+
+

गञ्जागोलमा ‘सत्यम्’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १३:३०

१४ मंसिर, काठमाडौं । नवनिर्माता रेशम सापकोटा शुरुवाती दिनमा चलचित्र निर्माणका लागि जति हौसिएका थिए, अहिले गञ्जागोल मिलाउन दौडधुप गरिरहेका छन् ।

उनले निर्माण गर्ने भनिएको चलचित्र ‘सत्यम्’को छायांकन अझै शुरु हुन सकेको छैन । यो चलचित्र कहिले कलाकार त, कहिले ‘स्क्रिप्ट’को घनचक्करमा अल्झिरहेको छ । अभिनेता राजेश हमालले झण्डै तीन दर्जन चलचित्रको स्क्रिप्ट अस्वीकार गरेर ‘सत्यम्’मा काम गर्न लागेको बताइएको थियो ।

तर, पहिलो चरणको लकडाउन लगत्तै छायाँकन शुरु गर्ने निर्माणपक्षको योजना कोरोना महामारीको दोस्रो लहरका कारण रोकियो । निषेधाज्ञा हटेपछि चलचित्रको काम अगाडि बढाएर पोखरामा भव्य स्टुडियो पनि बनाइएको छ । तर, अहिले कलाकार र स्क्रिप्टको लफडामा चलचित्र परिरहेको छ ।

चलचित्रको वर्कसपमा सहभागी भएकी नायिका मलिका महतले वर्कसप सकिएलगत्तै चलचित्र छाडिन् । उनले छाडेपछि निर्माता र निर्देशकलाई अर्की नायिका खोज्नमा नै रस्साकस्सी देखियो । वर्कसप सकिएपछि नायिका नै परिवर्तन गर्नु परेपछि निर्देशक शंकर कार्की र निर्माता सापकोटाले स्क्रिप्टको केही अंश नै परिवर्तन गरे ।

चलचित्रको स्क्रिप्ट परिवर्तन गर्दै जाँदा एउटा राम्रो केमियो भूमिका समेत निस्कियो । यो भूमिकाका लागि फेरि निर्माता चलेकै नायकको खोजीमा लागे । तर, फेरि अहिले यो केमियो भूमिका स्क्रिप्टबाट हटाइएको छ ।

चलचित्रका लागि राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, उपासना सिंह ठकुरी, नीलम चन्द अनुबन्धित भइसकेका छन् । अझै पनि केही कलाकार फाइनल गर्न नै बाँकी छ ।

रेशम पुस १ गतेबाट चलचित्रको छायांकन शुरु हुने तयारीमा आफूहरु लागेको बताउँछन् । तर, चलचित्र छायांकन अगाडि नै गञ्जागोलमा फसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?