+
+

नहर मासेर सडक, मर्कामा किसान

सुरेश बिडारी सुरेश बिडारी
२०७८ मंसिर २ गते १६:३०

२ मंसिर, वीरगञ्ज । वीरगञ्ज-१५ लक्ष्मणवाका ५९ वर्षीय जयराम साह धान काट्नमा व्यस्त छन् । यस वर्ष धान भित्र्याउँदै गर्दा उनलाई अर्को वर्ष खेतमा पानी कसरी लगाउने भन्ने चिन्ता छ ।

किनकि उनको खेतसँग जोडिएको नहर मासेर सडक बन्दैछ । नहर खनेर माटो थुपारिएको छ । नहरको डिलमा लगाइएका बोटविरुवा सबै काटिएका छन् । ‘यही नहरबाट पानी पटाएर खेती गरिरहेका छौं,’ उनले भने, ‘नहर राखेरै बाटो बनाइदिए राम्रो हुन्थ्यो । तर हामी गरिब किसानले भनेको कसले सुन्छ र ?’ काम गरेर थाकेपछि शीतलमा ओत लाग्न हुन्छ भनेर रोपिएका सिसौका बोटहरु काटिंदा पनि उनलाई ननिको लागेको छ ।

स्थानीय किसुनदेव यादव र प्रभावती देवीले पनि नहर मासेर सडक बनाउँदा किसानलाई मार पर्ने बताए ।

कतिपय जग्गाधनी खुशी

सडक बन्न लागेकोमा कतिपय जग्गाधनी भने खुशी छन् । बाटो बनेपछि जग्गाको मूल्य बढ्ने उनीहरुको विश्वास छ । खेतीयोग्य जग्गा प्लटिङ गरेर समेत बेच्न सकिने भएकाले सडक छेउमा जग्गा हुनेहरु नहर नभए पनि फरक नपर्ने तर्क गरिरहेका छन् ।

वीरगञ्ज-१४ पिपराका गेना प्रसादका चार भाइको जग्गा लक्ष्मणवामा छ १२ विगाहा ४ कठ्ठा जमिन भएका गेना प्रसाद ढिलो चाँडो नहर मासिने बताउँछन् । ‘जताततै घर बनिरहेको छ, छेउछाउमा घर बनेपछि बाँकी जमिनमा खेती गर्न समस्या हुन्छ । त्यसमाथि छोरा नातिले खेती गर्दैनन्, जन नपाउने समस्या छ ।’ उनले भने, ‘नहर नहुँदा अहिलेलाई समस्या हुन्छ, तर पछि बाटो नै बढी काम लाग्छ ।’

तर कतिपय भने सडकले जग्गाको भाउ बढे पनि अन्न उब्जनी नहुने भएकाले नहर मास्न नहुने तर्क गरिरहेका छन् ।

बस्ती विकाससँगै मासिदै नहर

वीरगञ्ज-कलैया सडकखण्ड अन्तर्गत परवानीपुर गाउँपालिका-५ नौतन बहुअरीमा रामजानकी धर्मशाला छ । धर्मशालाको अगाडिबाट दक्षिणतर्फको नहरबाट विगतमा भिश्वासम्म पानी जाने गरेको थियो । तर पछिल्ला वर्षमा त्यस क्षेत्रमा नयाँ बस्तीको विकास र पक्की सडक विस्तार हुन थालेपछि नहर मासिँदैछ । नहर मासेर सडक बनाइएको छ ।

०७५ मंसिर २० गते वीरगञ्ज- १५ का निलम्बित वडा अध्यक्ष गजेन्द्र पटेलको अध्यक्षतामा स्थानीयको भेला भएको थियो । भेलाले वीरगञ्ज-कलैया सडकखण्डदेखि दक्षिण लक्ष्मणवा गाउँ पस्ने सडक निकै साँघुरो भई आवागमनमा समस्या भएको निष्कर्ष निकाल्यो । स्थानीयले त्यस क्षेत्रमा बस्ती विस्तार भइरहेको बताउँदै दुवैतर्फ नाला बनाएर सडक बनाइदिन आग्रह गरे ।

