+
+

एसियन सेन्ट्रल जोन भलिबलको प्रशिक्षण कात्तिक २८ देखि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते २२:५७

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्याम्पियनसिपको लागि नेपालले कात्तिक अन्तिमदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) का कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङले कात्तिक २८ देखि क्याम्प राख्न लागेको जानकारी दिए । ‘पर्सि २५ गते कार्यसमितिको मिटिङ छ । त्यसबाट प्रशिक्षणको समय अनुमोदन गरिनेछ,’ गुरुङले भने ।

सेन्ट्रल जोनमा नेपालको महिला र पुरुष दुवै टिमले प्रतिस्पर्धा गर्दैछ ।

कोभिड-१९ को महामारीले गर्दा गत वर्ष सेन्ट्रल जोन आयोजना हुन सकेन । त्यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा नेपाल पाँचौ भएको थियो भने बंगलादेशमा पहिलो पटक आयोजना भएको महिला सेन्ट्रल जोनको उपाधि नेपालले जितेको थियो ।

सेन्ट्रल जोनका लागि महिलातर्फ फिलिपिन्समा एसियन च्याम्पियन्ससिपका लागि क्लोज क्याम्पमा रहेका १८ खेलाडीलाई प्रशिक्षणमा राख्ने गुरुङले जानकारी दिए । पुरुषतर्फ भने असोजमा भएको छैटौं राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खुल्ला रुपमा खेलाडी छनोट गर्ने उनले बताए । उनले भने, ‘एसियन च्याम्पियनसिपका लागि क्याम्पमा रहेका १८ खेलाडीलाई निरन्तरता दिनेछौँ । पुरुषतर्फ भने एनभिए क्लब च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खुल्ला छनोट गर्नेछौँ ।’

महिला एसियन च्याम्पियनसिपका लागि प्रशिक्षणमा रहेका खेलाडीहरुमा कप्तान अरुणा शाही, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी र सलिना श्रेष्ठ छन् ।

विदेशी प्रशिक्षक आउने

सेन्ट्रल जोनमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आउने भएका छन् । संघका कार्यवाहक अध्यक्ष गुरुङले पनि विदेशी प्रशिक्षक आउने पुष्टि गरे । तर को आउने निश्चित नभएको उनले बताए ।

यसअघि पनि एफआईभीबीकै सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु नेपाल आएर विभिन्न प्रतियोगितामा नेपाललाई प्रशिक्षण गराइसकेका छन् ।

२०७४ सालमा नेदरल्याण्ड्सका म्यान भान विजल आएका थिए । उनको प्रशिक्षणमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । यस्तै इन्डोनेसियामा भएको एसियन गेम्समा पुरुष टोलीको प्रशिक्षणका लागि लेस्ले डे जोङ आएका थिए । साथै जोङ १३औं सागमा पनि पुरुष टोलीको प्रशिक्षकका रुपमा आएका थिए ।

त्यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा नेदरल्याण्ड्सका हान अबिङले नेपालको प्रशिक्षण सम्हालेका थिए । यस पटक पनि हान अबिङ नै आउने सम्भावना छ, तर संघले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

‘हामीलाई एफआईभिबीले नै प्रशिक्षकको लागि स्पोन्सर गरिदिन्छ । तलब र आउने जाने खर्च उनीहरुले बेहोर्छन् । हामीले यता खाने बस्ने खर्च बेहोर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?