+
+

विद्युतको घटेको महसुल लागू, बढी खपत गर्दा फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १८:५८

१ मंसिर, काठमाडौं । विद्युतको घटेको नयाँ महसुल दर लागू भएको छ । विद्युत् प्राधिकरणको प्रस्तावमा अध्ययनपछि विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै सार्वजनिक गरेको नयाँ दर आजबाट लागू भएको हो ।

नयाँ महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिरे हुनेछ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २० लाख भन्दा बढी ग्राहकले लाभ लिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्नेछ ।

अहिलेसम्म सिङ्गल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी नौ वटा स्ल्याब राखेर महसुल लिँदै आएको थियो ।अब भने यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ । यसले इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने प्राधिकरणको दावी छ ।

२० युनिटसम्म खपत गर्दा रु ३० मात्रै, मिटरको क्षमता निःशुल्क बढाइदिने व्यवस्था लागू

अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ । अब महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ । इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाइएको घिसिङले बताए ।

यी भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ । यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकले कम महसुल तिर्दा हुने अवस्था अवस्था बन्ने आयोगको दावी छ ।

व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक-फरक महसुल तिर्नुपर्ने छ । यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो ।

त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ । सबैभन्दा बढी लाभ यसपटक सिँचाइका ग्राहकले पाएका छन् । उनीहरुको महसुल ८० प्रतिशतसम्म घटाइएको छ ।

२३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २.२५ रुपैयाँ महसुल तिनुपर्ने छ । यसअघि यो तहमा प्रति युनिट ४.३० रुपैयाँ महसुल थियो । सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४.८० रुपैयाँ थियो ।

११ केभीका सिँचाइ ग्राहकले प्रतियुनिट २.६० रुपैयाँ महसुल तिरे पुग्नेछ । यसअघि यो स्ल्याबमा प्रतियुनिट ४.९० रुपैयाँ थियो । सिँचाइमा दिइएको सुविधाका लागि प्राधिकरणले वर्षमा ५६ करोड योगदान गर्नुपर्ने छ ।

मिटरको क्षमता बढाउँदा शुल्क नलाग्ने

विद्युत् प्राधिकरणले विद्युत् लाइन (मिटर)को क्षमता बढाउँदा अबदेखि शुल्क नलिने भएको छ । प्राधिकरणले अब सिंगल र थ्री-फेज मिटरको क्षमता बढाउँदा शुल्क नलिने भएको हो ।

विद्युत प्राधिकरणले शुल्क नलिने गरी गरेको प्रस्तावलाई विद्युत् नियमन आयोगले स्वीकृत गरिसेककाले अब यो व्यवस्था लागू भएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

उनका अनुसार सिंगल फेज मिटरको क्षमता बढाउँदा २०० रुपैयाँ शुल्क लाग्थ्यो । अब भने त्यसलाई निःशुल्क गरिएको छ । त्यसैगरी थ्री फेज मिटरको क्षमता बढाउँदा यसअअघि ५०० रुपैयाँ लाग्थ्यो भने अब कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले मिटरको क्षमता घटाउँदा लाग्ने शुल्क भने बढाएको छ, यसअघि सिंगल फेज मिटरको क्षमता बढाउन सय रुपैयाँ लाग्ने गरेकोमा अब ३ सय रुपैयाँ पुर्‍याइएको छ । थ्री फेज मिटरको क्षमता घटाउँदा ३०० लाग्ने गरेकोमा अब ५०० रुपैयाँ लाग्ने भएको छ ।

‘हामीले ग्राहकले लाइनको क्षमता बढाएर बढी विद्युत उपयोग गर्न चाहेमा त्यसलाई प्रोत्साहित गर्न यस्तो व्यवस्था गरेका हौं,’ उपकार्यकारी निर्देशक सिलवालले भने, ‘एम्पियर अनुसारको मिटरको क्षमता बढाउन ग्राहकले अनुरोध गरेमा हामीले प्राविधिक पठाएर निःशुल्क मिटरको एमसीबी परिवर्तन गर्छौं ।’ स्मार्ट मिटरको हकमा भने प्राधिकरणले कन्ट्रोल रुमबाटै क्षमता बढाइदिनसक्छ ।

‘खपत बढाउनका लागि नै हामीले क्षमता बढाउँदा निःशुल्क सेवा दिने निर्णय गरेका हौं,’ सिलवालले भने, ‘यसले विद्युतीय उपकरणहरु प्रयोग बढेर खपत बढाउन सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’

पछिल्ला समयमा एसी, हिटर, इन्डक्सन, ओभन, फ्रिज जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको छ । कम क्षमताका लाइनमा यस्ता उपकरणले लोड लिन नसक्ने भएपछि क्षमता बढाउने ग्राहक पनि बढेका छन् ।

‘ग्राहकले लाइनको क्षमता बढाउँदा त्यसलाई सहयोग गर्न पनि आवश्यक देखिएकाले शुल्क नलिने व्यवस्था गरेका हौं,’ सिलवाल भन्छन्, ‘यसले देशभित्र उत्पादित बिजुली देशभित्रै अधिकतम् खपत गराउने योजनामा पनि सहयोग पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?