँदैन । कैयौंका दाजुभाइ अनावश्यकरुपमा मोटाएर डाइटिंगमा रहेका हुन सक्छन्, तिनलाई हल्का खाना खुवाउनु पर्छ ।

विशेषगरी, सादा दालभात, हरियो अर्गानिक तरकारी, सांग, सलाद, फलफूलमा विशेष जोड दिनु पर्छ । बजारका अखाद्य रंग प्रयोग गरिएका मिठाईको उपभोग गर्नु हुँदैन । साथै, बासी, सडेगलेको र खान नमिल्ने तथा खेह्र जाने वस्तुमा खर्च गर्नु हुँदैन ।

हो, यस पर्वमा दिदीबहिनी र दाजुभाइसँगै बसेर सुखदुखका कुरा गरेर खुसी भै प्रेमपूर्वक घरायसी खाना खानुपर्छ । भाइटीकाका लागि दिदीबहिनीले के-कस्तो खाना खुवाउने, के कस्तो भाइमसला, मिठाई, फलफूल र अन्य परिकार र सामग्री दिने भन्ने विषयमा एकमत छैन । तथापि, सफा, सुग्घर, स्वस्थ्यकर, अर्गानिक, नेपाली उत्पादनको खाना खुवाउनु पर्छ ।

दाजुभाइले खान नभ्याउने गरी कुहिने परिमाणमा फलफूल किन्नु हुँदैन । विश्सनीय बाहेकका मिठाई पसलका बासी र गुणस्तरहीन मिठाईमा पनि जोड गर्नु हुँदैन । भाइमसला पनि गुणस्तरीय हुनुपर्छ । तथापि, दिदीबहिनीबाट प्राप्त हुने भाइमसलाका काजु, किसमिस, बदाम, खुर्पानीलगायत राम्ररी घोयर सुकाएर खानु उत्तम हुनेछ ।

आम दिदीबहिनीहरूले यी साह्रा कुरामा फजुल खर्च गर्नुको सट्टा आफ्ना दाजुभाइलाई उपयुक्त टोपी शिरमा पहिर्‍याएर सप्तरंगी टीका लगाइदिए पुग्छ । दिदीबहिनीले कति किलो फलफूल दिने होला ? कतिवटा बटृामा मिठाई आउला ? कति महंगो भाइमसला, कति परिमाणमा पाइएला ? सगुनका रुपमा अण्डा, माछा, दहीलगायत टन्नै पाइएला भन्ने सोच आम दाजुभाइमा हुँदैन । बरु आफ्ना दिदीबहिनीको आत्मीयता र मायां दाजुभाइले खोजेका हुन्छन् भन्ने ख्याल गर्नुपर्छ ।

दक्षिणा नगदको सट्टा सिर्जनशीलरुपमा दिन सकिन्छ । यस्का लागि प्रत्येक दाजुभाइले एकैछिन गम खान जरुरी छ । उदाहरणका लागि दिदीबहिनीलाई बिमाको पोलिसी खरिद गरेर दिन सकिन्छ । यसैगरी, कुनै संस्थाको शेयर खरिद गरी दिन सकिन्छ

तिहारको दक्षिणा 

यसैगरी, दाजुभाइले पनि दिदीबहिनीलाई तिहारमा कति दक्षिणा दिने होला भन्ने अन्योल आइलाग्छ । गतवर्षको तिहारमा मैले प्रकाशित गरेको लेखको भावना अनुसार एकजनाले बहिनीलाई कुर्ता सुरुवालको सट्टा एउटा पेन्टिङ उपहार दिनु भएछ । सो पेन्टिङ उनकी बहिनीको बैठकमा सजिएर बसेको छ । सधैं माइती र दाइले दिएको उपहारको कुरा चल्दा यस पंत्तिकारको नामसमेत उल्लेख हुने गरेको सुनेर निकै उत्साहित भएको छु ।

यसर्थ, पहिलो कुरा, घाटी हेरी हाड निल्नुपर्छ । जसअनुसार, प्रत्येक दाजुभाइले आफ्नो आर्थिक हैसियत र दिदीबहिनीको आबश्यक्तानुसार दक्षिणा दिनु पर्छ । दक्षिणा दिनमै उत्ताउलो हुनु पर्दैन । आम दिदीबहिनी पनि दक्षिणाको लोभी छैनन् भन्ने बुझ्नुपर्छ । बरु, आम दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई टीका लगाइदिने दिनको अधैर्य पर्खाइमा रहन्छन् ।

