+
+

मैले देखेको कांग्रेसको भविष्य 

प्रकाश पोख्रेल प्रकाश पोख्रेल
२०७८ मंसिर ११ गते १४:१६

पटक- पटकको अन्योलका बावजूद अन्ततः नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसीरमा सम्पन्न  हुँदैछ । अधिवेशन मिति निश्चित भएसँगै कांग्रेसजनमा नयाँ उत्साह फैलिएको छ।

वडा  तहको अधिवेशनदेखि नै नेतृत्वका लागि आकांक्षीहरु व्यस्त देखिंदै गर्दा कांग्रेसप्रतिको जनविश्वास बढ्दै गएको अनुमान लगाउन सकिन्छ तर नेतृत्वमा स्थापित हुने अधिकांश पंक्तिको पृष्ठभूमिले कांग्रेसभित्रको निष्ठा र आदर्श ओइलाउँदै गएको अनुमान लगाउन सकिन्छ । कांग्रेसभित्र धनवाद र डनवाद हावी हुँदै गएको हो कि भन्ने चिन्ता व्याप्त छ ।

वडा, नगर, क्षेत्र र जिल्ला तहको अधिवेशनसम्म आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी मौलाउन थालेपछि कार्यकर्ताहरु चिन्तित देखिन्छ्न् । गुटगत रुपमा मतदातालाई नै प्रभाव पार्ने गरी नेतृत्व पंक्ति मैदानमा उत्रिनु कांग्रेस संगठनको लागि फाइदाको विषय पक्कै हुन सक्दैन । स्वतन्त्रपूर्वक नेतृत्व चयन गर्न पाउने प्रतिनिधिको नैसर्गिक अधिकार माथि अंकुश लगाउनु पार्टी हितको विषय पक्कै हुँदैन । व्यक्ति बलियो बनाउने होडबाजीले पार्टी संगठन दिन प्रतिदिन कमजाेर बन्दै गैरहेको छ ।

नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक संघीय संरचना अनुसार पाँच वटै प्रदेशमा नयाँ  नेतृत्व चयन गरिंदैछ । प्रदेशको नेतृत्वका लागि गुटगत रुपमा आकांक्षीहरु मैदानमा उत्रिने निश्चितप्राय: छ तर अधिकांश प्रदेश महाधिवेशन प्रतिनिधिहरुको मनोभावना हाम्रो भन्दा राम्रो नेतृत्व हुनुपर्छ भन्ने देखिएकोले केन्द्रीय नेतृत्वले उम्मेदवार चयन गर्दा सुझबुझ पुर्याउन आवश्यक छ । प्रदेश अधिवेशनको परिणामले केन्द्रीय महाधिवेशनमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।

नेपाली कांग्रेसको महाधिवेशनलाई छिमेकी राष्ट्रहरुले पनि चासोका साथ हेरिरहेका छ्न् । भारतीय नेताहरुसँगको अन्तरक्रिया हुँदा स्वयं पंक्तिकारको बुझाइ मुख्यत: दुई नम्बर प्रदेश र लुम्बिनी प्रदेशमा कांग्रेसको नेतृत्वप्रति विशेष चासो रहेको देखिन्छ । त्यसैले कांग्रेसको राजनीतिमा लुम्बिनी प्रदेशको नेतृत्वले विशेष महत्व राख्दछ । नवलपरासीदेखि बर्दियासम्म फैलिएको भूगोलप्रति छिमेकी राष्ट्र भारतको बेग्लै चासो रहेका कारण कांग्रेसको नेतृत्व सशक्त र प्रभावकारी हुन जरुरी छ ।

स्वयं पंक्तिकारले आफ्नो ३० वर्षे कांग्रेसभित्रको  राजनीतिक अनुभवलाई लुम्बिनी प्रदेशको संगठन निर्माणका लागि जिम्मेवार भूमिकामा टेक्ने प्रयत्न गरिरहेको छु । प्रदेश समिति निर्माण गर्दा अवसर नपाएका र पाका नेताहरुको मात्र खोजी गरियो भने कांग्रेसको संगठन कमजाेर हुने निश्चित  छ । पाका नेताहरुको अनुभव र युवा नेताहरुको क्षमता र सक्रियताले मात्र कांग्रेस बलियो बन्न सक्छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वमा रहेका केही अग्रज नेताहरु , बौद्धिक वर्ग र लुम्बिनी प्रदेशका लागि निर्वाचित प्रतिनिधि लगायत महाधिवेशन प्रतिनिधिहरुसँगको परामर्श र सल्लाहमा पंक्तिकारले लुम्बिनी प्रदेशका लागि सह-महामन्त्रीका रुपमा आफूलाई उभ्याउने प्रयत्न गरिरहेको छ । पार्टीमा योगदान र क्षमताका आधारमा मूल्यांकन गर्ने संस्कार विकास हुन जरुरी छ । गाउँदेखि जिल्ला तहका अधिवेशनहरु नियाल्दा संभावना बोकेका क्षमतावान नेताहरुलाई विभिन्न ढङ्गले तल्लो तहदेखि नै रोक्ने प्रयत्न गरेको देखियो ।

