+
+
पुस्तक समीक्षा :

पुरुषलाई पनि जलाउने सती

सइन्द्र राई सइन्द्र राई
२०७८ मंसिर ४ गते १९:००

पतिको शवसँगै पत्नी जलाउने क्रूर सती प्रथा अन्त्य भएको १०० वर्ष नाघेको छ । १९७७ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालबाट अन्त्य गरेको सती प्रथाको विकासक्रम, उत्कर्ष र प्रतिबन्धसम्म बुझाउने प्रयत्न हो, ‘सतीः इतिहास र मीमांसा’ ।

सुजित मैनालीकृत ‘सती’मा पुरुष सत्ता स्थापना गर्न कुन कालखण्डमा कस्तो धार्मिक ग्रन्थ र किम्बदन्ती रचना गरियो, जसले सती जस्तो सांस्कृतिक हत्या स्वीकार्न स्त्री तयार भइन् भन्ने अनुसन्धान छ । सती प्रथा थालनीको खोजीमा मैनाली वैदिक साहित्यहरूसम्म पुगेका छन् । हिन्दू साहित्य महाभारत, रामायणदेखि मनुस्मृतिसम्मको अध्ययन पछि मैनाली उत्तरवैदिक कालखण्डमा सती प्रथा सांस्कृतिक रूपमा झाँगिएको निष्कर्षमा पुग्छन् ।

वैदिककालको धार्मिक साहित्यहरूमा पतीसँगै पत्नीले प्राण त्यागेको एकाध प्रसंग भए पनि त्यसैलाई आधार मानेर सती प्रथाले सांस्कृतिक रूप लिएको थियो भन्ने मान्न लेखक तयार छैनन् । तर पाण्डुसँगै प्राण त्यागेकी महाभारतकी माद्री जस्ता केही प्रसंगको त्यान्द्रो समातेर उत्तरवैदिक कालमा सती प्रथालाई मलजल गरिएको हुनसक्ने संभावनातिर भने ‘सती’ खुला छ ।

आठ अध्यायमा टुंगिने पुस्तकमा सती प्रथा बुझ्न धार्मिक साहित्यको निरन्तरता र व्याख्या भन्दा पनि पुरुषप्रधान समाज विकासक्रमको अर्थ–सामाजिक पक्षलाई अध्ययन गर्न सुझाइएको छ । बधु शिक्षा र मनुस्मृतिको आलोकमा नारीलाई ‘देवी’ को संज्ञा दिने अनि ‘घाँटीमा मखमली दाम्लो’ बाँधिदिने मनोविज्ञानकै उच्चतम अत्याचार सती प्रथा भएको पनि प्रष्ट्याउन खोजिएको छ ।

पतिको शवसँगै पत्नी जल्ने कुप्रथा विस्मृतिमा गइसकेको छ । तर अझै पनि अनेक नाममा नारीहरू जलिरहनुलाई भने सती प्रथाकै शृङ्खला मानिएको छ

वैज्ञानिक कारणको खोजी

नेपालमा लिच्छवि राजा मानदेवदेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरसम्मका घटनाहरू केलाइएको ‘सती’मा यो कु–प्रथा प्रचलनमा आउनुको कारण वैज्ञानिक आधारबाट खोजिएको छ । जुन पुस्तकको सबल पक्ष हो । नारीलाई सम्पत्तिबाट बञ्चित गर्न र पुरुष वंशको निरन्तरतालाई शक्तिशाली बनाउन सती प्रथा प्रचलनमा ल्याइएको प्रमाणित गर्न मैनाली माक्र्सवादी चिन्तक फ्रेडरिक एंगेल्ससम्म पुग्छन् । सम्पन्न परिवारमा नारी बढी शोषित हुने एंगेल्सको तर्कलाई मैनालीले जंगबहादुर राणाको मृत्यु हुँदा बडामहारानी, महारानी, रानी र नानी गरी ४२ जना सती गएको घटनासँग जोडेका छन् ।

सती प्रथालाई सम्पत्ति हस्तान्तरणसँग जोड्दै पुस्तकमा लेखिएको छ, ‘कुनै पुरुषको मृत्युपछि पत्नीले अर्कै पुरुषलाई त्यो सम्पत्ति नसुम्पिउन् भनेर सतीको विकास भयो ।’ अनि, स्त्रीलाई पतिसँगै जल्न मनोवैज्ञानिक र भौतिक परिस्थिति निर्माण गर्न धर्मको अस्त्र प्रयोग गरियो । मैनाली लेख्छन्– देवीदेवता र स्वर्ग÷नर्कको कल्पना गरेर पतिलाई खुशी नबनाउने र कुलको नियम नमान्ने स्त्री नर्क जान्छन् भन्ने भय (भाष्य) सिर्जना गरियो । भाग्यवादको मसिनो परिभाषा मार्फत मनुस्मृतिले नारीलाई दासकै तहमा लग्यो ।