दोस्रो कुरा, यस्तो दक्षिणा नगदको सट्टा सिर्जनशीलरुपमा दिन सकिन्छ । यस्का लागि प्रत्येक दाजुभाइले एकैछिन गम खान जरुरी छ । उदाहरणका लागि दिदीबहिनीलाई बिमाको पोलिसी खरिद गरेर दिन सकिन्छ । यसैगरी, कुनै संस्थाको शेयर खरिद गरी दिन सकिन्छ । साथै, कुनै बैंकमा नयाँ खाता खोलेर केही रकम राखिदिन सकिन्छ । यस्ता दाजुभाइका उपहारले दिदीबहिनीमा नयाँ बिहानीको उदय गराउन सक्छ ।

तेस्रो कुरा, भाइटीकाको उपहारमा दिदीबहिनीलाई नेपालका पर्यटकीयस्थल रारा जाने वा पाथिभरा जानेलगायतको प्याकेज खरिद गरी हवाई जहाज वा बसको टिकट दिन सकिन्छ । यसरी, आन्तरिक पर्यटनमा जान सकिने दर्जनौं स्थान छन् । उदाहरणका लागि इलामको चियावारी, जनकपुरको रामजानकी मन्दिर, छिन्नमस्ता र गढीमाईको भ्रमणका लागि ट्राभल एजेन्सीमा बुकिंग गरिदिन सकिन्छ ।

जोमसोम, नाम्चेवजार, सिमिकोट, फाप्लु, ताल्चा, जुफाल, लुम्बिीनी वा पोखराको भ्रमणको हवाई टिकट बुिकिङ गरिदिन सकिन्छ । यसैगरी, घरमा सजाउने सामाग्री दिन सकिन्छ । यस्ता, घरमा सजिएर रहेको उपहारको सामग्री सधैं दिदीबहिनीले सम्झना गर्ने हुन्छन् ।

सामान्यतः कुनै पनि दिदीबहिनीले आफ्ना दाजुभाइले मदिरा सेवन नगरुन् भन्ने अपेक्षा गर्छन् । यसर्थ, उनीहरूकै भावनाको कदर गरेर पनि यमपञ्चकका पाँच दिन मदिरा सेवन गर्नु हुँदैन

चौथो कुरा, नेपाली पेन्टिङ, आर्ट उपहारमा दिन सकिन्छ । नेपाली घण्टी, ख्याक, भोजपत्रलगायत अनेकौं सजावटको सामग्री बजारमा उपलब्ध छ । नगद नै दिन परे पनि बैंक ट्रान्सफर गरिदिन सकिन्छ । यसैगरी, टेलिफोनको रिचार्ज कार्ड दिन सकिन्छ । यी सबै पनि नगद सरह नै हुन् ।

पाँचौं कुरा, दिदीबहिनीको घरमा इन्टरनेट जडान गरिएको छैन र सो आवश्यकता महसुश भएको छ भने नेट जडान गरिदिन सकिन्छ । बजारमा उपलब्ध गतिला किताब किनेर दिन सकिन्छ । दिदीबहिनीसँग सल्लाह गरेर इन्डक्सन चूल्हो दिन सकिन्छ ।यसरी, दिदीबहिनीले सम्झिरहने र आवश्यक परेको वस्तु उपहारमा दिनुपर्छ । यर्थाथमा, आवश्यक नै नभएको कपडा दिँदा पाउनेलाई पनि खासै खुसीको विषय हुँदैन भने केही समयपछि लुगा पुरानो भइ फालिन्छ । यी कुरालाई मनन गरेर तिहारको दक्षिण दिनुपर्छ ।

तिहारमा निषेधित कार्य 

आम नेपालीले तिहारमा पाँचवटा कुरा निषेध गर्नुपर्छ । यस्मा पहिलो, मदिरा सेवन निषेध गर्नुपर्छ । सामान्यतः कुनै पनि दिदीबहिनीले आफ्ना दाजुभाइले मदिरा सेवन नगरुन् भन्ने अपेक्षा गर्छन् । यसर्थ, उनीहरूकै भावनाको कदर गरेर पनि यमपञ्चकका पाँच दिन मदिरा सेवन गर्नु हुँदैन । आम दिदीबहिनी आदर्शका धरोहर, सद्चरित्र र सदाचारी दाजुभाइलाई सप्तरंगी टीका लगाउन उत्सुक हुन्छन्, नकी जड्याहा दाजुभाइलाई ।

दोस्रो, तिहारमा तास खेल्नु हुँदैन । नेपालको कानूनले तास खेल्न बन्देज गरेको छ । यस पर्वमा घर सफा गर्ने, सबैजना घरमा बसेर रमाउने र आपसी मायां प्रेमका कुरा गर्ने हो । यस्तो अबस्थामा घरका पुरुषहरू तास खेल्न दौडिएकोमा कुनै पनि परिवार खुसी हुन सक्तैन । यस अवधिमा प्रहरीले पनि विशेष निगरानी बढाएको छ । जस्को कारण, तासको खालबाट पक्राउ परिएमा तिहार कति खल्लो होला ? सबैले सोच्नै पर्छ । आफ्ना दाजुभाइ वाह्रमासे वा जुहाडेमा दर्ता. भएको सुन्न कुनै पनि दिदीबहिनीलाई नपरोस् ।

