+
+

यस वर्षको लिगमा नयाँ प्रयोग, बसाउला फुटबल हेर्ने बानी ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ कात्तिक २७ गते २०:३०

२७ कात्तिक, काठमाडौं । नेपालमा शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग फुटबल शुरु भएको सात दशक पुग्न लाग्दा यसमा धेरैथरि प्रयोग गरियो ।

आयोजक अखिल नेपाल फुटबल संघले यस वर्ष मंसिर ३ देखि हुन लागेको लिगमा अर्को प्रयोग गर्न लागेको छ । एन्फाले साँझमा फ्लड लाइटको उज्यालोमा खेलाउने, विकेन्ड (सप्ताहान्त) मा खेलाउने, एक भन्दा धेरै रंगशालामा खेलाउने अनि टिकटको शुल्क घटाउनेजस्ता निर्णय गरेको छ ।

एन्फाले यस पटक लिगलाई काठमाडौँबाहिर पनि लैजाने प्रयास गरिरहेको छ । तर काठमाडौंबाहिर खेल हुने वा नहुने टुंगिएको छैन । यसअघि २०७६ को लिग एन्फाले दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खेलाएको थियो । यस पटक उपत्यकामा ललितपुरकै च्यासल मैदानमा पनि एन्फाले लिग खेलाउने लगभग पक्का भएको छ ।

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले पोखराको फुटबल मैदानलाई घरेलु मैदान तोकेको छ । यसो हुँदा एन्फाले पोखरा रंगशालामा पनि लिगका केही खेल खेलाउने प्रयास गरेको छ ।

तर बिहीबार आयोजित ए डिभिजन लिगको तयारीसम्बन्धी पत्रकार सम्मेलनमा एन्फा महासचिव इन्द्रमान तुलाधर र लिग कमिटी निर्देशक सन्जीव मिश्रले कुन कुन मैदानमा खेल हुन्छ भन्ने प्रष्ट बताउन सकेनन् ।

मिश्रले पोखरामा लिगका खेलहरु खेलाउन सकिने तर धेरै तयारी गर्न बाँकी रहेको बताए । ‘पोखरामा खेल खेलाउने विषयमा अझै छलफलमै छौँ’ उनले भने । महासचिव इन्द्रमान तुलाधरले पोखराको खेलमैदानबारे अध्ययन गर्न एन्फाको टिम पोखरा जाने बताए ।

फुटबल संस्कृति जगाउने आश

एन्फाले फुटबल हेर्न धेरै दर्कलाई रंगशालामा उपस्थित गराउन टिकटको मूल्य घटाएको छ । यस पटक दशरथ रंगशालासहित लिगका खेल हुने सबै मैदानमा साधारण प्याराफिटमा एक सय र भीआईपी प्याराफिटमा पाँच सय रुपैयाँ टिकट दर तोकिएको छ ।

यस पटक लिगमा गरिएको अर्को प्रयोग हो सप्ताहान्तमा मात्र खेल खेलाइने र त्यो पनि साँझको समयमा । साप्ताहिक विदाको समयमा साँझमा खेल खेलाउँदा दर्शक बढ्ने एन्फाको अनुमान छ ।

लिग डिरेक्टर सन्जीव मिश्रका अनुसार अब शुक्रबार, शनिबार, आइतबार र सोमबार मात्र खेल हुनेछ । ‘शुक्रबार एक र शनिबार दुई खेल हुनेछन् । दोस्रो खेल साढे ४ बजे सुरु हुनेछ’ मिश्रले भने ।

हप्ताको तीन दिन दुई खेल र एक दिन एउटा मात्र खेल हुनेछ । एक सातामा एउटा क्लबले एउटा मात्र खेल खेल्नेछ । लिगको सुरुको दुई चरणको खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा मात्र हुनेछ । लिग डिरेक्टर सन्जीव मिश्रले च्यासल मैदानमा केही काम गर्न बाँकी रहेकाले दोस्रो राउण्डपछिका खेल मात्र खेलाउन सकिने बताए ।

यस संस्करणको लिगको उद्घाटन खेल मंसिर ३ गते शुक्रबार फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उक्त खेल बेलुका ५ बजे शुरु हुनेछ ।

मंसिर ३ गते शुरु हुने लिग फागुन २२ गतेसम्म चल्नेछ । ‘माघ २ गतेसम्म ९ राउण्डका खेल सकिनेछ । त्यसपछि माघ १० देखि १८ गतेसम्म फिफा डे ब्रेक हुनेछ । जसमा नेपालले मैत्रीपूर्ण खेल खेल्ने सम्भावना पनि रहनेछ’ मिश्रले भने ।

उनका अनुसार त्यसपछि पनि माघमा खेल हुने सम्भावना कम छ । अन्तिम चार राउण्डमा भने दिनमा दुई खेल एउटै समयमा पनि खेलाउन सकिने बताए ।

बजेट साढे ६ करोड

ए डिभिजन लिगको कूल बजेट साढे ६ करोड रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । त्यसमा मुख्य प्रायोजक रहेको कतार एअरवेजले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

बागमती प्रदेश सरकारले पनि लिगमा हरेक खेलको विजेताले पाउने पुरस्कार रकम प्रायोजन गरेको छ । यस बाहेक टिकट बिक्रीबाट उठ्ने रकम र फिफाबाट पनि लिगका लागि रकम प्राप्त हुनेछ ।

यस पटक एन्फाले पुरस्कार राशीमा वृद्धि गर्नुका साथै शीर्ष तीन स्थानमा रहने क्लबलाई मात्र नगद प्रदान गर्ने जनाएको छ । लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछ ।

‘विगतका लिगमा आठौं स्थानसम्मका क्लबले नगद पुरस्कार पाउँथे, यस पटक त्यसमा परिवर्तन गरेर शीर्ष तीनलाई मात्र नगद प्रदान गर्नेछौँ’ लिग डिरेक्टर मिश्रले बताए । यसैगरी हरेक खेलको विजेताले ५० हजार रुपैयाँ पाउनेछ भने खेल बराबर भए दुवै टिमले समान २५ हजार रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत पुरस्कार

व्यक्तिगत पुरस्कारमा पनि यस पटक केही परिमार्जन गरिएको छ । यसअघि उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेण्डर, गोलकिपर र प्रशिक्षकलाई पुरस्कार प्रदान गरिन्थ्यो ।

यस वर्ष भने मस्ट भ्यालुएबल प्लेअर (सर्वोत्कृष्ट खेलाडी), हाइएस्ट स्कोरर (सर्वाधिक गोलकर्ता), गोल्डेन ग्लोभ्स (सर्वोत्कृष्ट गोलकिपर) र इमर्जिङ प्लेअर (उदीयमान खेलाडी) को अवार्ड प्रदान गरिनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बलसहित ३ लाख, सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट र २ लाख, उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स र २ लाख तथा उदीयमान खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने मिश्रले बताए ।

‘मोर्डन फुटबलमा एउटै खेलाडीले पनि फरवार्ड र मिडफिल्डमा खेल्न सक्ने भए । जसले गर्दा पोजिसन वाइज छुट्याउन गाह्रो हुने भएकोले अन्तर्राष्ट्रिय मान्यता अनुसार नै विधामा परिवर्तन गरिएको हो’ मिश्रले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?