वडा अध्यक्ष मार्फत आएको आग्रहकै आधारमा नगर प्रमुख विजयकुमार सरावगीले सघन शहरी तथा भवन आयोजनालाई ०७५ मंसिर २५ गते पत्राचार गरेको देखिन्छ । सँगसँगै महानगरले नापी कार्यालयलाई जमिन छुट्याइदिन आग्रह पनि गरेको छ ।

आयोजना कार्यालयले ०७५ वैशाख ३१ गते रमण/श्याम र युनाइटेड विल्डर्ससँग महानगरपालिका भित्रका विभिन्न १३ वटा सडकखण्ड निर्माण र स्तरोन्नतीका लागि सम्झौता गरिसकेको थियो । ०७७ बैशाख ३० गतेसम्म सक्ने गरी ठेक्का सम्झौता भएको थियो । काम नसकिएपछि दुई पटक म्याद थपिसकिएको छ ।

करिब २६ किलोमिटर सडकखण्डमा हाल विवादित १३ सय मिटर सडकखण्ड पनि परेको थियो । मूल्य अभिवृद्धि कर बाहेक ७४ करोड ८७ लाख ६५ हजार १ सय १९ रुपैयाँमा ठेक्का लिएको कम्पनीले २७ करोड ३७ लाख ४४ हजार ८ सय २४ -मूल्य अभिवृद्धि कर र मुल्य समायोजन समेत) बुझिसकेको छ ।

निर्माण कम्पनीका साइट इन्जिनियर प्रविण ठाकुरका अनुसार लक्ष्मणवामा १३ सय मिटर र ३ किलोमिटर सडक बनाउने जिम्मा थियो । १ किलोमिटरमा -एशियाली विकास बैंकले अण्डर ग्राउण्ड नाला सहित सडक बनायो, बाँकी दुई किलोमिटरमा कम्पनीले नै झाडी फाँडेर सडक बनायो । त्यतिखेर गण्डक नहरको मूल शाखा मासेर सडक निर्माण गरिएको थियो । गण्डक नहरको ब्लक ७ को मेन सेकेन्डरी क्यानल-एमएससी) नौतन चोक (रामजानकी धर्मशाला) देखि दक्षिण तर्फको नहर क्रमशः मासिँदै छ ।

१३ सय मिटर खण्डमा स्थानीयले दुवैतर्फ नाला बनाउन माग गरेपछि काम अघि बढ्न सकेन । ‘त्यतिखेर पनि नहरको सरसफाइ गरिसकेका थियौं तर स्थानीयको भेलाले दुवैतर्फ नाला बनाउन आग्रह गर्यो,’ इन्जिनियर ठाकुरलेे भने, ‘बस्ती नभएको क्षेत्र भएकाले योजनामा नाला थिएन, त्यसैले काम गर्न सकेनौं ।’ अहिले पनि सडक निर्माणको काम शुरु नगरी नहर मात्रै सफा गरिएको उनको भनाइ छ ।

नहरको छेउमा ३ मिटरको ग्रेभल सडक छ । योजना अन्तर्गत ९ मिटरको सडक बन्दैछ, जसमा ७ मिटर कालोपत्रे हुनेछ ।

सिँचाइ कार्यालयको आपत्ति

पछिल्लो पटक किसानको खेतमा पानी जाने नहर मासेर सडक बनाउन खोजेपछि सिंचाइ कार्यालयले आपत्ती जनाएको छ । कार्यालयले सिंचाइ विभाग, वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र सघन सहरी तथा भवन निर्माण आयोजनालाई समेत पत्राचार गरेर भत्काइएको नहर एवं संरचना अविलम्ब मर्मत गरिदिन आग्रह गरेको छ ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय प्रमुख प्रसुन मिश्रले पठाएको पत्रमा गहुँ बालीका लागि नहर सञ्चालन गर्नुपर्ने भएकाले अविलम्ब नहर एवं संरचनालाई मर्मत गराइदिन आग्रह गरिएको छ । तिहारअघिसम्म नहरको पानी लक्ष्मणवा क्षेत्रको ३ सय विघा जमिनमा सिंचाइका लागि प्रयोग गरिएको दावी सिंचाइ कार्यालयको छ ।

