
१४ मंसिर, काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पराग अग्रवाल नियुक्त भएका छन् ।
ट्विटरका सह-संस्थापक ज्याक डोर्सीले सीईओबाट राजीनामा दिएपछि अग्रवाललाई उक्त पदमा नियुक्त भएका हुन् । भारतीय मूलका उनी आईआईटी बम्बेका ग्र्याजुएट हुन् ।
डोर्सीले ट्विटरमार्फत् अग्रवाललाई सीईओमा नियुक्त गरिएको जानकारी दिएका छन् । अग्रवालले कम्पनीका महत्वपूर्ण निर्णयमा अहम भूमिका खेलेको र जिज्ञासु, तार्किक, रचनात्मक, महत्वाकांक्षी, नम्र, जागरुक तथा खोजबिनमा रुचि राख्ने भएकाले अग्रवाललाई सीईओ नियुक्त गरिएको डोर्सीको भनाइ छ ।
अग्रवालले समेत ज्याक डोर्सीसहित अन्य सहकर्मीप्रति आभार व्यक्त गरेका छन् । उनले ट्वीटरमा एक पोष्ट गर्दै लेखेका छन्, ‘धन्यवाद ज्याक, मैले सम्मानित महसुस गरिरहेको छु । तपाईबाट सँधै पाएको सल्लाह र मित्रताका लागि म आभारी छु । तपाईँले ममाथि भरोसा गरेकोमा समेत आधार व्यक्त गर्न चाहन्छु । र भविष्यमा हामीलाई भरोसा गर्ने प्रेरणा दिएकोमा समेत सबै टिमप्रति आभारी छु ।’
‘यो कम्पनीमा १० वर्ष पहिला जोडिँदा कर्मचारीको संख्या १ हजारभन्दा कम थियो । यो १ दशक पहिलाको कुरा हो तर मलाई हिजो जस्तै लाग्छ’, अग्रवालले लेखेका छन्, ‘यस क्रममा मैले कैयौं उचार-चढाव, चुनौती, जीत र गल्ती देखेँ । त्यति बेला र यति बेला ट्विटरको राम्रो प्रभाव र निरन्तर प्रगति देखिरहेको छु ।’
को हुन् अग्रवाल ?
अग्रवालको जन्म सन् १९८३ मा भारतको मुम्बईमा भएको थियो । उनका बाबु भारतको आणविक ऊर्जा विभागका वरिष्ठ अधिकारी थिए भने उनकी आमा अवकाश प्राप्त शिक्षक हुन् । अग्रवाल गायिका श्रेया घोषालका क्लासमेट समेत हुन् । दुवैजनाले एटोमिक इनर्जी सेन्ट्रल स्कूलमा सँगै पढेका थिए ।
टर्कीमा २००१ मा आयोजित इन्टरनेशनल फिजिक्स ओलम्पियाडमा गोल्ड मेडल जितेका अग्रवालले आईआईटी बम्बेबाट कम्प्युटर साइन्समा ग्राजुएट गरेका छन् । उनी कम्प्युटर साइन्समा नै विद्यावारिधि गर्न भन्दै सन् २००५ मा अमेरिका गएका थिए ।
सन् २०११ देखि ट्विटरमा काम गर्न थालेका अग्रवाललाई ६ वर्षपछि प्रमुख प्राविधिक अधिकृत (सीटीओ) बनेका थिए । उनीसँग यसअघि माइक्रोसफ्ट रिसर्च र याहु रिसर्चमा नेतृत्वदायी पदमा बसेर काम गरेको अनुभव पनि छ ।
ज्याक डोर्सीले सोमबार अग्रवाललाई सीईओ नियुक्त गरेको जानकारी दिएलगत्तै ११ वर्षअघिको एक ट्विटलाई लिएर पुरातनवादीले उनको आलोचना गरेका थिए ।
‘यदि उनीहरूले मुस्लिम र अतिवादीबीच फरक देख्दैनन् भने मैले श्वेत मानिस र नश्लवादीबीच फरक देख्न आवश्यक छ र ?’, त्यतिबेलाको ट्विटरमा लेखिएको थियो । तर उनले द डेली मेल शोका क्रममा आसिफ मान्दभीलाई उद्धृत गरेको दाबी गरेका थिए ।
अग्रवालले विनीता अग्रवालसँग विवाह गरेका छन् । पेशाले फिजिसियन विनीता स्टानफोर्ड स्कुल अफ मेडिसनकी करार प्राध्यापक समेत हुन् ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4