+
+

काठमाडौंमा समातिएका ११ अफगानीलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय

गौरव पोखरेल गौरव पोखरेल
२०७८ मंसिर ३ गते १९:१७
अवैध रुपमा नेपाल प्रवेश गरेका अफगानी नागरिक

३ मंसिर, काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको अनलाइनखबरसँग पुष्टि गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । तीमध्ये ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाएको थियो । तर मेक्सिकोको अध्यागमनले उनीहरुलाई नेपाल फिर्ता पठाइदिएको थियो ।

स्रोतका अनुसार जुन देशबाट भिसा जारी भएको हो, त्यहीँबाट आउनु पर्नेभन्दै मेक्सिकोले उनीहरुलाई फिर्ता पठाएको थियो । त्यसपछि विभागले कुनै निर्णय गर्न सकेको थिएन ।

अध्यागमन ऐनमा सरकारको स्वीकृतिमा अवैधरुपमा नेपाल प्रवेश गर्नेलाई गरिने कारबाहीबारे निर्णय गर्ने उल्लेख थियो । कानूनतः यसरी समातिने व्यक्तिलाई जुन देशबाट आएका हुन्, त्यहीँ फर्काउनुपर्ने हो ।

तर भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई गृहले त्यहाँ फर्काएन । स्रोतका अनुसार भारतीय अधिकारीहरुले ११ जनालाई फिर्ता नगर्न दबाब दिएका थिए ।

अब यूएनएचसीआरले उनीहरुलाई ‘अर्वन रिफ्यूजी’ को प्रमाण पत्र दिनेछ, त्यो कागज तयार भएपछि प्रहरीले उनीहरुलाई फेरि पक्राउ गर्न पाउने छैन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?