
२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच बिहीबार छलफल भएको छ । पौडेलसँग सिंह असन्तुष्ट रहेको खबर बाहिर आइरहेका बेला बिहीबार पौडेल सिंहको निवास चाक्सीबारी पुगेका हुन् ।
पौडेल र सिंह मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । महाधिवेशनमा सर्वसम्मत उम्मेदवार तय गर्ने घोषणा गरेका पौडेल समूहभित्र सभापतिका आकांक्षीले एक्लाएक्लै तयारी अगाडि बढाएपछि नेताहरुबीच संवाद टुट्दै गएको थियो ।
बिहीबारको छलफलमा सभापति पदमा दुबैले आआफ्नो अडान राखेका छन् । नेता पौडेलले संस्थापनइतर समूहलाई एक ढिक्का राख्न आफू सभापतिको उम्मेदवार बन्नुपर्नेमा जोड दिएका उनका एक सहयोगीले बताए ।
तर नेता सिंहले आफूले सभापतिको तयारी अगाडि बढाइसकेकाले पौडेललाई अभिभावक भएर बस्न आग्रह गरे । ‘रामचन्द्र दाइ आउनुभएको थियो, मैले तपाईं अब अभिभावक भएर बस्नुस् भनेँ,’ बिहीबार काठमाडौंमा सम्पादकहरुसँगको अन्तर्क्रियामा नेता सिंहले पौडेलसँगको भेटबारे भने, ‘मैले तयारी अगाडि बढाइसकेँ । म पछि हट्दिन भनेको छु ।’
पौडेल समूहबाट सभापतिका लागि पौडेलसहित महामन्त्री, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् ।
पौडेल समूहले वडा अधिवेशनको अघिल्लो दिन १७ असोजमा पत्रकार सम्मेलन गरी महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने घोषणा गरेको थियो । तर महाधिवेशन नजिकिएसँगै पौडेल समूहका सभापतिका आकांक्षीहरुले एक्लाएक्लै तयारी अगाडि बढाएका हुन् ।
प्रतिक्रिया 4