+
+

सौराहाको होटल पार्क सफारीको रूम नं. २२२

सुवास पण्डित सुवास पण्डित
२०७८ मंसिर १२ गते २०:०४

१२ मंसिर, चितवन । चितवनको सौराहास्थित होटल पार्क सफारीमा यतिबेला सबैको ध्यान केन्द्रित छ । कारण, एमालेका अध्यक्ष केपी ओली यहीँ होटलमा बसेर पार्टी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व बनाउन कसरतमा छन् ।

एमाले महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र वरपर देखिन्छन् । उनीहरु बेला बेला ओली बसेको होटल नजिक आउँछन् । नेताहरुबाट केही कुरा निस्कन्छ कि भनेर कुनै नेता आए वरपर झुम्मिन्छन् ।

अध्यक्ष ओलीको कोर टिमबाहेक अन्य नेताहरुलाई होटल भित्र के भइरहेको छ भन्ने पनि त्यति जानकारी छैन । महाधिवेशनका अधिकांश प्रतिनिधिहरुको मनोविज्ञान सकभर सहमतिमै नेतृत्व चयन होस् भन्ने छ ।

बन्दसत्रको दोस्रो दिन विहान १० बजेअघि नै आसन ग्रहण गराइसक्न भनेका ओली आइतबार दिनभर होटलबाट बाहिर निस्किएनन् । उनले पार्टीका विभिन्न नेताहरुसँग चरणबद्ध रुपमा यही होटलको बैठक कोठामा दिनभरजसो सघन छलफल गरे ।

उनलाई महाधिवेशनको बन्दसत्र हलले नेतृत्वमा सहमति गर्न अधिकार प्रत्यायोजन गरेको थियो । होटलमा एमाले अध्यक्ष ओलीबाहेक नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, महेश बस्नेतलगायतका छन् ।

रुम नं. २२२

एमाले अध्यक्ष ओली होटलको कोठा नम्बर २२२ मा बसेका छन् । महाधिवेशन सुरु हुनभन्दा २ दिन अगाडि मात्रै ओली यो होटलमा बस्ने निश्चित भएको थियो । एमालेकै अन्य नेताले बुक गरेका कोठाहरु ओली बस्ने भएपछि उनीहरुलाई अन्यत्रै सिफ्ट गरेर यहाँ राखिएको थियो ।

‘ओलीको रोजाइमा पार्क सफारी किन पर्‍यो त भन्ने प्रश्नमा होटल सञ्चालक महेश खनालले भने, ‘यो होटल सौराहाको राम्रो, सुविधा सम्पन्न, राप्ती नदी किनार, निकुञ्जको छेउ, सुरक्षित आकर्षक भएकोले अध्यक्षज्यूले रोज्नुभएको होला ।’

ओली बस्ने कोठा राप्ती नदी र निकुञ्जतिर फर्किएको छ । कोठाबाट नै निकुञ्जबाट आउने गैंडा, चित्तलहरु देखिन्छन् । ५० कोठामा १ सय बेड क्षमता भएको होटलमा ओली बस्ने कोठा नं. २२२ अरुभन्दा फरक छ ।

‘होटलको सबैभन्दा राम्रो, रोजाईको स्वीट रुम हो, भित्रै किचन पनि छ, स्वीमिङ पुल पनि देखिन्छ । अरुभन्दा फरक खालको टच दिएर बनाएको छु’ सञ्चालक खनालले भने, ‘यस्तै कोठा २० वटा छन्, तर अरु भन्दा यो फरक छ ।’

होटलमा अध्यक्ष ओलीसँग एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेललगायतका ओलीको कोर टिमका नेताहरु मात्रै बस्छन् ।

३१ करोडको लगानीमा बनेको यो होटल खनालले २०७२ सालदेखि सञ्चालनमा ल्याएका हुन् । सौराहामा ७० वटा रेस्टुरेन्ट र १ सय १० वटा सानाठूला होटेल रहेका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?