+
+

अष्ट्रेलियाको संसदमा एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १५:४८

१४ मंसिर, काठमाडौं। अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ ।

हालैको तयार गरिएको प्रतिवेदनमा अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको उल्लेख छ । पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले मन्त्रालयका एक सहकर्मीबाट आफू बलात्कृत भएको आरोप लगाएपछि उक्त प्रतिवेदन तयार गरिएको हो ।

‘सेट द स्टान्डर्ड’ (मापदण्ड तय गरौं) शीर्षक राखिएको प्रतिवेदनमा ५१ प्रतिशत कर्मचारीहरू कुनै न कुनै प्रकारको धम्की (बुलिङ), यौन दुर्व्यवहारको शिकार बनेको वा कर्मचारीमाथि यौन आक्रमणको प्रसास भएको उल्लेख छ ।

मंगलबार संघीय संसदमा पेश गरिएको प्रतिवेदन तयार गर्दा १७ सय २३ जना व्यक्ति र ३३ वटा संघ-संस्थासँग अन्तर्वार्ता लिइएको थियो । प्रतिवेदनअनुसार यौन दुर्व्यवहार खेपेका महिला सांसदको संख्या संसदका कर्मचारीभन्दा धेरै अर्थात् ६३ प्रतिशत रहेको छ ।

नाम गोप्य राखिएकी एक महिला सांसदले अन्तर्वार्ताका क्रममा पुरुष राजनीतिज्ञले महिलामाथि विभिन्न खाले यौन हिंसा तथा दुर्व्यवहार गर्ने गरेको र यस्तो व्यवहारले प्रश्रय पाइरहेको बताएकी थिइन् ।

केही महिनाअघि हिगिन्सले सहकर्मीमाथि बलात्कारको आरोप लागेपछि दुर्व्यवहारका विभिन्न घटना बाहिर आएका थिए । यौनिक विभेदसम्बन्धी आयुक्त केट जेनकिन्सले यौन हिंसाका अधिकांश पीडितमध्ये महिलाको संख्या उच्च रहेको बताइन् ।

‘यस्ता अनुभवले पीडित र उनीहरूको टिमलाई लामो समयसम्म असर पर्छ भने मुलुकलाई हानि हुने गरी हाम्रो संसदको कार्यसम्पादन कमजोर हुन्छ’, प्रतिवेदनकी लेखिका समेत रहेकी जेनकिन्सले भनिन् ।

A woman wearing glasses and a black top.

यसैबीच, प्रधानमन्त्री स्कट मोरिसनले प्रतिवेदनको निष्कर्षलाई ‘डरलाग्दो’ भन्दै आफू अचम्ममा परेको बताएका छन् । यसअघि मोरिसनमाथि संसदमा कार्यरत महिलालाई असमान रुपमा असर पारिरहेका विषयप्रति ध्यान नदिएको आरोप लागेको थियो ।

संसदमा पेश गरिएको प्रतिवेदनले नेतृत्व सुधार्नुपर्ने, लैङ्गिक सन्तुलन कायम गर्नुपर्ने र मादक पदार्थ सेवनको सँस्कृति कम गर्नुपर्ने सुझाव पनि दिएको छ ।

सबै राजनीतिक दललाई प्रतिवेदनमा उल्लिखित सुझावहरू पूर्ण कार्वान्वयन गर्न आग्रह गर्दै हिगिन्सले भनिन्- ‘आफ्नो पीडा साटासाट गरेर यो प्रतिवेदनमा योगदान गरेका कैयौं साहसी मानिसलाई धन्यवाद दिन चाहन्छु ।’ एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?