
१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को प्रमथ अधिवेशन मंसिर १६–१७ गते हुँदैछ । विराटनगरमा आयोजना हुने प्रथम अधिवेशनले नयाँ नेतृत्व छनोट गर्नेछ ।
प्रदेशको पहिलो सभापतिका लागि संस्थापन इतरपक्षबाट दुई जना दाबेदार छन् । संस्थापन पक्षले भने उम्मेद्वार तय गरेको छैन ।
प्रदेश १ सभापतिमा डाक्टर शेखर कोइराला निकट केन्द्रीय सदस्य गुरुराज घिमिरे र नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले दाबेदारी प्रस्तुत गरेका छन् । कोइरालाको इच्छा घिमिरेलाई सभापति बनाउने छ । राजीवले पनि उम्मेद्वारी घोषणा गरिसकेका कारण उनलाई केन्द्रमा लैजाने तयारी भएको कोइराला निकट एक नेताले बताए ।
संस्थापन पक्षको उम्मेदवार को ?
संस्थापन इतरपक्षबाट घिमिरेले चुनावी अभियान सुरु गर्दा संस्थापन पक्षले उम्मेद्वार भेटेको छैन । संस्थापन पक्षबाट सभापतिको चर्चामा रहेका उम्मेद्वारहरु पछि हटेका छन् । सभापतिको चर्चामा रहेका देउवा समूहका भिष्मराज आङदेम्बे, अमृत अर्याल र रामहरि खतिवडाले सभापतिमा उठ्ने इच्छा नदेखाएका हुन् ।
आङदेम्बेको तयारी केन्द्रीय सहमहामन्त्रीमा उठ्ने छ । खतिवडाले पनि सभापति शेरबहादुर देउवासँग सहमहामन्त्रीमा उठ्ने इच्छा देखाएका थिए । तर उनलाई देउवाले प्रदेश १ को सभापति उठ्न प्रस्ताव गरेका छन् । अर्याल भने मौन छन् । तर उनले प्रदेशमा उम्मेद्वारी दिने सम्भावना नरहेको उनी निकट नेताहरु बताउँछन् ।
‘म प्रदेशमा जान्न, केन्द्रीय सहमहामन्त्रीमा उठ्छु’ आङदेम्बेले भने, ‘हामी छलफलमा छौं, १–२ दिन भित्र टुङ्गो लगाउछौं ।’
रामहरि खतिवडा पनि आफ्नो इच्छा केन्द्रमै रहेको बताउँछन् । ‘प्रधानमन्त्रीसँग सहमहामन्त्री उठ्छु भन्दा उहाँले पदाधिकारीमा म्यानेज गर्न गाह्रो छ भन्नुभयो,’ खतिवडाले भने, ‘प्रधानमन्त्रीले प्रदेश सभापतिमा उठ्न प्रस्ताव गर्नु भएको छ ।’ तर आफूले प्रदेश सभापतिमा उठ्नका लागि तयारी नगरेको बताए ।
‘कृष्णप्रसाद सिटौलासँग मिलेर अघि बढ्ने अवस्था भयो भने उठ्छु,’ खतिवडाले भने, ‘नत्र उठ्दिनँ ।’ देउवा–सिटौला समूहबीच तालमेल नभए केन्द्रमै उठ्ने खतिवडाले बताए । ‘के गर्ने भन्ने अझै टुंगो लागेको छैन, सायद आज (सोमबार) साँझसम्म केही होला,’ उनले भने ।
देउवासँग नजिक रहेका तीन जनाले इच्छा नदेखाएका कारण देउवा पक्षको समर्थनमा सिटौला प्यानलबाट तारामान गुरुङको नाम पनि चर्चामा छ । तर उनको सम्भावना कम छ ।
संस्थापन इतर पक्षका गुरुराज घिमिरेले आफूले चुनावी अभियान सुरु गरिसकेको बताउँछन् । ‘प्रदेशको संरचना सैद्धान्तिक रुपबाट पार्टीको विधानमा छ, यसले मूर्त रुप लिन पाएको छैन,’ घिमिरेले भने, ‘…हामीले जस्तोबाट सुरु गर्छौं त्यस्तै परम्परा बन्छ, पार्टी चलाउने नमूना प्रस्तुत गर्न चाहन्छौं ।’
प्रदेश सभापतिमा संसदीय दलका नेता राजीव कोइराला पनि दाबेदार हुन् । तर प्रदेशसभामा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेका कारण उनलाई प्रदेश सभापति उठाउन नहुने पक्षमा कोइराला पक्षका नेताहरु छन् । सभापतिका दाबेदार घिमिरे संसदीय दलका नेता कोइरालामाथि अन्याय भएका कारण अब प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने बताउँछन् ।
विराटनगर–२ शंकरपुरमा उद्घाटन हुने अधिवेशनको निर्वाचनसम्बन्धी कार्यक्रम विराटनगर–९ जहदा रोडमा रहेको सिद्धी पार्टी प्यालेसमा हुनेछ ।
अधिवेशनमा १९ जना केन्द्रीय सदस्य, २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति र महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७५६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट सभापति र प्रदेश प्रतिनिधिसहित ९ सय ५२ जना र भातृ संस्थाबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।
प्रतिक्रिया 4