
११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीति भएको बताएका छन् । त्यसको कार्यान्वयन दशौं महाधिवेशनबाट गर्न चाहेको भन्दै उनले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई फेरि पनि पालो आउने भन्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् । एकतावद्ध पार्टी अहिलेको आवश्यकता भएको भन्दै उनले संघर्ष, बलिदान र अनुभवबाट खारिएर आएकाहरुले काँचो व्यवहार देखाउन नहुने बताए । ‘अब पनि हाम्रा व्यवहार सामूहिकतातर्फ उन्मुख भएन भने हामीले सफलता प्राप्त गर्न सकौंला ?,’ उनले सहभागीहरुलाई प्रश्न गरेका छन् ।
एमाले अध्यक्ष ओलीले दशौं महाधिवेशनबाट नेपालका लागि मात्र होइन, दुनियाँका लागि नमुनाको दृष्टान्त दिनुपर्ने बताए । पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च साझेदारी, व्यापक सहमति, सुदृढ एकता पार्टीको नीति रहेको भन्दै उनले भने, ‘यस नीतिको कार्यान्वयन यही महाधिवेशनबाट गर्ने छौं । अध्यक्षको हैसियतमा मलाई सहयोग गर्न र त्यसअनुसार उच्च समझदारी गर्न आग्रह गर्दछु ।’
प्रतिक्रिया 4