+
+

मलेसियाकी मुस्लिम ट्रान्सजेन्डर मोडल, जसले आफ्नो देश छाडेर भाग्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १२:५४

८ मंसिर, काठमाडौं । गत सेप्टेम्बरमा खबर आयो कि थाइल्याण्डका अध्यागमन अधिकारीहरुले बैंककबाट एक महिलालाई गिरफ्तार गरे । हिरासतमा लिएकी महिला ३६ वर्षीया नूर सजात कमरुज्जमा थिइन्, जो मलेसियाकी एक चर्चित मोडल तथा कस्मेटिक उद्यमी थिइन् ।

मलेसियाको प्रशासनले इस्लामको अपमान गरेको आरोपमा तुरुन्त उनलाई मलेसिया पठाइदिन माग गर्‍यो । नूर सजातामाथि जनवरीमा निजी धार्मिक कार्यक्रममा बाजु कुरुङ लगाइएको आरोप थियो । यो आरोप सिद्ध भयो भने उनीविरुद्ध तीन वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।

नूर सजात एक ट्रान्सजेण्डर महिला हुन् । यसकारण उनलाई शरणार्थीको दर्जा दिएको थियो, साथै अस्ट्रेलियामा शरण माग्न समेत अनुमति दिएको थियो । त्यस्तै मलेसियाली अधिकारीहरु उनलाई पुरुष मान्छन् । साथै, इस्लामी कानून अनुसार उनले महिलाको कपडा लगाउन पाइँदैन भन्ने मलेसियाली अधिकारीको बुझाइ छ ।

बीबीसी सिड्नीको संवाददातासँग कुराकानी गर्दै नूर भन्छिन् कि उनीसँग भाग्नुको विकल्प छैन । नूरविरुद्ध सेलेनगोर प्रान्तका ‘धार्मिक प्रहरी’ले उजुरी दर्ता गरेका थिए । प्रहरीले आफूमाथि हातपात समेत गरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘म भाग्न बाध्य भएँ, किनकि मलाई नराम्रो व्यवहार गरिएको थियो । मलाई हत्कडी लगाएर ममाथि आक्रमण पनि गरियो । यी सबै मेरा मातापिताको सामु नै भएको थियो । जुन घटनाले मलाई ठूलो लज्जा महसुस भयो ।’

नूर सजाता एक चर्चित उद्यमी हुन् । जसले आफ्नो भविष्य आफैंले बनाएकी थिइन् । सात वर्ष पहिले उनले आफैंले सामाजिक सञ्जालमा त्यसको विस्तार गर्न थालिन् । पछि उनले आफ्नै ब्युटी प्रोडक्ट विकसित पनि गरिन् । उनको कम्पनीको ब्राण्ड चल्न थाल्यो ।

सामाजिक सञ्जालमा उनको दशौं लाख फलोअर हुन थाले । उनी मलेसियामा सेलिब्रेटीको रुपमा चिनिन थालिन् । जब उनी चर्चित भइन् त्यसपछि उनको लैङ्गिक पहिचानको बारेमा चर्चा शुरु भयो ।

तर, उनको पहिचानबारे केही खुलेको थिएन । सन् २०१३ मा उनी थाइल्याण्डमा एक ट्रान्सजेन्डर प्रतियोगितामा भाग लिन पुगेकी थिइन् । उनले त्यहाँ डान्स गरेर अवार्ड पनि जितिन् ।

मलेसियालीहरुलाई यसकारण समस्या भयो कि उनी मुस्लिम धर्म मान्छिन् र कैयौं पटक उनले हिजाबको साथमा तस्वीर पोस्ट पनि गरिन् । उनका अनुसार उनी महिला र पुरुष दुवै अंग लिएर जन्मिएकी व्यक्ति हुन् । सन् २०१७ मा नूर सजाताले घोषणा गरेकी थिइन् कि अब उनी पूरापूर महिला भएकी छन् । यो कुरालाई पुष्टि गर्न उनले सामाजिक सञ्जालमा चिकित्सकको रिपोर्ट पोस्ट पनि गरिन् ।

त्यसपछि मलेसियाली प्रशासनले उनीमाथि छानबिन शुरु गर्‍यो । मलेसियामा इस्लाम विकास विभागमा कार्यरत अधिकारीहरुले अन्तर्लैङ्गिक रूपमा पैदा भएको प्रमाण मागेको छ ।

गत वर्ष नूर सजात आफ्नो परिवारको साथ मक्का यात्रामा गएकी थिइन् । उनी मक्का जाँदा महिलाको पोशाक लगाएर गएकी थिइन् । उनले आम मुस्लिम भावनामा ठेस पुर्‍याएकोप्रति माफी पनि मागिन् । तर माफीबाट मात्रै उनले सुख पाइनन् । उनीविरुद्ध आपराधिक जाँच पनि शुरु भयो ।

उनी भन्छिन्, ‘जब म पवित्र धर्मस्थलमा थिएँ, त्यतिबेला मैले यो सवाल सोधेको थिएँ कि म यसरी पैदा हुनुको कुनै कारण छ र ? एक मुसलमान र एक ट्रान्सजेन्डर महिलाको रुपमा मलाई पनि आफ्नो धर्म मान्ने अधिकार छ । उनीहरु (मलेसिया सरकार)लाई ममाथि कारबाही गर्ने कुनै अधिकार छैन ।’ यस विषयमा मलेसियाको धार्मिक मामिला विभागका अधिकारीहरुले कुनै प्रतिक्रिया दिन नमानेको बीबीसीमा उल्लेख छ ।

मलेसियामा दोहोरो कानूनी व्यवस्था छ । यहाँका १३ प्रान्त तथा तीन केन्द्र शासित इलाकामा पारिवारिक तथा नैतिक मामलामा इस्लामको शरिया कानून लागू छ । ट्रान्सजेन्डर कार्यकर्ता निशा अयूब भन्छन् कि शरिया कानूनका कारण सबै प्रान्तमा ट्रान्सजेन्डर समुदायलाई निशाना बनाउने गरिन्छ । अयूबलाई समेत महिलाहरुको कपडा लगाउन अनुमति थिएन । उनलाई समेत सोही मुद्दामा जेल सजाय समेत दिइएको थियो ।

अयूब भन्छिन्, ‘शरिया कानूनको कारण नै नेता तथा धार्मिक अधिकारीहरु हाम्रो समुदायको बारेमा धेरै नकारात्मक बयान दिन्छन् । यसले हाम्रो लागि असुरक्षित र कमजोर बनाउने माहोल पैसा हुन्छ ।

(बीबीसीबाट भावानुवाद गरिएको)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?