+
+

जबराले आइसोलेसन कक्षबाटै तोके मुद्दाको पेशी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १९:२१

१४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सोमबार कोरोना संक्रमित भए । सोमबार राति उनको छातीमा समस्या भएपछि सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना भए । तर मंगलबार पनि उनले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोके । जबकी उनी सोमबार अपरान्हदेखि नै ‘आइसोलेसन’मा थिए ।

मंगलबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेशी तोक्ने अन्तिम दिन थियो । किनभने बुधबारदेखि गोला प्रक्रियामा आधारित भई पेशी तोक्ने निर्णय भई त्यो सूचना राजपत्रमा प्रकाशित पनि भइसकेको छ । अर्कोतर्फ, कोरोना संक्रमित भई सोमबारदेखि सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका उनले मंगलबार मुद्दाको पेशी तोके ।

‘उहाँ संक्रमित भएको र आइसोलेसनमा रहनुभएको थाहा पाएपछि केही न्यायाधीशहरुले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसँग भेटेर कसरी पेशी तोक्नुभयो भनी जिज्ञासा राख्नुभएको थियो’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘मुख्य रजिष्ट्रारज्यूले सोमबार नै प्रधानन्यायाधीशज्यूले पेशी तोक्नुभएको हो भनी जवाफ दिनुभएछ ।’

मंगलबारसम्म कार्यान्वयनमा रहेको सर्वोच्च अदालतको पुरानो नियमावलीमा प्रधानन्यायाधीशले पेशी तोक्न पाउने व्यवस्था भएपनि भोलिपल्टको पेशी सूची अघिल्लो दिन तोक्न मिल्ने व्यवस्था छैन । भोलिपल्ट अदालतमा उपस्थित हुने न्यायाधीशहरुको संख्या र नामसमेत यकिन नहुने भएकाले अघिल्लो दिन नै पेशी तोक्नु व्यवहारिक रुपमा सम्भव नहुने ती न्यायाधीशले बताए ।

उनले भने, ‘बिदामा बस्नुपर्ने र त्यसले अरु सन्देश प्रवाह हुने भएकाले पनि अन्तिम दिनको पेशी तोक्न रुची देखाएको हुनुपर्छ ।’
प्रधानन्यायाधीश जबरा सोमबारदेखि नै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा छन् ।

कोरोना भाइरस प्रोटोकल अनुसार, संक्रमित विरामीले कसैसँग भेट्न, कागजातमा हस्ताक्षर गर्न र अरु कार्यालयको काम गर्न सम्भव हुँदैन । यस्तो अवस्था हुँदा न्यायाधीशहरुले विदा लिने गर्छन् । यसअघि कोरोना संक्रमित हुँदा सर्वोच्च अदालतका अन्य न्यायाधीशहरु पनि विदामा बस्ने गरेका थिए ।

नेपालको संविधानको धारा १२९ मा ‘कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा’ वरिष्ठतम न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ ।

कोभिड संक्रमित भएको र आइसोलेसनमा रहेकाले उनी आफ्नो पदको काम गर्न नसक्ने अवस्थामा छन् । यति हुँदा पनि मंगलबार अपरान्हसम्म उनी विदामा बसेकोबारे कुनै जानकारी नआएको सर्वोच्च अदालत प्रशासन स्रोतले बतायो ।

‘उहाँ बिदामा नबसे संवैधानिक इजलास सञ्चालन हुन सक्दैन । बिदामा बस्ने हो भने बुधबार पनि कामू प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास बस्ने र मुद्दाको सुनुवाइ गर्ने सम्भावना रहन्छ’ सर्वोच्च अदालतका अर्का न्यायाधीशले भने ।

सोमबार प्रधानन्यायाधीश जबरालाई संक्रमणको पुष्टि भएकाले उनी कम्तिमा पनि १० दिनदेखि दुई सातासम्म अदालतमा उपस्थित भई काम गर्ने सम्भावना छैन । तर बुधबारदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु हुने भएकाले उनीविना पनि पेशी तोक्ने लगायतका काम हुनसक्छन् ।

‘केही जरुरी नितीगत निर्णय आवश्यक भए पेशी व्यवस्थापन समितीको बैठक बसेर थप निर्णय हुन सक्छ’ सर्वोच्च अदालतका ती न्ययााधीशले भने, ‘त्यो समितिमा पनि प्रधानन्यायाधीश नै उपस्थित हुनुपर्छ भन्ने छैन । उहाँ नआए वरिष्ठतम न्यायाधीशको नेतृत्वमा अरु तीन न्यायाधीशको समितिले काम गर्नसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?