+
+

कानून व्यवसायीको आन्दोलनमा मानव अधिकार आयोगको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १३:०८

२ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनको आन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । आन्दोलनमा अनुगमन गर्न भन्दै आयोगले आफ्ना कर्मचारीहरूलाई सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन परिसरमा पठाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले आन्दोलनमा निगरानी गर्न कर्मचारीहरू पठाएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘आजको आन्दोलनमा बार एशोसिएसनको अध्यक्ष नै घाइते भएको कुरा थाहा पाएपछि अनुगमन गर्न कर्मचारीहरू पठाएका हौं ।’ बारको आन्दोलनमा चार-पाँच दिनदेखि नै अनुगमन गरिरहेको र हरेक दिनको रिपोर्ट संकलन गरिरहेको प्रवक्ता पोखरेलले बताए ।

बिहीबारको रिपोर्ट आइनसकेको उनले बताए । अघिल्ला दिनहरूको रिपोर्टबारे पनि प्रवक्ता पोखरेलले बताउन चाहेनन् । ‘हामीले चार-पाँच दिनदेखि रिपोर्ट संकलन गरिरहेका छौं । कुनै दिन सार्वजनिक गरौंला’ उनले भने ।

यसअघि मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका संवैधानिक आयोगका पदाधिकारीहरूले प्रधानन्यायाधीशको बचाउ गर्दै विज्ञप्ति निकालेका थिए ।
बिहीबार बारको आन्दोलन अनुगमन गर्न आयोगका दुई जना कर्मचारीहरू गएका थिए । उनीहरूले आयोगका उपल्लो तहबाट निर्देशन भएपछि आफूहरू यहाँ आएको बताए । तर थप कुराकानी गर्न भने उनीहरू तयार भएनन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी कानून व्यवसायीहरूको बिहीबारको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका कानून व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?