+
+

घाटामा चलेका छन् तीन विकास बैंक

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर ५ गते २१:४०

५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंकहरु घाटामा देखिएका छन् । पहिलो त्रैमासमा सार्वजनिक वित्तीय विवरण अनुसार सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक घाटामा गएका हुन् ।

राष्ट्र बैंकका प्रवक्ता समेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल भर्खरै समस्याग्रस्तबाट फुकुवा भएका क्षेत्रीय विकास बैंक नाफामा जान नसकेको बताउँछन् ।

निक्षेप कम आउने र कर्जा लगानी पनि राम्रो नहुने गर्दा बैंक घाटामा गएका हुन् । ‘पुँजी धेरै भएपनि निक्षेप कम आउने र ऋण समेत धेरै नजाने हुँदा समस्या भएको हो, कर्जा नगए पति त नाफा कमाउन गाह्रो पर्ने भइहाल्यो’ प्रवक्ता ढकालले भने ।

केही विकास बैंकहरु वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गरिरहेका बेला तीन विकास बैंक भने घाटामा सञ्चालन भएको पाइएको छ । सबैभन्दा धेरै खुद घाटामा सप्तकोशी डेभलपमेण्ट बैंक देखिएको छ । पहिलो त्रैमासमा यसले ११ करोड १ लाख घाटा बेहोरको छ ।

सिन्धु विकास बैंकले ६६ लाख ६९ हजार रुपैयाँ र नारायणी डेभलपमेण्ट बैंकले ९ लाख ११ हजार रुपैयाँ घाटा बेहोरेको छ । रत्ननगर चितवन केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेण्ट बैंक समस्याग्रस्तबाट फुकुवा भएको बैंक हो । २० वर्ष अघि नारायणी औद्योगिक विकास बैंकको नामबाट कारोबार शुरु गरेको यस बैंकको पछि नाम परिवर्तन भएको थियो ।

बैंक निकै ठूलो समस्यामा परेपछि राष्ट्र बैंकले यसको व्यवस्थापन नियनत्रणमा लिएको थियो । नयाँ व्यवस्था भित्र्याएर समस्याग्रस्तबाट फुकुवा भएको बैंकसमस्याबाट बाहिर आउन सकेको छैन । बैंकका सूचना अधिकारी भनेर कृष्णहरी शर्मा कम्पनीको वित्तीय अवस्थाबारे आफूलाई जानकारी नहुने भन्दै पन्छिए ।

घाटामा गएको अर्को बैंक सप्तकोशी डेभलपमेन्ट बैंक हो । यसले पहिलो त्रैमासमा ११ करोड १ लाख घाटा बेहोरको छ । पहिलो त्रैमासमा खर्च बढेका कारण बैंक घाटामा गएको बैंकका कुमार खड्का बताउँछन् । तर, यो क्रम निरन्तर भने नचल्ने उनको दावी छ । अहिले बैंकलाई वलियो बनाएर लैजाने गरी काम भइरहेको उनले बताए ।

नयाँ रणनीति अनुसार बैंकले दोस्रो त्रैमासमा भने राम्रो नतिजा दिने प्रवक्ता खड्काको भनाइ छ । ‘हाम्रो खर्च बढ्यो, दशैं तिहारमा रिपेमेन्ट बढेकाले थोरै घाटामा गयो’ अनलाइनखबरसँग उनले भने, ‘डिपोजिट प्रोडक्टहरु नयाँ ल्याएका छौं, राम्रो अफर दिएका छौं, अब पुसमा राम्रै हुनेछ ।’

घाटामा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक प्रदेश एकको विराटनगरमा कर्पोरेट कार्यालय रहेको क्षेत्रीय विकास बैंक हो । ०६३ सालमा स्थापना भएको बैंकले पूर्वका मोरङ, इलाम, पाँचथर, झापा, सुनसरी, धनकुटा र तेह्रथुममा कारोबार गर्दै आएको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?