१ मंसिर, काठमाडौं । बेलायतकी एक महिलाले कोभिड-१९ बाट ज्यान गुमाएका आफ्ना पतिलाई अस्पतालले गरेको व्यवहारबाट प्रभावित भएर आफू पनि नर्स बन्न लागेको बताएकी छन् । कार्डिफमा बस्दै आएकी तीन सन्तानकी आमा राचेलले ओहेने एडजेइले अस्पतालमा आफ्ना पतिको उपचारका क्रममा देखाइएको व्यवहार सराहनीय रहेको बताइन् ।
गत फेब्रुअरीमा कोरोना संक्रमण भएपछि राचेलका ४६ वर्षीय पति इरिकलाई युनिभर्सिटी हस्पिटल अफ वेल्सको आईसीयूमा भर्ना गरिएको थियो । दुई महिनासम्म उपचार गर्दा पनि उनलाई बचाउन सकिएन ।
पतिको उपचारदेखि मृत्युसम्म अस्पतालका कर्मचारीले राचेलप्रति माया, करुणा र राम्रो व्यवहार देखाएको राचेलले बताइन् । ‘मलाई सम्झाउने र चाहिएको जानकारी दिने वा सोधेको कुरा भन्ने हरेक जनाको प्रशंसा मात्रै गरेकी छु,’ राचेलले भनिन्, ‘उनीहरू निकै अद्भूत थिए ।’
आफ्ना पतिलाई अन्तिम बिदाइ गर्दा एक कन्सल्टेन्ट डाक्टरले आफ्नो हात समाउँदै सम्झाएको राचेलले बीबीसीलाई बताइन् ।
त्यसबाट प्रभावित भएर आफूले नयाँ क्यारियरका लागि फेरि गणित र अंग्रेजी विषयमा जीसीएसई (जनरल सर्टिफिकेट अफ सेकेन्डरी एजुकेशन) पढ्न थालेको उनले बताइन् । सेप्टेम्बरदेखि पढ्न शुरु गरेकी उनले आईसीयूमा काम गर्ने चाहना राखेकी छन् ।
सन् २००७ मा राचेल र इरिकको विवाह भएको थियो । विवाह हुनुअघि सन् २००३ मा एक बारमा दुवै जनाको भेट भएको र पहिलो भेटमै उनीहरू प्रेम सम्बन्धमा बाँधिएका थिए ।
राचेलले जीसीएसईमा गणित र अग्रेजी उत्तीर्ण नगरिकनै पढाइ छोडेकी थिइन् । लजालु स्वभावका कारण पढाइ छोडेको तर इरिकले आत्मविश्वास बढाउन सघाएको उनले बताइन् । ‘मैले हरेक कुरा गर्न खोज्दा उनले नै गर्न सक्छौं भन्थे, उनी निकै सकरात्मक थिए,’ उनले भनिन् ।
इरिककै कारण लजालु केटीबाट आफ्नो कुरा निर्धक्कसँग राख्न सक्ने मान्छे बनेको पनि राचेलले बताइन् । उनले इरिकको मृत्यु हुँदा हात समाएका अस्पतालका कन्सल्टेन्ट डा. निक स्टालार्डसँग पनि पहिलो पटक कुराकानी गरेकी छन् ।
नर्सिङ पढ्ने निर्णय गरेकी राचेललाई आफूहरूको स्वागत गर्ने भन्दै स्टालार्डले भने, ‘तिमीले नर्सिङमा आउने राम्रो निर्णय गरेकी छौं । यो राम्रो कुरा हो ।’
प्रतिक्रिया 4