+
+

हामी एकले अर्कोलाई खुइल्याउनुपर्ने, बाह्य शक्तिले त्यही खोजिरहेको छ : केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १४:५७

१० मंसिर, चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभित्र एकले अर्को दललाई खुइल्याउने काम भएकाले बाह्य शक्तिले खेलिरहेको बताएका हुन् ।

‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने । बाह्य शक्तिले त त्यही खोजरिहेको छ’ उनले भने ।

विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला नेपालमा पनि कम्युनिस्ट पार्टीमा टुटफुट आएको भन्दै केसीले कम्युनिस्ट पार्टीको अन्तरविरोधमा बाह्य शक्तिले खेल्न खोजेको बताए ।

‘अहिले सबभन्दा बढी तितोपिरो कम्युनिस्ट आन्दोलनमा छ, हाम्रो अन्तरविरोध बाह्य शक्ति, बाम आन्दोलन विरोधी शक्तिलाई सुनाएर औकात देखाउन खोज्छौं, यसरी हुँदैन’ उनले भने ।

अहिले गणतन्त्र र धर्मनिरपेक्षता चाहने सबै शक्ति एक ठाउँमा रहनुपर्ने पनि उनले बताए । ‘हामी सबै गणतन्त्र पक्ष धर्म निरपेक्ष पक्ष आउँदा दिनमा पनि मिलेर अगाडि बढ्नुपर्छ । हाम्रा बीचका अन्तरविरोध पनि चलाउँदै जाऔं’ उनले भने ।

मुलुकको अहिलेको अवस्थाका कारण निराशा बढिरहेको पनि केसीले बताए ।

‘अहिले जसरी मुलुक जानुपर्ने हो त्यसरी गएको छैन, कार्यकारीमा राम्रो वातावरण छैन । न्यापालिकामा पनि रामो स्थिति छैन, निराशा छ । हामी एउटाले अर्कोलाई दोष लगाइरहेका छौं’ उनले भने, ‘अहिलेको अराजकता र नैराश्यता पनि हामो कारणले भएको हो, नेपाली जनताका अगाडि इमान्दारिताका साथ स्वीकार्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?