+
+

स्टेज कार्यक्रम लयमा फर्किंदै, कोरोनाको नयाँ भेरियन्टले फेरि त्रास 

सुशील नेपाल सुशील नेपाल
२०७८ मंसिर १५ गते १७:१०

१५ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष मेला-महोत्सव, कन्सर्ट वा सांगीतिक कार्यक्रमहरु ठप्पप्रायः रहे । सांगीतिक कार्यक्रम नहुँदा विशेषगरी गायक–गायिकाहरु फुर्सदमा रहे । पछिल्लो समय गायक–गायिकाको आम्दानीको मुख्य स्रोत मानिन्छ, स्टेज कार्यक्रम । बजारमा चलेका गायक–गायिकाहरुको स्टेज कार्यक्रममा माग हुने गर्छ ।

कोरोनाका कारण लामो समय फुर्सदमा रहेका गायक–गायिका अहिले भने सांगीतिक कार्यक्रममा पुग्न थालेका छन् । सांगीतिक कार्यक्रमहरुमा कलाकारको व्यस्तता फेरि बढ्दो छ ।

दशैं–तिहारयता थुप्रै कलाकारहरु देशका विभिन्न स्थानमा पुगेर सांगीतिक प्रस्तुति दिइरहेका छन् । सांगीतिक कार्यक्रम हुन थालेपछि स्टेजमा आश्रित कलाकारहरुलाई केही सहज भएको छ ।

गायक खुमन अधिकारीले तिहारपछि थुप्रै सांगीतिक कार्यक्रममा प्रस्तुति दिए । बुटवल, भैरहवा, गुल्मी, हेटौडा, दार्चुला, स्याङजा, धादिङ, पोखरा लगायतका स्थानमा भएका सांगीतिक कार्यक्रममा उनले प्रस्तुति दिइसकेका छन् ।

आगामी दिनका लागि पनि उनका केही कार्यक्रम तय भइसकेका छन् । चितवन, गोरखा, दाङ लगायतका स्थानमा कार्यक्रम तय भएको गायक अधिकारीले बताए । ‘स्टेज कार्यक्रमहरु धेरै संख्यामा नै भएका छन्,’ उनी भन्छन्, ‘एक हिसाबले सामान्य अवस्थामा फर्किएजस्तो भएको छ ।’ सांगीतिक कार्यक्रममा दर्शकको उपस्थिति पनि बाक्लो हुन थालेको उनी बताउँछन् ।

गायिका मेलिना राईले तिहारपछि सर्लाही र दार्जिलिङ पुगेर सांगीतिक प्रस्तुति दिइन् । मेलिना मंसिर १९ गते सिमरा, २४ गते चितवन माडी र २७ गते सप्तरी फत्तेपुर पुग्दैछिन् । लगत्तै न्यू इयर इभका लागि सांगीतिक कार्यक्रमहरु तय भएका छन् ।

मेलिना भन्छिन्, ‘सामान्य अवस्थामा जस्तो नभएपनि बाक्लै संख्यामा स्टेज कार्यक्रम हुन थालेका छन् । कार्यक्रममा दर्शकको उपस्थिति पनि बाक्लै हुने गरेको छ । धेरै समयपछि कार्यक्रममा रमाउन पाउँदा दर्शकहरु निकै उत्साहित भएको पाएकी छु ।’

मेलिना धेरै समयपछि स्टेजमा जाँदा आफूले पहिलेकै पारिश्रमिक मागेपनि केही कम लिने गरेको बताइन् । ‘कोरोनाले आयोजकलाई पनि असर परेको छ । धेरैपछि कार्यक्रम गर्दा उहाँहरुमा पनि रिस्क छ । सो कारण आफ्नो पारिश्रमिक केही घटाएर लिनुपरेको छ,’ उनले सुनाइन् ।

गायक कमल खत्रीले पनि दशैं–तिहारको समयमा आधा दर्जन बढी सांगीतिक कार्यक्रममा प्रस्तुति दिए । ‘पछिल्लो समय स्टेज कार्यक्रम राम्रै संख्यामा हुन थालेको छ । धेरै स्थानमा पुगिसकेको छु । अब आउने दिनहरुमा पनि केही स्टेज कार्यक्रमहरु तय भएका छन्,’ कमलले भने ।

