+
+

तातोपानी नाकाबाट हुने आयात फेरि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १३:५०
फाइल तस्वीर

१ मंसिर, काठमाडौं । तातोपानी नाका हुँदै नेपाल हुने आयात पुनः घटेको छ । दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आयात हुन थालेकोमा अहिले १० कन्टेनरमा झरेको भन्सार कार्यालय तातोपानीले जनाएको छ ।

अहिले नाकाबाट रोल कपडा, स्याउ, ओखर, रेडिमेट मालसामान भित्रिरहेको भन्सार प्रमुख नारद गौतमले बताए । ‘केही समय दैनिक १७ कन्टेनरसम्म मालवस्तु आयात हुन थालेको तर अहिले पुनः १०/११ मा झरेको छ,’ गौतमले भने ।

जाडो मौसम शुरु भएसँगै चिनियाँहरुले नाकामा कोभिड प्रोटोकलमा थप कडाइ गरेको गौतमले बताए । चिनियाँ पक्षले कुनै औपचारिक जानकारी नदिएको र आफू खुसी कन्टेनर कति पठाउने भन्ने निर्णय गरिरहेको तातोपानी भन्सार प्रशासनले जनाएको छ ।

केही समय अघि अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले नाकाको स्थलगत निरीक्षण गरेपछि व्यापार सहजीकरणमा थप प्रगतिको आशा व्यावसायीहरुले गरेका थिए ।

उत्तरतर्फको व्यापारको अर्को ठूलो नाका रसुवागढीको व्यापार भने पूर्ववत अवस्थामै रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चीनतर्फबाट दैनिक ९ टेलर सामान आइरहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए । नेपालतर्फ सामान आयातका लागि ३५ जना नेपाली श्रमिक चीनतर्फ रहेको उनले जानकारी दिए ।

भन्सार यार्ड फराकिलो बनाएर आयात वृद्धि गराउन कुटनीतिक छलफल भइरहेको चौधरीको भनाइ छ । रसुवागढी भएर अहिले जाडोको लुगा र जुत्ताहरु एवं जलविद्युत कम्पनीका ठूला मेसिनहरु आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?