तेस्रो, तिहारमा कौडा खेल्नु हुँदैन । यो एकप्रकारले खतरनाक खेल हो । धार्मिकरुपमा पनि पाण्डवहरू कौडा हारेरै द्रोपतीको चिरहरण गराउन विवस भएका थिए । यसर्थ, कौडाको खाल जमाउने, चौका र छक्का भनी तिघ्रामा ठटाउने, च्याखे थाप्ने जस्ता कार्य तिहारमा गर्नु गराउनु हुँदैन । आम बालबच्चाको भविष्यलाई पनि ख्याल गरी यी काम नगर्न अपिल गर्दछु ।

चौथो, तिहारमा लंगुरबुर्जा खेलिन्छ । यो काम पनि कानूनले बर्जित गरेको छ । यसर्थ, यस खेलका सामग्री बिक्री गर्नु हुँदैन । यस्ता खेल कसैले पनि खेलाउनु हुँदैन । यस्तो खेलमा कोही पनि सहभागी हुनु हुँदैन ।

पाँचौं, तिहारमा पटका पड्काउने गरिन्छ । यस्तो हर्कत गर्नु हुँदैन । प्रहरीले कडाइ गरेको समाचार आइरहे पनि साँझ परेपछि चारैतिर पट्का पड्किँदा प्रहरी प्रशासनको शिर निहुरिएको छ । यसर्थ, जुन घरबाट पट्का पड्किन्छ, तत् घरका मुलीलाई एकरात भए पनि प्रहरी खोरमा पुर्‍याउनु पर्छ । साथै, निजको वयानका आधारमा पट्काबेच्नेलाई कम्तिमा तीन महीना र पैठारी गर्नेलाई एकवर्ष कैद गर्न प्रहरी प्रशासन पनि लागि पर्नुपर्छ । यस कामका आखा चिम्लिने प्रहरी प्रशासनका जिम्मेवार पदाधिकारीहरूलाई पनि कारबाहीको कठघरामा ल्याउनु पर्छ ।

तिहारको महिमा 

तिहार आम नेपालीको सांस्कृतिक धरोहरको पर्व हो । यसलाई भाइटीकाको रुपमा पनि बुझिन्छ । धार्मिक आस्था अनुसार यमराज आफ्नी बहिनी यमुना कहाँ टीका लगाउन जाने हुँदा यमपञ्चका पाँच दिन कसैले पनि मृत्युवरण गर्नु नपर्ने विश्वास गरिन्छ । भाइटीकामा सप्तरंगी टीका र मखमली फूलको माला लगाइदिने गरिन्छ ।

तिहारमा काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइ तिहार गरी पाँच दिन विशेष धुमधामका साथ मनाइन्छ । कागलाई सन्देवाहक चराको रुपमा पुजिन्छ भने कुकुरलाई सुरक्षा दिने जनावरकारुपमा पुजिन्छ । यसैगरी तिहारमा लक्ष्मीको धुमधामसँग पूजा आरधना गरिन्छ । लक्ष्मीको आगमनका लागि घर, सडकलगायतलाई रातको समयमा पनि उज्यालो पारिन्छ । यसर्थ, तिहारलाई प्रकाशको वा उज्यालोको पर्वकारुपमा पनि बुझिन्छ ।

गोबर्धन पूजामा गाईगोरुको पूजा गरिन्छ । यस दिनलाई हल तिहार पनि भनिन्छ । भाइटीकाको दिन दियो, कलश, गणेश एवं अष्टचिरञ्जीवीको पूजा गरी भाइटीका लगाइन्छ । भाइटीकामा तोरीको तेल, दुबो, ओखर, बिमिरोलगायतको विशेष महत्व हुने गर्दछ । यस पर्वमा दिदी बहिनीले दाजुभाइको प्रगति र दीर्घजीवनको कामना गरी टीका लगाइदिएर मिठो मिठो भोजन गराइन्छ भने दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा उपहार दिएर विशेष मानसम्मान प्रकट गर्दछन् । यसरी, आम नेपाली र विश्वभरिका हिन्दूहरुको यो पवित्र र महान पर्व हो । सबैमा हार्दिक शुभकामना ।

लेखकको बारेमा
कृष्णहरि बास्कोटा

कृष्णहरि बास्कोटा सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुन् । त्यसअघि नेपाल सरकारका सचिव रहेका उनले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी निभाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?