+
+

टिकटक पर्यटन : ‘भाइरल रोड’देखि नयाँ-नयाँ गन्तव्यसम्मको प्रचार

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ मंसिर ६ गते १७:००

६ मंसिर, काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाका बिँड’ । यही उखान चरितार्थ हुने गर्छ, सामाजिक सञ्जालको प्रयोगमा पनि । सामाजिक सञ्जालको सही प्रयोग नगर्दा बालबालिका तथा युवापुस्तामा अनेकथरी सामाजिक र शारीरिक समस्या नदेखिएका पनि होइनन् । तर, यसको सही प्रयोग गर्दा लाखौं रुपैयाँ कमाउने स्रोत समेत बनेको उदाहरण भेटिन्छ ।

हिजोआज आफ्नो व्यवसाय विस्तारमा होस् वा कलात्मक क्षमता प्रदर्शन गर्न, टिकटक गतिलो माध्यम बन्न थालेको छ । कतिपयले यसलाई आफ्नो कला प्रस्तुत गर्ने माध्यम बनाएका छन् भने कतिपयले आफ्ना सिर्जनाहरुको प्रचार गर्ने माध्यम । आफ्नो कला टिकटकमा देखाएर कोही स्थापित कलाकार समेत भइसकेका छन् ।

टिकटकले धेरै फाइदा पुर्‍याएको अर्को क्षेत्र हो, आन्तरिक पर्यटन । नेपालका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले देशभरका १०० घुम्नैपर्ने ठाउँको सूची सार्वजनिक गर्ने गर्छ । ती क्षेत्रको विज्ञापन र त्यहाँको पर्यटकीय ‘रोडम्याप’ तयार पार्नको लागि वर्सेनि लाखौं रुपैयाँ खर्च पनि गर्छ । तर त्यो लाखौं रुपैयाँ खर्च गरेर तयार पारेको योजनाभन्दा बढी प्रचार सामाजिक सञ्जालबाट केही दिनमा निःशुल्क हुन थालेपछि बोर्डले पनि नयाँ पर्यटकीय गन्तव्यको खोजीका लागि सामाजिक सञ्जालको सहारा लिन थालेको छ ।

सामाजिक सञ्जालमा पनि टिकटकको भूमिका यसमा बढी देखिन्छ । भलै यसले दिगो पर्यटन प्रवद्र्धनमा कति योगदान दिन्छ त्यो हेर्न बाँकी छ, तर नयाँ–नयाँ पर्यटकीय गन्तव्यको रूपमा सम्भावना बोकेका ठाउँ पहिचानमा भने टिकटकले सहयोग गरेको छ ।

पर्यटन बोर्डको टिकटक सहारा

जब कोरोना महामारीका कारण मानिसहरु बाहिर निस्कन सकेनन्, त्यतिबेला नेपाल पर्यटन बोर्डले घरमै बसेर फोटो र भिडियो प्रतिस्पर्धाको लागि एउटा अभियान चलायो । ‘फोटो फ्रम योर विन्डोज’ नाम दिइएको यो अभियानमा विजेताको लागि १५/१५ हजार रुपैयाँको पुरस्कार राशी घोषणा गरिएको थियो । यहाँ धेरै सिर्जनशील तस्वीर र भिडियोहरु आएपछि पर्यटन बोर्ड उत्साहित भयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी भन्छन्, ‘त्यसपछि हामीले खानाको प्रतिस्पर्धा गरायौं । स्थानीय खानाको प्रवद्र्धनका लागि पनि कैयौं भिडियो आएपछि हामीले ठाउँको बारेमा टिकटक बनाउने प्रतिस्पर्धा नै राखेका थियौं । यसले पर्यटकीय क्षेत्र पहिचानमा ठूलो सहयोग गर्‍यो ।’ पर्यटन बोर्डले यी क्षेत्रको प्रचारप्रसार गर्नुपरेको भए करोडौं रुपैयाँ यसैमा खर्च हुन सक्थ्यो । डा. रेग्मी टिकटकको सहयोगले सम्भावना बोकेका धेरै ठाउँहरु पहिचान भएको बताउँछन् ।

भाइरल भएपछि बोर्डको सहयोग

तनहुँको मानहुँकोट एकाएक टिकटकमा भाइरल भयो । दैनिक सयौं मान्छे जान थाले । बढ्दो भीडले शौचालय र पैदल हिँड्दा सुरक्षाको जोखिम बढायो । त्यसका लागि स्थानीय तहलाई पैसा विनियोजन गरेर ती क्षेत्रको विकासमा सहयोग गरेको डा. रेग्मीले जानकारी दिए ।

त्यस्तै, बाहुबली झरनाको पर्यटकीय प्रवद्र्धन एवं विकासको लागि भिडियो प्रस्तुति तयार पार्ने जस्ता काम पनि गरेको रेग्मी बताउँछन् । समग्रमा टिकटकले पछिल्लो समय नेपाली आन्तरिक पर्यटन प्रवर्द्धन एवं नयाँ पर्यटकीय गन्तव्य पहिचानमा ठूलो योगदान दिएको उनको भनाइ छ ।

