+
+

अरु मुद्दाभन्दा बन्दी प्रत्यक्षीकरणलाई पछाडि राखेर पेशी तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १०:५५

२५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर पेशी तोकेका छन् ।

सिद्धान्ततः बन्दीप्रत्यक्षीकरणको निवेदन उच्च प्राथमिकतामा पर्छ । पेशी तोक्दा बन्दीप्रत्यक्षीकरणको निवेदनपछि मात्रै अरु मुद्दाको पालो तोक्ने चलन छ ।

न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको इजलासमा सवारी ज्यानको मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको निवेदनको पेशी तोकिएको छ । ‘बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न तयार भएका न्यायाधीशले पछि अरु मुद्दाहरु हेर्न नभ्याइने भनेर निस्कने गर्थे’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘उहाँले अरु मुद्दा अगाडि राखेर बन्दी प्रत्यक्षीकरणको निवेदन विचमा तोक्नुभएको छ । न्यायाधीशहरु इजलासमा बसेपछि क्रमैसँग मुद्दा हेर्दै जानुपर्छ । बिचको छानेर हेर्न मिल्दैन । यही अप्ठेरो पार्न अदालतमा चलिआएको परम्परा मिचिएको देखिन्छ ।’

बिहीबार प्रधानन्यायाधीश जबराले ९ वटा इजलास तोकेकोमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास तोकेका छन् । एउटा तीन सदस्यीय पूर्ण इजलास र पाँचवटा संयुक्त इजलास तोकेका छन् । १७७ वटा मुद्दामा ६ वटा मात्रै बन्दी प्रत्यक्षीकरणका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने बन्दीप्रत्यक्षीकरणको निवेदन प्राथमिकतामा नपरेको भन्ने विषय यथार्थ नभएको दावी गरे ।

‘बन्दीप्रत्यक्षीकरणका सबै निवेदन सधै प्राथमिकतामा पर्छन । त्यसमा कुनै विवाद नै छैन’ उनले भने, ‘आज त्यो पेशीमा बन्दीप्रत्यक्षीकरणको निवेदन फिर्ताका लागि परेको अर्को निवेदन हो । त्यस्तो निवेदनहरु दर्ता मितीका आधारमा प्राथमिकता निर्धारण हुन्छ । त्यसैले त्यो निवेदन हेर्दा बन्दीप्रत्यक्षीकरणको भएपनि यथार्थतमा मुद्दा फिर्ताको निवेदन परेकाले पछाडी परेको हो । अन्यथा केही होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?