+
+

चिनियाँ नेतामाथि यौन आरोप लगाउने टेनिस खेलाडी हराएपछि सर्वत्र चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते १६:३१

४ मंसिर, काठमाडौं । बेपत्ता भएकी चिनियाँ टेनिस खेलाडीको अवस्था सार्वजनिक गर्न सयुक्त राष्ट्रसंघ र अमेरिकाले माग गरेका छन् । शुक्रबार अमेरिका र राष्ट्रसंघले पेङ सुआईको शारीरिक र स्वास्थ्य अवस्थाबारे जानकारी दिन भनेका हुन् ।

ह्वाइट हाउसककी प्रेस सचिव जेन साकीले चीनसमक्ष पेङको अवस्थाबारे ‘स्वतन्त्र र पुष्टि गर्न सकिने प्रमाण’ उपलब्ध गराउन भनेकी छन् । साकीले महिला डबल टेनिसकी पूर्व एक नम्बर खेलाडीबारे ‘गहिरो चिन्ता’ समेत व्यक्त गरेकी छन् ।

राष्ट्रसंघले समेत पेङको शारीरिक र स्वास्थ्य अवस्थाबारे प्रमाण पेश गर्नुपर्ने बताएको छ । चिनियाँ नेतामाथि पेङले लगाएको यौन दुर्व्यवहार र आक्रमणसम्बन्धी आरोपबारे समेत पारदर्शी ढंगले छानबिन गर्नुपर्ने राष्ट्रसंघको माग छ ।

‘उनको शारीरिक र स्वास्थ्य अवस्थाबारे प्रमाण पेश गर्न आवश्यक छ’, मानव अधिकारसम्बन्धी राष्ट्रसंघीय कार्यालयकी प्रवक्ता लिज थ्रोस्सेलले जेनेभामा पत्रकारसँग कुरा गर्दै भनिन्, ‘उनले लगाएको यौन आक्रमणको आरोपमाथि पूर्ण पारदर्शितासहित छानबिन गर्न माग गर्दछौं ।’

टेनिस खेलाडी नाओमी ओसाका, सेरेना विलियम्स र नोभाक जोकिभिचले समेत पेङको पक्षमा आवाज उठाएका छन् ।

तर पेङ हराएको घटनाबारे चीन सरकार मौन देखिन्छ । शुक्रबार त्यहाँको विदेशमन्त्रालयले पेङसँग सम्बन्धित विवादित विषयबारे आफू अनभिज्ञ रहेको बताएको थियो ।

यसबाहेक, बुधबार चिनियाँ समाचार माध्यम सीजीटीएनले पेङको नाममा एक ई-मेल जारी गरेको थियो । उक्त ई-मेलमा पेङ हराइरहेको कुरालाई खण्डन गर्दै उनी सुरक्षित रहेको उल्लेख गरिएको छ । ‘म घरमै आराम गरेर बसेकी छु र सबै ठीक छ’, पेङले लेखेको भनिएको इमेलमा उल्लेख छ ।

तर महिला टेनिस संघ (डब्लूटीए)का प्रमुख स्टिभ सिमोनले एक विज्ञप्ति जारी गर्दै पेङको नामा जारी गरिएको उक्त ई-मेलप्रति आशंका व्यक्त गरेका छन् । सो ई-मेल पेङले लेखेको वा उनको तर्फबाट लेखिएको भनेर ‘विश्वास गर्न नसकिने’ सिमोनको भनाइ छ ।

पेङले नोभेम्बर २ गते चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेता एवं पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीमाथि जबर्जस्ती यौन सम्पर्क गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा एक पोष्ट गरेकी थिइन् । चिनियाँ इन्टरनेटमा हंगामा मच्चाएपछि वेइबोमा रहेको उनको पोष्ट हटाइएको थियो ।

झाङले खुलापत्रको रुपमा लेखेको उक्त पोष्टमा आफू र झाङ कम्तिमा १० वर्षसम्म सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन् ।

खुलापत्रमा हाल ७५ वर्षीय झाङलाई आफूले मन दिएको भन्दै ३५ वर्षीय पेङले लेखेकी थिइन् ‘तपाईंले किन मेरो घरमा फेरि आउनुभएको र आफ्नो घर लगेर मलाई यौन सम्पर्कका लागि बाध्य पार्नुभएको थियो ? हो, मसँग कुनै प्रमाण थिएन र प्रमाण सम्भव पनि थिएन ।’

‘मैले आफूलाई कतिसम्म घृणित ठानेकी थिएँ भनेर शब्दमा भन्न सक्दिनँ, न त मैले अझै पनि मान्छे हुँ भनेर कैयौं पटक आफैंलाई सोधेको कुरा भन्न सक्छु’, सुआईको पोष्टमा भनिएको थियो, ‘मैले आफूलाई हिँडिरहेको जिउँदो लास ठानेकी थिएँ । हरेक दिन म खासमा को हुँ भनेर सोच्थेँ ।’

तर उक्त पोष्ट गरेयता सार्वजनिकस्थलमा पेङ देखिएकी छैनन् ।

सन् २०१२ देखि २०१७ सम्म ७ सदस्यीय पोलिटब्यूरो स्थायी कमिटीमा रहेका झाङले सन् २०१८ मा उप-प्रधानमन्त्री पदबाट राजीनामा दिँदै राजनीतिबाट सन्यास लिएका थिए । ३५ वर्षीया सुआई विम्बल्डन तथा फेन्च ओपन टेनिसकी च्याम्पियन हुन् ।

यौन हिंसा तथा दुर्व्यवहार विरोधी अभियान ‘मिटु’ चीनमा समेत विस्तारै फैलिन थालेको छ । यसअघि चीनका केही वौद्धिक, एनजीओकर्मी र सेलिब्रिटीमाथि सार्वजनिक रुपमै यौन हिंसाको आरोप लागेको थियो ।

तर कम्युनिष्ट पार्टीको उपल्लो तहका वरिष्ट नेतामाथि यौन हिंसा एवं दुर्व्यवहारको आरोप लागेको यो पहिलो पटक हो । चीनमा त्रासका कारण यौन दुर्व्यवहारबारे कमैले मात्रै खुलेर बोल्न सक्छन् ।

पेङले झाङमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिनियाँ कम्युनिष्ट पार्टीको उपल्लो तहलाई ‘मीटू’ अभियानमा तानेको छ ।

‘चीन सरकारले व्यवस्थित रुपमै मिटु मुभमेन्टलाई दबाएको छ’, एमनेस्टी इन्टरनेशनल चीनकी अनुसन्धानकर्ता डोरियानी लाऊले भनिन् ।’

यसअघि विश्वकै ठूलो इ-कमर्श कम्पनी अलि बाबाका संस्थापक ज्याक मा एकाएक हराएका थिए । चिनियाँ नियामकहरूको आलोचना गरेपछि गत वर्षको अक्टोबरमा हराएकामा यसैवर्षको जनवरीमा भिडियोमा देखिएका थिए तर उनले आफू बेपत्ता भएकोबारे केही बोलेनन् ।

त्यस्तै, सन् २०१८ मा हलिउड नायिका फाङ बिङबिङलाई ३ महिनासम्म बेपत्ता पारिएको थियो । पछि उनले कर छलिबारे छानबिन भइरहेका बेला आफूलाई घरमै नजरबन्दमा राखिएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?