+
+

सकियो चतुर्मास, विवाह-व्रतबन्धको सिजन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ७:००
फाइल तस्वीर

२९ कात्तिक, काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सम्पन्न भएको छ । भगवान् विष्णु क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमासभर विवाह, व्रतबन्ध जस्ता कुनैपनि मांगलिक कार्य गरिँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीपछि मात्र मंगल लगन तथा मुहूर्त हेरी यस्ता शुभकार्य गरिन्छ ।

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । यो एकादशीको महत्वको बारेमा भविष्य पुराणमा उल्लेख छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेषनारायणमा विशेष मेला लाग्छ ।

महाभारतमा कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिन व्रत बसेका थिए भन्ने उल्लेख छ । त्यसैलै अरू दिनमा व्रत बस्न नसक्नेहरूले समेत ठूलो एकादशीको दिनमा भने व्रत बस्नुपर्छ भन्ने मान्यता छ ।

तुलसीको विवाह

हरिबोधनी एकादशीको दिन घरअघिको मठ सिँगारेर विशेष पूजा गरी विष्णुको अर्को रूप पिपलसँग विवाह गरिदिने परम्परा पनि छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै यसको विसर्जन गरिन्छ । हरिबोधनी एकादशीको दिन प्रसादको रूपमा विशेषगरी सखरखण्ड, पिँडालुजस्ता कन्दमूल र फलफूल प्रसादको रूपमा खाने गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानिएको छ ।

२६ एकादशीको महत्व

सामान्यतया पञ्चाङ्गले एक महिनामा दुईवटा एकादशीको व्यवस्था गरेको छ । एकादशीमा उपवास बस्नेहरु हरेक महिनामा दुई दिन नून र बिटुलो अन्न नखाएर व्रत बस्ने गर्छन् । तर यही रितले हरेक वर्ष २४ वटा एकादशी र अधिकमास परेको बेलामा २६ वटासम्म एकादशी पर्ने गर्छ । तर यी २६ वटा एकादशीको महत्व के कस्तो हुन्छ त ?

पुराणका अनुसार एकादशी व्रत गर्ने व्यक्ति जीवनमा कहिले पनि संकटमा पर्दैन वा धन र समृद्धिको लागि एकादशी व्रत उपयोगी छ भन्ने धार्मिक मान्यता छ ।

हरेक महिना मनाइने भिन्दाभिन्दै एकादशीको अलगअलग लाभ देख्न सकिन्छ । व्यक्तिको स्वास्थ्य, योनी, राक्षस, प्रेतहरू आदिबाट मुक्ति, विभिन्न पापहरूबाट छुटकारा पाउनको लागि एकादशी व्रत लाभदायक रहेको धार्मिक मान्यता छ ।

चैतदेखि फागुनसम्म मनाइने विभिन्न एकादशीको महत्वलाई तल उल्लेख गरिएको छ ।

-कामदा र पापमोचन एकादशी चैत महिनामा पर्छ । कामदाबाट विभिन्न राक्षस आदिको योनीबाट छुट्कारा पाउनको लागि यो एकादशीमा व्रत बस्ने गरिन्छ । त्यस्तै, चैत महिनामा नै बसिने पापमोचन एकादशीमा छिटो पापबाट मुक्त हुनको लागि व्रत बस्ने गरिन्छ ।

-वैशाखमा वरुथिनी र मोहिनी एकादशीको व्रत बस्ने गरिन्छ । वरुथिनी राम्रो भाग्यदातृ हुन् भने उनले सबै पापबाट मान्छेलाई मुक्त गराउन पनि मद्दत गर्छिन् । मोहिनी एकादशीले मान्छेको विवाहबाट खुशी, समृद्धि र शान्ति प्रदान गर्दछ भन्ने धार्मिक मान्यता छ ।

-अपारा र निर्जला एकादशी जेठ महिनामा मनाउने गरिन्छ । अपरा एकादशीको उपवासले मानिसलाई असीम आनन्द दिन्छ र उसलाई सबै पापबाट मुक्ति दिन्छ भन्ने मान्यता छ । निर्जला भनेको पानीविना उपवास बस्ने एकादशी हो । यो एकादशी व्रतले सबै किसिको इच्छा पूर्ति हुन्छ भन्ने विश्वास लिइन्छ ।

