+
+
कार्टुन :

कार्टुनको करामत : जो चित्रबाटै चरित्रको मुखुण्डो उतार्छन्

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ मंसिर ११ गते २०:२७

२०७७ मा श्रीपेच लागएका केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोटको खल्तीमा राखेको कार्टुन सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो । कलाकार अविनले बनाएको उक्त कार्टुन-चित्रलाई लिएर सामाजिक सञ्जालमा नेकपा कार्यकर्ता उनीविरुद्ध निकै खनिए ।

पार्टी अध्यक्ष ओली र एमालेबाटै राष्ट्रपति भएकी विद्या भण्डारीलाई व्यंग्य गरिएको यो कार्टुनमा अक्षरको प्रयोग त गरिएको थिएन । तर आम जनताले तत्कालीन राजनीतिलाई सजिलै बुझ्ने गरी यो बनाइएको थियो ।

अविनका अनुसार काटुर्निस्ट हुनुको सुखद पक्ष भनेको मानिसको पीडाको बोध गर्न पाउनु हो ।अर्थात्, समाजको तीतो यथार्थलाई बोध गरेर मात्र उनी त्यसलाई चित्रको रुप दिन्छन् ।आवश्यक परे त्यसमा संवाद राख्छन् । जुन चित्र र संवादले समाजको वास्तविकअनुहार प्रस्तुत गरेको हुन्छ ।

‘राजनीतिक विषयमा कार्टुन बनाउँदा सबैको चित्त बुझाउन गाह्रो हुन्छ’ उनीभन्छन्, ‘व्यंग्य गरिएका पार्टीका कार्यकर्ता वा संस्थाका पदाधिकारीको आँखी बन्नुपर्छ । उनीहरूले कार्टुनिस्टलाई शत्रुको रुपमा हेर्छन् ।’

दुई दशकदेखि सक्रिय कलाकार अविनको परिचय कार्टुनिस्टकै रुपमा बढी चर्चित छ । २०५० देखि कार्टुनकला सुरु गरेका उनले नेपाली टाइम्स, गोरखापत्र हुँदै अहिले कान्तिपुर दैनिकको लागि कार्टुन बनाउँछन् ।

कान्तिपुर दैनिकमा प्रकाशित अविनको भाइरल कार्टुन ।

अर्का कार्टुनिस्ट रवीन्द्र मानन्धर पनि राजनीतिक कार्टुन बनाउँदा कहिलेकाहीँ व्यक्तिगत झमेलामा पर्ने गरेको अनुभव सुनाउँछन् । एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न  गाईलाई व्यंग्यको पात्र बनाएर कार्टुन बनाउँदा रवीन्द्रलाई हप्काउन राप्रपा कार्यकर्ताहरू कान्तिपुर पब्लिकेसन नै आइपुगे । त्यहाँ रहेका अन्य पत्रकारले सम्झाइबुझाइ पठाएपछि मात्र कार्यकर्ताहरू केही शान्त भए ।

‘पहिला कार्टुनदेखि चित्तन बुझ्नेहरू सिधै फोन गर्थे वा कार्यालयमा आउँथे’ रवीन्द्र भन्छन्, ‘अहिले सामाजिक सञ्जालबाट नै प्रतिक्रिया दिइरहेका हुन्छन् । मन पर्नेले ‘क्या दामी !’ भन्दै सेयर गर्छन् भने मन नपरेकाले सत्तोसरापसहित काटुर्निस्टलाई गाली गर्छन् ।’

युवा काटुर्निस्ट रवि मिश्रको अनुभवमा अहिले कार्टुनका अधिकांश पाठकले सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिने गर्छन् भने केहीले म्यासेज पनिगर्छन् । रवि भन्छन्, ‘कसैको पक्ष विपक्षमा उभिने मानिसले भन्दा साधारण जनताले नै कार्टुनलाई बढी मन पराउँछन् । पक्ष लिनेले आफ्नो पक्षमा हुँदामात्र वाहवाह गर्ने तर आफूलाई व्यंग्य गर्दा क्रोधित हुने चलन हाबी छ ।’