यस्तो संस्कृतिले कांग्रेसको संगठन मौलाउन सक्दैन । अरुलाई एउटा औंला देखाइरहँदा चारवटा औंला आफैंतिर फर्किएको हुन्छ भन्ने हेक्का कार्यकर्तादेखि नेतृत्व तहमा हुनुपर्छ । लुम्बिनी प्रदेशको कांग्रेसको संगठनलाई सशक्त रुपमा गतिशीलता प्रदान गर्न र प्रदेश अन्तर्गतका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ निर्वाचित गराउन सक्ने सबल संगठन निर्माण गर्ने लक्ष्य पंक्तिकारको रहेको छ । कोभिडको दोस्रो लहरका बेला लामो समय मेडिसिटी अस्पतालको आईसीयुमा उपचार पश्चात  बाँचेर आएको यो नयाँ जीवनलाई देश र जनताका लागि समर्पित गर्ने प्रणका साथ अगाडि बढ्न खोजिएको हो । आफूले सह-महामन्त्री पदका लागि दावा गर्दै गर्दा केही आधारहरु प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।

१: तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र हरण गरेपछि नजरबन्दमा रहेका सभापति लगायत शीर्ष नेताहरुबाट राजाको कदम विरुद्धको आवाज रेकर्ड गराई अन्तर्राष्ट्रिय संचारमाध्यमहरुबाट प्रसारण गराइएको थियो । भूमिगत नेताहरुलाई अन्तर्राष्ट्रिय संचारमाध्यमहरुको माझमा प्रस्तुत गराउँदै तत्कालीन  राजालाई आफ्नो प्रतिगामी कदमबाट पछि हट्न बाध्य तुल्याइएको थियो । सो अवधिमा प्रतिगामी समूहबाट ज्यान लिनेसम्मका धम्कीहरु आउन थालेपछि  केही समय भारतमा निर्वासित हुनु परेको थियो । नेपालमा बस्दा समेत भूमिगत जीवन बिताउनु परेको थियो । हरण भएको प्रजातन्त्र पुनःस्थापन नभएको भए आज यसरी खुल्ला रुपमा पार्टीको अधिवेशन गर्ने कुरा असम्भव हुन्थ्यो ।

२: नेपालमा शान्ति स्थापना गराउन  विभिन्न संचारमाध्यम मार्फत अन्तर्राष्ट्रिय समुदायमाझ दबाव सृजना गर्ने उद्देश्य अनुरुप माओवादी र सेनाको चपेटामा परेका जनताको आवाजलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि  २०६१ मंसीरमा गुल्मी जाने क्रममा नेपाली सेनाले गुल्मीको बलेटक्सारमा  म माथि मरणासन्न हुने गरी आक्रमण गरेका कारण एक महीनासम्म गोरखपुरमा उपचार गर्नु परेको थियो। सेनाको चुटाइका कारण अहिले पनि मेरो दायाँ कानले कम सुन्दछ । चौतर्फी दबावका कारण नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना सम्भव भएको हो ।

३: कांग्रेस कर्याकर्तामाथिको ज्यादती विरुद्ध लागेका कारण कपिलवस्तुमा माओवादीले अपहरण गरी आफ्नो कब्जामा राखेका थिए । माओवादीको उग्र समूहले  मलाई हत्या गर्न निर्देशन दिंदा समेत माओवादी निकट विद्यार्थी नेता जनी बन्जाडेले मेरो ज्यान बचाएकी थिइन्।

४: झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारिता, निरंकुशता, नक्कली राष्ट्रवादी चरित्र र भ्रष्टाचारका कारण लोकतान्त्रिक व्यवस्थामाथि प्रहार हुने खतरा बढेपछि सरकारलाई विस्थापित गर्न  कलम आन्दोलन ( लेख रचनाहरु राष्ट्रिय /अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित) मार्फत दबाव सृजना गरेको कुरा यहाँहरुलाई अवगत नै छ । परिणामस्वरुप अहिले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ ।

५: २०४५ सालदेखि नेविसंघमा आबद्ध भै गुल्मीको नयाँगाउँमा नेविसंघको संगठन विस्तारमा नेतृत्व गर्दै प्रजातन्त्र पुनर्स्थापनाको लागि २०४६ सालको जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भएको ।

६: नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशनमा प्यानलको मिचाइका कारण महाधिवेशन प्रतिनिधिको प्रत्यासीमै सीमित रहनु परेको ।

७: विभिन्न जिल्लाको भ्रमण गरी आम जनतालाई कांग्रेसप्रति आकर्षित गराउँदै लेख रचना मार्फत नेपाली कांग्रेस संगठनलाई मजबूत  बनाउन अहोरात्र खटिरहेको ।

८: गाउँगाउँमा एम्बुलेन्स संचालन, खानेपानी, सिंचाइ , स्वास्थ्य, शिक्षा पर्यटन  लगायत विविध क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएको ।

९: केन्द्रीय नेतृत्वको समिपमा रही राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषणात्मक सुझाव सल्लाह मार्फत नेतृत्वलाई सघाउँदै आएको ।

१०: नेपाल र छिमेकी राष्ट्रबीच सुमधुर सम्बन्ध कायम राख्नका लागि लेख र विभिन्न निजी भेटघाटहरु मार्फत योगदान पुर्याउँदै आएको ।

११: आसन्न १४औं महाधिवेशनका लागि गुल्मीको २ (ख) बाट अत्यधिक मत सहित प्रतिनिधिमा निर्वाचित ।

उपर्युक्त आधारहरु प्रस्तुत गर्दै सह- महामन्त्रीको भूमिका निर्वाह गर्ने अवसर जुटाउन प्रदेश तथा महाधिवेशन प्रतिनिधिहरु, कांग्रेस नेतृत्व, बौद्धिक वर्ग, संचारजगत लगायत सम्बन्धित पक्षसँग हार्दिक अपील गर्द्छु ।

(लेखक नेपाली कांग्रेसका युवा नेता हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?