+
+
Shares

भूमिका श्रेष्ठ : संसद‍्‍मा पुगिन् पहिलो ट्रान्सजेन्डर

भूमिका आफैंमा ट्रान्सजेन्डर हुन् । जन्मदा उनी छोरो थिए । नाम थियो, कैलाश । पछि उनले आफ्नो भावनासँगै रुपरंग बदलिन् । नाम बदलिन् । अनि भइन्, भूमिका । उनै भूमिका अब राज्यको नीति निर्माण तहमा बसेर लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज बन्नेछिन् ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ चैत २ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमिका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् र ट्रान्सजेन्डर महिलाका रूपमा संसदमा पहिलो प्रतिनिधित्व पाएकी छन्।
  • २०७७ साल चैत २३ गते मन्त्रिपरिषद्को निर्णयअनुसार भूमिका श्रेष्ठको नागरिकतामा नाम र लिंग संशोधन गरी महिला लिंग कायम गरिएको थियो।
  • भूमिका श्रेष्ठले संविधानले दिएको लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकारलाई व्यवहारमा लागू गर्ने नीति, नियम र कानुन निर्माणमा केन्द्रित हुने योजना बनाएकी छन्।

२ चैत, काठमाडौं । बहुरंगी झन्डा मुनि एउटा यस्तो समुदाय छन्, जसको जीवन भने श्यामश्वेत छ ।

अस्वीकार, अपहेलना, अत्याचारले सँधै प्रताडित हुनुपर्ने । बेरोजगारी र अभावसँगै बाँच्नुपर्ने । अनेकन कानुनी झमेलाहरू व्यहोर्नुपर्ने । रहर र आकंक्षाहरू दबाउनुपर्ने । यो खुला संसारमा आफैंलाई लुकाएर हिँड्नुपर्ने ।

अनेक बाध्यतामा छन् उनीहरू ।

त्यही बाध्यताहरूसँग पैठेजोरी खेल्दै आएकी भूमिका श्रेष्ठ यतिबेला प्रतिनिधिसभा सदस्य बनेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट छनोट गरेको छ । निर्वाचन आयोगले सोमबार साँझ समानुपातिक सूची सार्वजनिक गरेको छ । आयोगको सूचीमा उनको नाम पनि छ ।  योसँगै भूमिकाले संसद्‍मा प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् ।

भनिहालौं, भूमिका आफैंमा ट्रान्सजेन्डर हुन् । जन्मदा उनी छोरो थिए । नाम थियो, कैलाश । पछि उनले आफ्नो भावनासँगै रूपरंग बदलिन् । नाम बदलिन् । अनि भइन्, भूमिका । उनै भूमिका अब राज्यको नीति निर्माण तहमा बसेर लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज बन्नेछिन् ।

यसअघि २०६४ सालको संविधानसभामा एसियाकै पहिलो समलिङ्गी सभासदका रूपमा सुनिलबाबु पन्त चुनिएका थिए ।

पहिचानको संघर्षदेखि नागरिकता संशोधनसम्म

काठमाडौंको नैकापमा २०४४ सालमा जन्मिएकी हुन्, भूमिका । परिवार, विद्यालय र समाजमा हुने अवहेलना र भेदभावका कारण उनले कक्षा ९ पछि विद्यालय छाड्नुपरेको थियो ।

२०६२ सालमा उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कैलाश श्रेष्ठ नाममा नागरिकता लिएकी थिइन् । उक्त नागरिकतामा उनको लिंग ‘अन्य’ उल्लेख गरिएको थियो ।  नेपालमा तेस्रोलिंगी पहिचानलाई कानुनी मान्यता दिएपछि नागरिकतामा ‘अन्य’ लिंग राख्ने व्यवस्था सुरु भएको थियो ।

नीति निर्माण तहमा पुगेपछि उनले कानुनी तथा नीतिगत सुधारका साथै समाजमा चेतना र स्वीकार्यता बढाउने कामलाई पनि निरन्तरता दिने योजना बनाएकी छन् ।

तर, आफूलाई महिला पहिचानका रूपमा स्वीकार गरिनुपर्ने माग गर्दै उनले पछि नागरिकता संशोधनका लागि पहल गरिन् ।  लिंग परिवर्तन गरेको प्रमाणसहित उनले प्रशासनमा निवेदन दिइन्  । त्यसपछि २०७७ साल चैत २३ गते मन्त्रिपरिषद्को निर्णयअनुसार उनको नागरिकताको विवरण संशोधन गर्दै ‘भूमिका श्रेष्ठ’ नाम र ‘महिला’ लिंग कायम गरेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने स्वीकृति दिइयो ।

यो निर्णय नेपालमा ट्रान्सजेन्डर पहिचानको कानुनी मान्यताका सन्दर्भमा महत्त्वपूर्ण कदम मानिन्छ ।

अभियान र अन्तर्राष्ट्रिय पहिचान

भूमिका लामो समयदेखि ब्लु डाइमन्ड सोसाइटीसँग आबद्ध भएर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्दै आएकी छन् । यही संस्थामा सक्रिय भएपछि उनले खुला रूपमा तेस्रोलिंगी पहिचान स्वीकार गरिन् ।