नेपालमा सती प्रथा दक्षिण छिमेक भारतको राजस्थान हुँदै भित्रिएको तथ्य प्रस्तुत गरिएको छ । राजस्थानमा भने मुसलमानको आक्रमण हुँदा ‘आफ्ना नारीहरूले अन्य समुदायसँग विवाह नगरोस् र हिन्दू संस्कृति जोगियोस्’ भन्ने मनोविज्ञानमा सती प्रथा जन्मिएको हुनसक्ने तर्क गरिएको छ । राजस्थानबाट नेपाल भित्रिएको यो कुप्रथालाई जयस्थिति मल्लले उत्कर्षमा लगे ।

जसरी र जे कारणले यो कु–प्रथा प्रचलन विकास भएको तर्क गरिए पनि त्यसको मूल ध्येय भने नारीलाई वस्तु र सम्पत्तिका रूपमा हेर्नु रहेकोमा जोड दिइएको छ । पतिको प्रेमले सती जाने नभएर धार्मिक भय सिर्जना गरी स्त्रीलाई पुरुषको सम्पत्ति मानिएको अनेक प्रसंग पुस्तकमा छ । पुरुषको सम्पत्ति भएपछि उनको मृत्युसँगै जल्नुपर्ने भयो । तर नेपालको सामाजिक परिवेश (जनजाति संस्कृति) र अंग्रेजका कारण विकसित हुँदै गएको भू–राजनीतिक कारणले खस–आर्य समुदायमा कायम कुप्रथा सजिलै अन्त्य भएको व्याख्या समेत गरिएको छ ।

हटेको छैन ‘सती’

पतिको शवसँगै पत्नी जल्ने कुप्रथा विस्मृतिमा गइसकेको छ । तर अझै पनि अनेक नाममा नारीहरू जलिरहनुलाई भने सती प्रथाकै शृङ्खला मानिएको छ । दाइजो प्रथा, बोक्सीको आरोप अनि बलात्कार जस्ता घटनामा नारीको ज्यान जाने घटनालाई सती पठाउने क्रूर चिन्तनबाट अलग रहेर हेर्न मिल्दैन ।

अहिले पनि सम्पत्ति र वंशको अधिकारबाट नारी बञ्चित छन् । ‘जब नारीलाई सम्पत्तिबाट अलग गरियो, तब राम्रो सम्पत्ति भएको पुरुषसँग जीवन बिताउन उसको मन जित्नुपर्ने भयो’, आजको वस्तुगत अवस्थितिबारे लेखक लेख्छन्, ‘राम्री देखिएर पुरुषलाई लोभ्याउन÷रिझाउन भोकै बस्न तयार भएर पनि शरीर राम्रो देखाउने नारी मनोविज्ञानलाई पनि सतीकै शृङ्खलासँग जोड्न सकिन्छ ।’

सती अन्त्य भएको शताब्दी नाघिसक्दा पनि पुरुष र नारी असमान देखाउने सांस्कृतिक पर्व र मनोविज्ञान हटिनसकेको निष्कर्ष छ । तीज र साउने सोमबार त्यसैको उदाहरण हो । पति खुशी पार्न खुट्टाको पानी पिउनुलाई ‘चरणामृत’ मान्ने र त्यसो नगरिए महापाप लाग्ने चिन्तनबाट नारी मुक्त हुनसकेकी छैनन् । महीनावारीमा ‘म अपवित्र’ भन्ने मनोविज्ञान अन्त्य हुन नसक्नु पनि सतीकै शृङ्खला हो ।

पुस्तकको अन्तिम खण्डमा ४२ परिशिष्ट समेट्दै लेखकले सतीसँग जोडिएका किम्बदन्ती, अनुश्रुति र अभिलेख समेटेका छन् । सती प्रथालाई केन्द्रमा राखिए पनि पुस्तकले नारी र पुरुष बीचको हजारौं वर्ष लामो विभेद औंल्याएको छ । सम्पत्ति सिर्जना र सन्तान उत्पादनका साझेदार नारीमाथि विभेदको उत्कर्ष ‘सती प्रथा’ अनि अहिले पनि कायम अत्याचार पुस्तकमा पढिरहँदा मानव मनका पुरुष पनि नजलिरहन सक्दैनन् । र, यति चाहिं भन्न सकिन्छ– पुस्तकले भोक मेट्दैनन्, बरू नारी अन्यायबारे थप अध्ययन र विमर्शको तिर्खा जगाउँछ ।

विधाः अनुसन्धान

प्रकाशकः किताब पब्लिसर्स

मूल्यः रु.७००

लेखकको बारेमा
सइन्द्र राई

राजनीतिक ब्युरोमा कार्यरत वरिष्ठ सम्बाददाता राई मुलतः बामपन्थी राजनीतिक मामिलामा कलम चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment