+
+

रसुवाको क्रियाशील सदस्यता विवाद समाधान, कात्तिक २७ मा वडा अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १६:५२

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले रसुवा जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले रसुवाको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरेको हो ।

रसुवामा नयाँ–पुराना गरी ३,८८० जनाको सदस्यता सूची सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ । अब रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक हुन बाँकी छ ।

रसुवामा तत्कालिन नयाँ शक्ति पार्टीबाट प्रवेश गरेकाहरुलाई दिइएको क्रियाशील सदस्यतालाई लिएर विवाद थियो । नयाँ शक्तिबाट आएकालाई करिव १२ सय क्रियाशील सदस्यता वितरण गरिएको थियो ।

कांग्रेसमा १६ सय क्रियाशील सदस्य रहेकामा तत्कालिन नयाँ शक्तिबाट त्यति नै संख्यामा क्रियाशील सदस्यता थपिएका छन् । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्तालाई कमजोर बनाउने गरी अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै रसुवामा विवाद भएको थियो ।

रसुवाको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको थियो । लामो छलफलपछि रसुवामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो ।

निर्वाचन समितिका अनुसार रसुवामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । रसुवासहित वडा अधिवेशन नभएका जिल्लामा २७ गते अधिवेशन हुने गरी निर्वाचन समितिले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कांग्रेसको १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । निर्वाचन समितिले अधिवेशन नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण रौतहटको अधिवेशन भने अन्यौलमा छ ।

निर्वाचन समितिले अधिवेशन नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । क्रियाशील सदस्यता धाँधलीपूर्ण भएको भन्दै १०९ दिनदेखि रौतहटको प्रतिनिधि सभा क्षेत्र –१ का नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनसनमा छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?