+
+

मुख्यमन्त्रीको राजीनामा मागेको थिएँ, त्यसैले बर्खास्तीमा परेँ : यादव

श्रवण देव श्रवण देव
२०७८ कात्तिक ३० गते १७:३२

३० कात्तिक, जनकपुरधाम । मंगलबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट बर्खास्तीमा परेका रामनरेश राय यादवले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण आफूलाई हटाइएको बताएका छन् ।

बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि आफूले मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको यादवले बताए ।

‘मुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोप लागेपछि राजिनामा दिएर मार्ग प्रशस्त गर्न भनेको थिएँ । नयाँ अनुहारलाई मुख्यमन्त्री बनाएर जनताको बीचमा जानुपर्ने कुरा गरेको थिएँ’ उनले भने, ‘जसको छविमा दाग लागेको छ त्यस्तो छविका व्यक्तिलाई लिएर कसरी निर्वाचनमा जाने ? भनेर कुरा राखेका थियौं ।’

यही विषयलाई लिएर आफूलाई बर्खास्त गरिएको यादवको भनाइ छ । ‘हुन त उहाँसँग पछिल्लो पटक भेट भएको छैन । तर, त्यही आक्रोशमा निकालेको हुन सक्छ’ उनले अनलाइनखबरसँग भने ।

यादव तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सरकारमा सहभागी भएका थिए । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो ।

जसपा बनेपछि पूर्व राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो पक्षसँग विवाद भएपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारमा रहेका पूर्वराजपा समूहका मन्त्री बर्खास्त गरेका थिए । त्यतिबेला उपेन्द्र यादवलाई समर्थन गरेका कारण रामनरेश राय यादवको पद भने जोगिएको थियो ।

तर अहिले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन भन्दै मुख्यमन्त्री राउतले यादवलाई बर्खास्त गरिदिए ।

पार्टी बनाउन र बचाउन आफ्नो अहं भूमिका रहेको भन्दै यादवले आफू जहिले पनि पार्टीको हितमा कुरा गर्ने गरेको बताए । ‘म कहिल्यै पनि पार्टीको अहित हुने काम गर्दिनँ । र, कुनै अनुहारले गर्छ भने त्यो अनुहारलाई परिवर्तन गर्नुपर्छ’ उनले भने ।

सरकारमा कसलाई पठाउने, कसलाई मुख्यमन्त्री या मन्त्री बनाउने त्यो निर्णय पार्टीले गर्ने भएपनि मुख्यमन्त्रीले त्यो कुरा नबुझेको यादवले बताए ।

अब संसदीय दलको बैठक, पार्टीको कार्यकारिणी समिति, केन्द्रीय समितिको बैठकमा मुख्यमन्त्रीको बर्खास्तीको विषय उठाउने उनले बताए । ‘दाग लागेको अनुहारलाई राखेर चुनावमा जान नसकिने कुरा सबै बैठक र नेतृत्व समक्ष राख्छौं’ उनले भने, ‘पार्टीले माग पूरा गर्नुपर्छ । माग सुनुवाइ हुन्छ । किनभने पार्टी कसैको निजी सम्पत्ति होइन ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?