उनको सक्रियताका कारण केही समयअघि एक अन्तर्राष्ट्रिय संस्थाले उनलाई लैंगिक समानतासम्बन्धी विश्वका शीर्ष १०० युवाको सूचीमा समेत समावेश गरेको थियो ।

उनले आफ्नो जीवन अनुभव समेटेर ‘भूमिका : तेस्रोलिंगीको आत्मकथा’ नामक पुस्तक पनि प्रकाशित गरेकी छन्, जसमा पहिचान, संघर्ष र सामाजिक स्वीकार्यताको कथा प्रस्तुत गरिएको छ ।

नीति निर्माण तहमा नयाँ प्रतिनिधित्व

हाल उनी नीति निर्माण तहमा पुगेपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दालाई संस्थागत रूपमा उठाउने तयारीमा छन् ।

उनका अनुसार नेपालको संविधानले धारा १२, १८ र ४२ मार्फत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारलाई स्वीकार गरिसकेको छ । तर, ती अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

उनको प्राथमिकता ती संवैधानिक अधिकारलाई व्यवहारमा लागू गराउने नीति, नियम र कानुन निर्माणमा केन्द्रित हुनेछ ।

लामो संघर्ष, पहिचानको लडाइँ र सामाजिक अभियानबाट अघि बढेकी भूमिका संसद्‍मा पुगेसँगै नेपालका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बदलिँदो इतिहासको प्रतिनिधि आवाज बनेकी छन् ।

उनी भन्छिन्, ‘संविधानमा अधिकार लेखिनु मात्रै पर्याप्त छैन, त्यसलाई लागू गर्ने संयन्त्र र स्पष्ट नीति बन्नु आवश्यक छ ।’

उनी शिक्षा, स्वास्थ्य, रोजगारी र राज्यका विभिन्न निकायमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँछिन् ।

लोकसेवा आयोग लगायतका सार्वजनिक संरचनामा समेत समावेशी प्रतिनिधित्व आवश्यक रहेको उनको धारणा छ ।

विविध समुदायको साझा आवाज

भूमिका आफूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्दामात्र उठाउने पक्षमा छैनन् । उनका अनुसार मधेशी, मुस्लिम, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति लगायत विभिन्न समुदायको मुद्दा उठाउने छिन् किनकी ती समुदायभित्र पनि यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरू रहेका हुन्छन् ।

‘म केवल एउटा समुदायको मात्र होइन, विभिन्न पहिचानभित्र रहेका सबै लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको आवाज बोल्ने प्रयास गर्नेछु,’ उनी भन्छिन् ।

नयाँ राजनीतिक सन्देश

राजनीतिक रूपमा सक्रिय भूमिका पहिले नेपाली कांग्रेससँग पनि आबद्ध थिइन् ।  पछि उनले समावेशी प्रतिनिधित्व र परिवर्तनको एजेन्डालाई प्राथमिकता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक यात्रा अघि बढाइन् ।

नेपालको राजनीतिमा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व पहिले पनि देखिएको थियो । उदाहरणका लागि, सुनिलबाबु पन्त खुला रूपमा समलिंगी पहिचानका साथ संसदमा पुगेका पहिलो नेता थिए । तर, भूमिका श्रेष्ठ भने ट्रान्सजेन्डर महिलाका रूपमा नीति निर्माण तहमा पुगेकी पहिलो प्रतिनिधि मानिन्छिन् ।

उनको चयनले नेपाली राजनीतिमा समावेशिताको नयाँ सन्देश दिएको धेरैको बुझाइ छ । पछाडि पारिएका समुदायलाई पनि अवसर दिनुपर्छ भन्ने सोच बलियो हुँदै गएको उनी बताउँछिन् । उनी भन्छिन् ‘अन्य पार्टीहरुले हरेक समुदायलाई समेट्नुपर्छ भन्ने कुरा सिक्न जरुरी छ ।’

समाजको सोच परिवर्तनको अपेक्षा

भूमिका श्रेष्ठका अनुसार संविधानले अधिकार दिएको भए पनि समाजमा अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति हेर्ने दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भइसकेको छैन । ‘हामी स्वयं निर्णय गर्ने ठाउँमा पुग्न थालेपछि मात्र हाम्रो मुद्दा प्रभावकारी रूपमा उठ्न सक्छ,’ उनी भन्छिन् ।

नीति निर्माण तहमा पुगेपछि उनले कानुनी तथा नीतिगत सुधारका साथै समाजमा चेतना र स्वीकार्यता बढाउने कामलाई पनि निरन्तरता दिने योजना बनाएकी छन् ।

लामो संघर्ष, पहिचानको लडाइँ र सामाजिक अभियानबाट अघि बढेकी भूमिका संसद्‍मा पुगेसँगै नेपालका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बदलिँदो इतिहासको प्रतिनिधि आवाज बनेकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?