टिकटकबाट भाइरल भएका केही पर्यटकीय गन्तव्य

ठोरीको जरावाला रोड

वीरगञ्ज–ठोरी जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको ठोरी गाउँपालिका–२ मा पर्ने सडक गत महिना मात्रै भाइरल भयो । फेसबुक, टिकटक, इन्स्टाग्राममा यो सडकको तस्वीर र भिडियो देखेपछि यहाँ घुम्न आउने मानिसको भीड बढेको छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको ठोरी प्रदेश २ कै रमणीय पर्यटकीय स्थलमध्येको एक हो । यहाँका रेड हिल, ह्वाइट हिल, सिनेही पर्वत, रानीवन, राईधारा, शिकारीवास लगायतका क्षेत्र पर्यटक आकर्षित गर्ने ठाउँ हुन् । यस्तै वनशक्ति मन्दिर, सिद्धेश्वर मन्दिर, बागमोर्चा माई, सीता गुफा धार्मिक रुपमा प्रख्यात छन् । अहिले सामाजिक सञ्जालमा भाइरल बनेको यो सडक ठेकेदार कम्पनीले निर्माण पूरा नहुँदै गत चैतमा हस्तान्तरण गरेको थियो ।

पोखराको भाइरल सडक

हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जाल टिकटकमा केही समयदेखि भाइरल भइरहेको छ । रंगरोगन गर्न बाँकी रहेको भएपनि सुन्दर देखिने पोखराको हेम्जामा रहेको यो सडक पनि टिकटककै कारण भाइरल भयो र त्यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लाग्यो ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको सडक भाइरल भएको हो । यो १२ किलोमिटर बाटो अहिले भाइरल भएपछि कसको पालामा बनेको भनेर पनि बहस समेत चल्न थालेको छ । कसैले यो केपी शर्मा ओलीको पालामा बनेको भनेर दाबी गर्छन् भने कसैले डा. बाबुराम भट्टराईको पालामा नै यसको डिजाइन र बजेट तय भइसकेको दाबी गर्ने गरेका छन् ।

मानहुँकोट (तनहुँ)

मानहुँकोट कोरोना महामारी शुरु भएपछि चर्चित भएको ठाउँ हो । टिकटकमा बादलमाथिको दृश्य भाइरल भएपछि यहाँ एकाएक मान्छेको भीड बढ्न थाल्यो । भीड नियन्त्रणमा समस्या भएपछि प्रहरीले दिनमा तीन सय जनाभन्दा बढी जान नपाउने गरी नियम नै बनाउनु परेको थियो । मानहुँकोटको सूर्याेदय र सूर्यास्त हेर्न मानिसहरुको भीड लाग्ने गर्छ । यहाँको सुन्दरता हेर्न तनहुँबाट मात्रै नभएर छिमेकी पोखरा र काठमाडौंबाट समेत मानुङकोट पुग्ने गरेका छन् ।

बाहुबली (तीनधारे) झरना (काभ्रे)

गत वर्षको दशैंतिर काभ्रेको तीनधारे झरना पनि निकै चर्चित बन्यो । कोरोना महामारीको त्रास बाँकी नै भएपनि भर्खरै ५ महिने लकडाउन सकिएपछि यो ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थाल्यो । यो पनि टिकटकका कारण बढी चर्चामा आएको गन्तव्य हो ।

काभ्रेको रोशी गाउँपालिका–३ काफलडाँडामा रहेको यो झरनाबारे स्थानीयबाहेक धेरैलाई जानकारी थिएन । काठमाडौंबाट बिहानै यात्रा तय गर्ने हो भने झरनामा पुगेर साँझ फर्किन सकिन्छ । काठमाडौंदेखि ६० र धुलिखेलदेखि झरनासम्मको दूरी ३० किलोमिटर छ । तर, झरनासम्मै पुग्ने मोटरबाटो भने छैन ।

मलपोखरी (ललितपुर)

ललितपुरको धोबीघाटस्थित मलपोखरी केही समयअघि भाइरल बन्यो । दलदलमाथि बसेर टिकटक बनाउनेको संख्यामा भारी वृद्धि भएपछि स्थानीय प्रहरीले त्यो ठाउँलाई नै निषेधित क्षेत्र घोषणा गर्‍यो । पोखरीमा भिडियो खिच्दा दलदलमा भासिने खतरा रहेको भन्दै वडा कार्यालय र प्रहरी प्रशासनले चैतको अन्तिम साता त्यहाँ गएर फोटो भिडियो खिच्न नै प्रतिबन्ध लगायो ।

नमस्ते झरना (धनकुटा)

धनकुटाको नमस्ते झरना पनि आन्तरिक पर्यटनको लागि महत्वपूर्ण गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वतिर चर्चित भएपनि गत चैत/वैशाखदेखि भने यो झरना पनि एकाएक टिकटकमा भाइरल भयो । टिकटक बनाउनकै लागि पनि त्यहाँ पुग्नेको संख्या बढ्यो ।

सेल्फी रोड (पथरी, मोरङ)

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा पर्ने बोक्रे चोकको एउटा रोड पनि एक वर्षअघि कात्तिकमा टिकटकमा भाइरल भयो । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण करिब एक किलोमिटर कालोपत्रे भएको यो सडक पथरी र उर्लाबारीको सीमानामा पर्छ । बोक्रे चोक जाने यो सडक टिकटककै कारण ‘सेल्फी रोड’को नामले चिनिन थाल्यो ।

नागबेली रोड (दाङ)

गत चैत महिनामा नै दाङको घोराहीमा पर्ने हापुर रोड एकाएक भाइरल भयो । गत फागुनतिर दुई युवती स्कुटर लिएर जाँदा त्यहाँ फोटो र भिडियो खिचेर टिकटकमा हालेपछि त्यो ठाउँको चर्चा शुरु भएको हो । पछि त्यो हापुर रोडको नाम नै परिवर्तन गरेर भाइरल रोड राखियो । यहाँ घुम्न आउनेहरुको संख्या पनि दिनुहँ बढिरहेको छ ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?