समन्वय नै नगरी नहरको संरचना भत्काएर सडक बनाउन खोजिएको कार्यालयका प्रमुख मिश्रले जानकारी दिए । ‘धानबालीमा पानी दिएकै थियौं, गहुँबालीका लागि पानी दिनुपर्छ, छठपछि कुलो सुख्खा हुन्छ, सफा गर्नुपर्छ भन्ने सोचेका थियौं,’ उनले भने, ‘दीपावली र छठको विदामा घर गएर आउँदा त मूल शाखा नहर भत्काइसकिएको रहेछ । सघन सहरीले समन्वय नगरी काम अघि बढाउनु गलत छ ।’ कार्यालयले वि.सं. २०३२ सालमा साढे ४ किलोमिटर लम्बाइ र १३ मिटर चौडाइको जग्गा अधिग्रहण गरेर नहर बनाएको उनले बताए ।

नारायणी सिंचाइ कार्यालयका इन्जिनियर सुबोध कुशवाहले नहर पुरेर बाटो बनाउनु किसानका पेटमा लात हान्नु सरह भएको बताए । ‘महानगरपालिका भू-माफियाको चंगुलमा फसेको छ, बस्ती नै नभएको ठाउँमा सडक लगिरहेको छ,’ उनले भने, ‘नहर मासेर सडक बनाउँदा जमिनको भाउ त बढ्ला । तर के सडकले खान दिन्छ ?’

वीरगञ्ज महानगरपालिकाले ०७८ भदौ १० गते नहरको वास्तविक चौडाइ पहिचान गरेर १० मिटरको बाटो पहिचान गरी बाँकी नहरलाई छोड्नु भनी सघन सहरी अयाोजना कार्यालयलाई पत्राचार गरेको छ । आयोजनाले महानगरभित्रको सडक उसकै मापदण्ड अनुसार बनाउने गरेको छ । सडक बनाएर महानगरलाई नै हस्तान्तरण गरिन्छ । सडकको रेखदेख, मर्मत सम्भारको काम महानगरले नै गर्नुपर्ने हुन्छ ।

महानगरले सघन शहरी आयोजना पर्सालाई पठाएको पत्रको बोधार्थ सिंचाइ व्यवस्थापन कार्यालयलाई पनि दिइएको थियो । त्यसपछि सघन सहरीले औपचारिक रुपमा समन्वय नगरेको सिंचाइ कार्यालयको भनाइ छ ।

सिंचाइ डिभिजन कार्यालयका प्रमुख मिश्र सिंचाइको जग्गामा कुनैपनि काम गर्न अन्य निकाय वा स्थानीय तहले समन्वय गर्नुपर्ने बताउँछन् । ‘सिंचाइको जमिनमा जुनसुकै कार्य गर्न सहमति लिनुपर्छ, सहमति नलिइ कुनैपनि काम गर्न पाइन्न,’ उनले भने, ‘अन्न उत्पादन गर्ने किसानको खेतमा सिंचाइ गर्ने नहर पुर्नु सरासर गलत हो ।

सघन सहरीका इन्जिनियर विवेक नेपालले सडक निर्माणको काम अहिले शुरु नभइसकेको बताए । निर्माण कम्पनीले नहर सफा मात्रै गरेको बताउँदै उनले सडक नबनाउने हो भने काम रोक्न सकिने बताए । ‘यसअघि नहर पुरेर सडक बनाउँदा चुप सबेको सिंचाइले अहिले आएर हुँदैन काम नगर्नुस् भन्छ भने काम रोकिदिन्छौं ।’

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी भने सिंचाइ कार्यालयले अनावश्यक बखेडा मात्रै झिकेको जिकीर गरे । नहरको जग्गा अतिक्रमण हुँदा चुप बस्ने तर सडक बनाउँदा आपत्ति जनाउनुको तुक नभएको मेयर सरावगीको तर्क छ । ‘सिंचाइले नहर पुरियो भनेको क्षेत्रमा सहरीकरण भइरहेको छ, जग्गा प्लटिङ गरेर बिक्री हुन्छ । खेतीयोग्य जमिन घटदैछ,’ उनले भने, ‘प्रयोगमा नभएको नहर पुरेर सडक बनाउँदा आपत्ती जनाउनुपर्ने कुनै कारण छैन ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?