+
+

सुडानी सेनाले ‘कू’पछि अपदस्थ प्रधानमन्त्रीलाई पुनर्बहाली गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १५:२७

५ मंसिर, काठमाडौं । सुडानको सेनाले ‘कू’पछि अपदस्थ गरिएका प्रधानमन्त्री अब्दल्ला हामदोकलाई पुन: पदमा बहाली गर्ने तयारी गरेको छ ।

सेनाले अपदस्थ प्रधानमन्त्री हामदोकलाई पुनर्वहाली गर्ने र हिरासतमा रहेका अन्य नेताहरूलाई रिहा गर्ने तयारी गरेको मध्यस्थकर्ताले बताएका हुन् ।

आइतबार उम्मा पार्टीका प्रमुख फदलाल्लाह बुर्मा नसिरले सेनाले हामदोकको पुनर्वहाली र हिरासतमा रहेका नेताको रिहाईको तयारी गरेको पुष्टि गरेका हुन् । त्यस्‍तै, सुडानका मध्यस्थकर्ताको एक समूहले विज्ञप्तिमार्फत् यस सम्बन्धमा सहमति भएको बताएका छन् ।

‘जनरल बुर्हान, अब्दल्ला हामदोक, राजनीतिक शक्ति र नागरि समाज संगठनबीच हामदोकलाई पुन: पदमा वहाली गर्ने र राजनीतिक बन्दीलाई रिहा गर्ने गरी एक राजनीतिक सहमति भएको छ’, नसिरले भने ।

सहमतिअनुसार हामदोकले प्राविधिक विज्ञ ( टेक्नोक्रेट) सम्मिलित एउटा स्वतन्त्र मन्त्रिपरिषद् गर्ने र राजनीतिक बन्दी रिहा हुने नसिरको भनाइ थियो । शनिबार राति बसेको एक बैठकमा आफू पनि सहभागी भएको र उक्त बैठकमा यस्तो सहमति भएको समेत उनले बताए ।

झण्डै ४ हप्ताअघि जनरल अब्देल फताह अल बुर्हानको नेतृत्वमा भएको सैनिक ‘कू’पछि प्रधानमन्त्री हामदोकसहित वरिष्ठ अधिकारीलाई हिरासतमा लिइएको थियो । तर अन्तर्राष्ट्रिय दबाबपछि हामदोकलाई रिहा गरिएको भए पनि अन्य अधिकारी भने अझै सेनाको नियन्त्रणमा छन् ।

बुर्हानले अक्टोबर २५ मा भएको सैनिक ‘कू’लगत्तै प्रधानमन्त्रीसहित वरिष्ठ अधिकारीलाई नजरबन्दमा राखेर संकटकाल घोषणा गरेका थिए । तर सेनाको उक्त कदमलाई अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो भने लाखौं सुडानीले लोकतन्त्र वहालीका लागि सडकमा आएर विरोध प्रदर्शन गरेका थिए ।

सैनिक ‘कू’को विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा हालसम्म ४० जनाको मृत्यु भएको छ । बुधबारको प्रदर्शनका क्रममा १६ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?