+
+

खुले पशुपति क्षेत्रका टिकट काउन्टर, दैनिक एक सय पर्यटकको आगमन

कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

रासस रासस
२०७८ मंसिर १ गते १४:४४

१ मंसिर, काठमाडौं। कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् ।

नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि तीन स्थानमा काउन्टरको व्यवस्था गरिएको छ । तिलगङ्गा, वत्सलेश्वरी र गु्ह्येश्वरीमा काउन्टर राखी विदेशी पर्यटकलाई टिकट काटेर प्रवेश गराइन्छ ।

पशुपति क्षेत्रमा हाल तीन वटै काउन्टरबाट गरी दैनिक १०० पर्यटक प्रवेश गर्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । कोरोना महामारी सुरु हुनुअघि दैनिक ३०० पर्यटक टिकट काटेर पशुपति क्षेत्र घुम्ने गरेका थिए । पशुपति क्षेत्र प्रवेश गर्दा भारत बाहेकका विदेशी नागरिकसँग रु एक हजार शुल्क लिइन्छ ।

कोरोनापछि पशुपतिनाथ मूलमन्दिर पुरानै स्वरुपमा खुला गरिसकिएको कोषले जनाएको छ । पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्न चाहने भक्तजनका लागि बिहानदेखि नै मन्दिर खुला गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए ।

पशुपति क्षेत्रमा हुने गरेका सबै धार्मिक, सांस्कृतिक गतिविधि कोरोनाअघिकै स्वरुपमा भइरहेको उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?