+
+

मनिषा कोइरालाले कंगनालाई भनिन् ‘बुद्धिमान’, आलियालाई के भनिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १६:०२

७ मंसिर, काठमाडौं । बलिउडकी विद्रोही अनि विवादित अभिनेत्री हुन्, कंगना रनौट । बेलाबखत उनी ठूलै हंगामा पनि मच्याउने गर्छिन् । एकपटक अभिनेता हृतिक रोशनसँग उनको विवादले बलिउडलाई नराम्ररी हल्लाइदियो । आरोप–प्रत्यारोपको त्यो खेलले हृतिक, रणवीर कपूर हुँदै अरु थुप्रै अभिनेता–अभिनेत्रीलाई विवादमा तान्यो । अवस्था कस्तोसम्म भइदियो भने बलिउडका कतिपय इभेन्टमा कंगनालाई निम्तो नै गरिएन ।

चाहे उनको फिल्म ‘मणिकर्णिका’लाई लिएर होस् वा ‘सुशान्त सिंह राजपुत’को मृत्युलाई लिएर, कंगना विवादै विवादको घेरामा रहिन् । थुप्रै बलिउडकर्मीसँग कंगनाको ग्रह मिल्दैन ।

बलिउडमा सबैभन्दा तिखो टिप्पणी गर्नेमध्येकी एक कंगनाको बारेमा अभिनेत्री मनिषा कोइराला भने निकै नरम छिन् । हालैको एक अन्तर्वार्तामा उनले कंगना रनौटको प्रशंसा गर्दै उनलाई ‘ब्रिलियन्ट’को संज्ञा दिएकी हुन् । मनिषाले आलिया भट्ट र रणवीर कपूरको पनि खुब तारिफ गरेकी थिइन् ।

त्यसो त कंगना विवादित मात्र होइन हिम्मतवाली अभिनेत्री पनि हुन् । उनी चर्को बोल्ने मात्र गर्दिनन्, त्यस अनुरुप काम पनि गरिरहेकी हुन्छिन् । आफ्नो फिल्ममा उनी अभिनेता बराबर पारिश्रमिक मात्र माग गर्दिनन्, उत्तिकै सशक्त भूमिका पनि निर्वाह गर्छिन् । सन् २००६ मा बलिउड डेब्यु गरेकी कंगनाले दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । ‘फिल्म क्वीनमा मलाई कंगनाको अभिनय एकदमै मन परेको थियो,’ मनिषाले भनेकी छन्, ‘उनको अभिनय शानदार छ ।’

त्यसैगरी आलिया भट्टले सन् २०१२ बाट फिल्ममा पाइला राखेकी हुन् । हाइवे, उडता पञ्जाब, राजी र गल्ली ब्वाई जस्ता फिल्मले उनको करियरलाई उचाइमा पु¥याएको हो । मनिषाले आलियाको बारेमा भनेकी छन्, ‘मैले आलिया भट्टको काम हेरेकी छु । मलाई लाग्छ उनी हामीभन्दा धेरै अगाडि छन् ।’

अन्तर्वार्तामा मनिषाले दुवै अभिनेत्रीको खुलेर तारिफ गरिन् । साथसाथै उनले आफूलाई मनपर्ने अभिनेताको बारेमा पनि चर्चा गरेकी छन् । अभिनयमा नयाँ पुस्ता निकै होनहार भएको र विश्वकै मानक अनुरुप उनीहरुले आफूलाई उभ्याएको मनिषाले बताएकी छन् । मनिषाको नजरमा कार्तिक आर्यन राम्रो अभिनेता हुन् भने रणवीर कपूर महान् ।

आफ्ना सहकलाकारको बारेमा बताउँदै मनिषाले नाना पाटेकर, अरबिन्द स्वामी, आमिर खान लगायतको चर्चा गरेकी थिइन् ।

मनिषा कोइरालाले ९० को दशकमा बलिउडमा आफूलाई मुख्य अभिनेत्रीको रुपमा स्थापित गरेकी थिइन् । एक विज्ञापनको मोडलिङ गर्दै ग्ल्यामर क्षेत्रमा होमिएकी उनले नेपाली फिल्म ‘फेरी भेटौला’मा अभिनय गरिन् । त्यसपछि उनी मुम्बई पुगेर बलिउडमा प्रवेश गरिन् । सन् १९९१ मा ‘सौदागर’बाट बलिउड डेब्यु गरेकी मनिषाले बलिउडमा सम्झनलायक फिल्ममा अभिनय गरिन् । सन् १९९४ ‘१९४२ अ लभ स्टोरी’ सन् १९९५ मा बम्बे र अकेले हम अकेले तुम, सन् १९९६ मा खामोशी, सन् १९९८ मा दिल से लगायत फिल्ममा मुख्य चरित्र निर्वाह गरिन् । आमिर, शाहरुख, सलमान लगायत बलिउडका सबै चल्तापूर्जा अभिनेतासँग उनले अभिनय गरिसकेकी छन् ।

त्यसो त बलिउडका केही अभिनेतासँग मनिषाको नाम जोडियो । उनको लभ अफेयर र ब्रेकअपले गसिप बजार तताइरह्यो । पछि उनले नेपाली युवक सम्राट दाहालसँग विवाह गरिन्, तर त्यो दिगो हुन सकेन । सम्राटसँग सम्बन्ध विच्छेदपछि उनले क्यान्सरसँग जुध्नु पर्‍यो । क्यान्सरमुक्त भएपछि उनी केही समय धर्मकर्म र अध्यात्ममा लागिन् । साथै उनी बलिउड फर्किइन् । केही चलचित्रमा अभिनय गरिन् । अहिले फेरि उनको ‘शाहजादा’ फिल्म आउनेवाला छ । यस फिल्ममा उनीसँग कार्तिक आर्यन र कृति सेनन पनि छन् । यो फिल्म ४ नोभेम्बर २२२ मा सिनेमाघरमा सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?