यता पाँच दशकदेखि चित्र तथा कार्टुन बनाइरहेका वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको अनुभव पनि युवा कार्टुनिस्टहरूकै जस्तो छ । २०६२/ ६३ को जनआन्दोलन चर्किरहेको बेलाउनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको घोडा बोकेको कार्टुन बनाए।

उक्त कार्टुनले त्यतिबेला निकै ठूलो बहस सिर्जना गरेको थियो । बराल सम्झिन्छन्, ‘मानिसहरू दुई खेमामा बाँडिएर यो कार्टुनमाथि पक्ष-विपक्षमा रहे । कतिसम्म भने कार्टुनिस्टलाई फाँसी नै दिनेसम्मका कुरा पनि उठेको थियो भन्ने सुन्नमा आयो ।’

‘नेतृत्वले व्यंग्य आत्मसात गर्दैन’

हास्य व्यंग्यकार चट्याङ मास्टर कार्टुनकला नगरे पनि कार्टुनिस्टहरूसँग निकट रहने व्यंग्यकार हुन् । व्यंग्य कारिताको लामो अनुभवको निचोड सुनाउँदै चट्यांग मास्टर भन्छन्, ‘नेपाली समाजले सजिलै व्यंग्य पचाइदिन्छ । कतिसम्म भने १७ हजार मानिस मरेको गम्भीर कुरामा पनि मान्छे हाँसिरहेको हुन्छ ।’

कार्टुनिस्ट, कलाकार एवं व्यंग्यकारले गर्ने व्यंग्यको मर्म नेतृत्वले मनन गर्न नसकेको उनी बताउँछन् । अर्थात्, व्यंग्यको मर्म बुझेर आफ्नो कर्म सुधार गर्ने काम नेपाली समाजको नेतृत्व तहले गर्न सकेको छैन ।

दुर्गा बरालकाअनुसार समाजले कार्टुनलाई अझै सकारात्मक रुपमा ग्रहणगर्न सकेको छैन । आफूलाई के कारण कार्टुनमा उडाइएको हो त्यो कुरा ख्याल नगर्दा नेताहरूले गल्ती दोहार्‍याइरहने उनी बताउँछन् ।

तीन दशकदेखि सामाजिक राजनीतिक विषयमा कार्टुन बनाइरहेका रविन सायमी पनि समाजको नेतृत्वदायी तहमा हुनेहरूले कार्टुनले भन्न खोजको कुरा आत्मसात नगरेको बताउँछन् । सायमीका अनुसार खराबकाम गरेकामाथि व्यंग्य गर्दासमेत उनीहरू कहिल्यै त्यो काम सच्याउनेतर्फ लाग्दैनन् । बरू उल्टै कार्टुनिस्टसँग रिसाउने गर्छन् ।

सायमी भन्छन्, ‘हामीले कोही कसैले के भन्लाभनेर कार्टुन बनाएका हुँदैनौं । तर सकेसम्म खराब काम गर्नेहरू सुध्रिउन् र नेताहरू जनउत्तरदायी बनुन् भन्ने सोच राखेका हुन्छौं ।’

युवा कार्टुनिस्ट रविमिश्र समाजका खराब चरित्रलाई व्यंग्य गरेर सकारात्मक ऊर्जा वितरण गर्नु कार्टुनिस्टको कर्तव्य मान्छन् । कार्टुन बनाइँरहदा त्यहाँका पात्रहरू सुध्रिउन वा उनीहरूलाई राज्यले नियन्त्रण गर्न सकोस् भन्ने अभिप्राय काटुर्निस्टको मनमा हुने उनी बताउँछन् ।

नयाँपत्रिका दैनिकका कार्टुनिस्ट मिश्र भन्छन्, ‘हामीले राम्रो होस् भनेर सोच्दासोच्दै नेताहरू झन् खराब भएका छन् । यस्तो बेला हाम्रो काम उसलाई अझै कडा व्यंग्य गर्नु हुन्छ ।’

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?