-योगिनी र देवशायनी एकादशी असार महिनामा पर्छ । योगिनी एकादशीले सबै पापहरू हटाउँदै पारिवारिक आनन्द प्राप्त गर्न मद्दत गर्ने विश्वास छ ।

-कामिका र पुत्रदा एकादशी साउन महिनामा पर्छ । कामिका एकादशीको उपवासले जीवलाई सबै पापबाट मुक्त गरेर कुयोनी प्राप्त गर्न दिँदैन भन्ने धार्मिक मान्यता छ भने पुत्रदा एकादशीमा सन्तान खुशीको लागि व्रत बस्ने गरिन्छ ।

-भदौ महिनामा अजा र परिवर्तिनी एकादशी पर्छ । अजा एकादशीमा सन्तानको संकट समाधानको लागि व्रत बसिन्छ भने परिवर्तिनी एकादशीमा सबै दुःख नाश गर्न सकिन्छ भन्ने मान्यता छ ।

-इन्दिरा र पापांकुषा एकादशी आश्विन महिनामा पर्छ । इन्दिरा एकादशीमा पितृऋणबाट मुक्त हुन र पूर्खाको सत्गतिको लागि व्रत बस्ने गरिन्छ । पापांकुषा एकादशीमा पापबाट मुक्ति पाउनकै लागि व्रत बसिन्छ ।

-रमा र प्रबोधिनी एकादशी कात्तिक महिनामा पर्ने गर्छ । रमा एकादशीमा आनन्द र ऐश्वर्यको लागि व्रत बस्ने गरिन्छ भने प्रबोधिनी वा हरिबोधनी एकादशी उपवासले भाग्य चम्काउन मद्दत मिल्ने धार्मिक मान्यता छ । यस दिन तुलसी पूजा पनि गरिन्छ ।

-मंसिरमा उत्पन्ना र मोक्षदा एकादशी मनाउने गरिन्छ । उत्पन्ना एकादशीमा व्रत बस्दा हजारौं वाजपेयी र अश्वमेध यज्ञ गरेको नतिजा मिल्छ । यसले देवता र पूर्खाहरूलाई सन्तुष्ट तुल्याउँछ । मोक्षदा एकादशी नामैले एक मुक्तिको नाम हो ।

-सफला र पुत्रदा एकादशी पुस महिनामा आउँछ । सफला एकादशीमा सफलता प्राप्तिको लागि व्रत बस्ने गरिन्छ भने सन्तान प्राप्तिको लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ ।

-षट्तिला र जया एकादशी माघ महिनामा मनाउने गरिन्छ । षट्तिला एकादशीको उपवास दुर्भाग्य, गरिबी र धेरै प्रकारका दुःखबाट मुक्ति पाउन गर्ने गरिन्छ भने जया एकादशीको उपवास विभिन्न किसिमको पापबाट मुक्ति पाउनको लागि गरिन्छ ।

-फागुन महिनामा विजया र अमलाकी एकादशीको व्रत बस्ने गरिन्छ । विजया एकादशीको व्रतले भयंकर समस्याबाट छुटकारा पाउन सकिन्छ भने शत्रु नाश गर्न पनि मद्दत गर्छ भन्ने मान्यता छ । अमलाकी एकादशीमा भने सबै प्रकारका रोगबाट मुक्ति पाउनको लागि व्रत बस्ने गरिन्छ ।

यसबाहेक अधिकमासमा थप दुई एकादशीहरु पर्ने गर्छन् । पद्मिनी (कमला) र परमा एकादशी अधिकमासका एकादशीहरु हुन् । पद्मिनी एकादशीको उपवास सन्तानको कीर्ति र मुक्तिको लागि मद्दत गर्छ भन्ने विश्वास छ भने परमा एकादशीले धन र सम्पन्नता प्रदान गर्छ र पापहरूलाई नष्ट गर्न पनि राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?