
१५ मंसिर, विराटनगर । नेपाली कांग्रेसको संस्थापन पक्षले मोरङको जिल्ला अधिवेशनमा बेइमानी भएको बताएको छ । निर्वाचनमा पराजित भएपछि सभापति शेरबहादुर देउवा पक्षले यस्तो आरोप लगाएको हो ।
आइतबारको निर्वाचनमा सभापतिका तीन उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार सभापतिका लागि पुनः मतदान भएको थियो । देउवा पक्षका उम्मेदवार दिलिप गच्छदारलाई पराजित गर्दै डा. शेखर कोइराला पक्षका उम्मेदवार डिगबादुर लिम्बू जिल्ला सभापतिमा बिजयी भए ।
कांग्रेसको संस्थापन पक्षले अमृत अर्याललाई चुनावी कमान्डर तोकेको थियो । बुधबार पत्रकार सम्मेलन गरी अर्यालले हारको जिम्मेवारी आफूले लिने बताउँदै निर्वाचनमा बेइमानी भएको बताए । उनले पार्टीको आन्तरिक चुनावमा पनि षड्यन्त्र भएको गुनासो गरे । केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइरालातर्फ लक्षित गर्दै उनले पार्टीको नेतृत्व गर्छु भन्ने नेताले कमिलाको जस्तो छाती बनाएको गुनासो गरे ।
‘हामीलाई निर्वाचनका लागि आजको मिति दिइएको थियो, तर षड्यन्त्र मुलक रुपमा मंगलबार नै गर्ने सूचना प्रकाशित भयोे’ उनले भने, ‘हामीले तयारी पर्याप्त गर्न पाएनौं, पार्टी भित्र बेइमानी भएको छ ।’
उनले संस्थापन इतरपक्ष पार्टी बनाउने भन्दा पनि आफ्नो गुट दह्रो बनाउनेतर्फ लागेको बताए । पत्रकार सम्मेलनमा मोरङको सभापतिका उम्मेदवार दिलिप गच्छदारले आफूले हार स्वीकार गरेको बताए । उनले आफूलाई मतदान गर्नेलाई धन्यवाद ज्ञापन गरे ।
मंगलबार भएको निर्वाचनमा एक हजार ९ सय ६ मत प्राप्त गर्दै लिम्बू निर्वाचित हुँदा गच्छदारले एक हजार ४ सय २५ मत प्राप्त गरेका थिए ।
पहिलो निर्वाचनमा लिम्बूले १ हजार ५ सय ४४ मत पाएका थिए । गच्छदारले १ हजार १ सय ६६ मत र सभापतिका दाबेदार यदुकुमार विष्टले ५ सय ६३ मत पाएका थिए ।
दोस्रो चरणको निर्वाचनमा विष्टले गच्छदारलाई समर्थन गरेका थिए । गच्छदारलाई सभापति देउवासँगै कृष्णप्रसाद सिटौला, बिजय गच्छदारले पनि समर्थन गरेका थिए ।
केन्द्रीय सभापतिमा रोक्नका लागि जिल्ला अधिवेशनमा कोइराला विरुद्ध चौतर्फी घेराबन्दी भएको उनी निकट नेताहरु बताउँछन् । ‘चौतर्फी घेराबन्दी थियो, तर निर्वाचनपछि तोडियो,’ कोइराला निकट एक नेताले भने,‘ सभापतिको उम्मेदवार बन्न नदिन मोरङमा रोक्नका लागि मोरङमा गरेको प्रयास असफल भयो ।’
कोइराला पक्षमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की नेता कोइरालालाई जिल्लामै रोक्ने प्रयास असफल भएको बताउँछन् । निर्वाचनमा सामान्य मतान्तर हुने आकलन गरेपनि सर्वाधिक मतसहित लिम्बू बिजयी भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4