+
+

रिहाना बनिन् बार्बाडोसको ‘नेशनल हिरो’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १७:५६

१४ मंसिर, काठमाडौं। संसारकै कान्छो गणतान्त्रिक मुलुक बार्बाडोसले चर्चित गायिका रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरेको छ ।

सोमबार राजधानी ब्रिजटाउनमा आयोजित एक कार्यक्रममा रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरिएको हो । बार्बाडोसको गणतान्त्रिक आन्दोलनका नेता मोट्लेले ‘नेशनल हिरो’ घोषणा गर्ने क्रममा रिहानालाई मञ्चमा बोलाउँदै धन्यवाद दिएका थिए ।

‘हीरा झैं निरन्तर चम्किँदै आफ्नो कामबाट मुलुकको गौरव बढाउनु हुनेछ भन्दै शुभकामना दिन चाहन्छु,’ रिहानालाई मोटलेले भनेका थिए । रिहानाले आफ्नो सिर्जनशीलता, अनुशासन र विशेषगरी जन्मभूमिप्रतिको अदभूत प्रतिबद्धतामार्फत् विश्वभर छाएको पनि उनको भनाइ थियो ।

सन् १९८८ मा बार्बाडोसको सेन्ट माइकलमा जन्मिएकी र राजधानीमा हुर्किएकी रिहानाको वास्तविक नाम रोबिन रिहाना फेन्टी हो । उनी सांगीतिक क्षेत्रमा करिअर बनाउन भन्दै किशोरावस्थामै अमेरिका गएकी थिइन् ।

अमेरिका गएयता निकै चर्चित र लोकप्रिय बनेकी रिहाना ९ वटा ग्रामी अवार्डसहित विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन् । फोर्ब्सको अर्बपतिको सूचीमा उनको समेत नाम छ ।

रिहानालाई सन् २०१८ मा बार्बाडोसका लागि राजदूत तोकिएको थियो । १९६६ मा बेलायतबाट स्वतन्त्र भएको उक्त मुलुकले केही समयअघिसम्म महारानी एलिजाबेथलाई नै राष्ट्रप्रमुख मान्दै आएको थियो ।

तर अक्टोबर ६ मा संविधान परिमार्जन गरी एलिजाबेथलाई बार्बाडोसको रानीबाट हटाउँदै उनको स्थानमा राष्ट्रपति हुने व्यवस्था गरिएको थियो । त्यसको एक हप्ता लगत्तै ७२ वर्षीया सान्द्रा मेसनलाई पहिलो राष्ट्रपतिको रुपमा मनोनयन गरियो । अक्टोबर २० गते उनी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?