+
+

‘आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग गरियो’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १२:४७

२८ कात्तिक, काठमाडौं । न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आन्दोलन बिथोल्न ‘भाडाका भिजिलान्ते’ प्रयोग गरिएको बताएका छन् । आन्दोलन बिथोल्ने उद्देश्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नै आफ्ना समर्थकहरूलाई प्रदर्शनमा उतारेको उनीहरूको भनाइ छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतभित्र प्रदर्शन गरिरहेको बेला जबराका समर्थकहरूले बाहिर सडकमा भेला भएर विरोध जनाएका थिए ।

राष्ट्रिय झण्डासहित मोटरसाइकलमा आएको समूहले ‘न्याय रोक्न पाइँदैन’ भन्दै नारा लगाएको थियो । त्यसपछि सर्वोच्च परिसरभित्र रहेका कानुन व्यवसायीहरूले झन् चर्को आवाजमा प्रधान्यायाधीशको राजीनामा माग्दै नारा लगाएका थिए । उनीहरूले बिचौलियाहरू होस् गर भन्दै नारा पनि लगाएका थिए । दुई समूह आपसमा बाझाबाझ गर्न थालेपछि प्रहरी टोलीले रोकेको थियो ।

आइतबारको धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरा प्रधानन्यायाधीशका रूपमा रहेसम्म बारको आन्दोलन र धर्ना जारी रहने बताए । जबराका समर्थकहरूलाई ‘तिमीहरूको केही लाग्दैन’ भन्दै उनले घर जान आग्रह गरेका थिए ।

नेपाल बारका महासचिव लीलामणि पौड्यालले जबराका समर्थकहरूलाई ‘भाडाका भिजिलान्ते’ भन्दै ‘थानकोट कटाइदिने’ चेतावनी दिए । महासचिव पौड्यालले भने, ‘भाडाका भिजिलान्तेहरू, घुसका पैसा खानेहरू खबरदार ! तिमीहरूलाई माइतीघरबाट मात्र होइन थानकोटबाट पनि हटाउन सकिन्छ, ख्याल गर ।’

नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै दैनिक दुई हजार रुपैयाँ दिएर भाडाका मानिस परिचालित गरिएको दाबी गरे ।

यसैगरी नेपाल मानव अधिकार आयोगकी पूर्वसदस्य एवम् अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीश जबराले हुल्याहाहरू पठाएर भड्काउन खोजेको बताइन् । ‘शान्तिपूर्ण आन्दोलनलाई जसरी प्रधानन्यायाधीशले विभिन्न माध्यमबाट बदनाम गर्ने गतिविधि गर्दै हुनुहुन्छ नेपाल बार कदापी विचलित हुनेछैन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?