+
+

खोप लगाएका विद्यार्थी डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १२:१९

६ मंसिर, काठमाडौं । भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने कदमस्वरुप पछिल्लो निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बरदेखि भिसा पाएका विदेशी नागरिक आफ्नो मुलुकमा प्रवेश गर्न पाउने बताएका हुन् । खोप लगाएका विद्यार्थी,  व्यापारिक भिसा लिएका व्यक्ति र शरणार्थीलाई डिसेम्बर १ देखि अष्ट्रेलिया प्रवेश गर्न दिने उनको भनाइ थियो ।

त्यस्तै, खोप लगाएका दक्षिण कोरियाली र जापानी पर्यटक समेत डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने छन् ।

‘दक्ष कामदार र विद्थार्थीहरू अष्ट्रेलिया फर्किने कार्य पुरानो अवस्थामा फर्किने हाम्रो प्रयासमा महत्वपूर्ण छ’, क्यानबेरामा पत्रकारसँग बोल्दै मोरिसनले भने ।

अष्ट्रेलियाले गत वर्षको मे महिनादेखि कोभिड-१९ नियन्त्रणका लागि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गर्दै सीमित मानिस र स्थायी बासिन्दालाई मात्रै मुलुकमा प्रवेश गर्न सक्ने नियम लागू गरेको थियो ।

तर पछिल्लो समय अन्तर्राष्ट्रिय सीमामा लगाइएको प्रतिबन्ध खुकुलो पारिएको छ । केही दिनअघि विदेशमा रहेका आफ्ना नागरिकलाई आउन दिने गरी प्रतिबन्ध खुकुलो पारिएको थियो ।

अष्ट्रेलियाको अर्थतन्त्रमा विदेशी विद्यार्थीले झण्डै २५ अर्ब अमेरिकी डल (३५ अष्ट्रेलियन डलर) बराबर योगदान गर्छन् ।

घर गएका विदेशी विद्यार्थी फर्किँदा त्यहाँको शैक्षिक क्षेत्रलाई निकै फाइदा हुनेछ । किनभने अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय विदेशी विद्यार्थीमा निर्भर छन् ।

तर अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा कैयौं विश्वविद्यालय र कलेजले आफ्ना कर्मचारी कटौती गर्नु परेको थियो ।

आइतबार मात्रै सिंगापुरबाट विद्यार्थीको एक समूह अष्ट्रेलिया आएको थियो । दुबै मुलुकबीच ‘ट्राभल बबल’ लागू भएपछि ती विद्यार्थी आएका हुन् ।

सीमामा गरिएको कडाइ, समयमै लकडाउन र सामाजिक दूरीसम्बन्धी कडा नियमका कारण अष्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या अन्य मुलुकको भन्दा निकै कम छ । त्यहाँ हालसम्म झण्डै २ लाख मानिसमा कोभिड पुष्टि भएको र १ हजार ९४८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अधिकांश भिक्टोरिया राज्यका छन् । उक्त राज्यमा सोमबार एक हजार २९ जना नयाँ संक्रमित फेला परेको युएसन्युज डटकमले जनाएको छ । त्यस्तै, न्यु साउथ वेल्समा १८० जना नयाँ संक्रमित फेला परेको तर अन्य राज्य वा क्षेत्रमा संक्रमणको अवथा लगभग शून्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?