आइतबार बाराको सिमरा पुगेर सांगीतिक प्रस्तुति दिएका कमलले मंगलबार सप्तरीको फत्तेपुर पुगेर दर्शकलाई नचाए । केही दिनमा बुटवल, चितवन लगायतका स्थानमा स्टेज कार्यक्रम तय भएको उनले जानकारी दिए ।

उनले भने, ‘पहिलाकै जस्तो बाक्लो नभएपनि मेला–महोत्सव, कन्सर्टहरु राम्रै संख्यामा सुचारु भएका छन् । यसले पहिलेकै लयमा फर्किएको जस्तो महसुस भएको छ ।’ स्टेज कार्यक्रममा दर्शकको उपस्थिति पनि बाक्लो हुने गरेको उनी बताउँछन् ।

गायक तथा मोडल दुर्गेश थापा हिजोआज म्युजिक भिडियो सुटिङलाई थाँती राखेर स्टेज कार्यक्रममा व्यस्त छन् । तिहारपछि मात्रै आफूले दुई दर्जन बढी स्टेज कार्यक्रम गरिसकेको उनी बताउँछन् । पछिल्ला दिनमा नवलपुर, बुटवल, भैरहवा, रुकुम, भरतपुर पुगेर सांगीतिक प्रस्तुति दिए ।

‘आज सांगीतिक कार्यक्रमकै सिलसिलामा नवलपुर दुम्किवासमा छु,’ अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘बिहीबार बुटवलको योगीकुटीमा पुग्नेछु । १८–१९ गते सिक्किममा कार्यक्रम छ । २० गते सिमरामा कार्यक्रम तय भएको छ ।’

उनी लामो समयपछि सांगीतिक कार्यक्रम हुँदा शुरुशुरुमा दर्शकको उपस्थिति कम भएपनि हिजोआजका कार्यक्रममा पहिलेको जस्तै उपस्थिति हुने गरेको बताए । उनले आफूले पहिलेकै पारिश्रमिक लिइरहेको बताए ।

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमाल पनि सांगीतिक कार्यक्रममा निक्कै व्यस्त छिन् । झापा, नवलपरासी लगायतका स्थानमा सांगीतिक कार्यक्रममा पुगेर रचना बुधबार मात्रै काठमाडौं फर्किएकी छन् । ‘भोलि भोजपुर जाँदैछु । सिमरा, भैरहवा, गल्कोट र ढल्केवरमा पनि कार्यक्रम तय भइसकेका छन्,’ रचनाले भनिन् । उनी पनि आफू पुग्ने गरेका सांगीतिक कार्यक्रमहरुमा दर्शकको उपस्थिति बाक्लो रहने गरेको बताउँछिन् ।

अन्य चर्चित गायक–गायिकाहरु पनि सांगीतिक कार्यक्रममा बाक्लै गरी व्यस्त हुन थालेका छन् ।

कोरोनाको नयाँ भेरियन्टले फेरि त्रास !

स्टेज कार्यक्रम लामो समयपछि लयमा फर्किंदैछ । तिहारपछि विभिन्न शहर र जिल्लामा हुने ठूला मेला महोत्सवले अझ गति लिने गर्छन् । तर, कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण आयोजक र कलाकारहरुमा फेरि अन्योल सिर्जना भएको छ ।

गायिका मेलिना राई भर्खरै कार्यक्रम हुन थालेको बेला कोरोनाको नयाँ भेरियन्टले फेरि कार्यक्रमहरु रोकिने त्रास थपिएको बताउँछिन् । उनले नयाँ भेरियन्टका कारण विदेशको कार्यक्रम स्थगित भएको समेत बताइन् । ‘बेल्जियमको तय भएको थियो । आज बिहान मात्रै स्थगित भएको खबर आयो,’ उनले भनिन्, ‘नेपालभित्र पनि तय भएका कार्यक्रम के हुने हो अन्योल सिर्जना भएको छ ।’

गायिका रचना रिमाल पनि नयाँ भेरियन्टको खबरले त्रास सिर्जना भएको बताउँछिन् । उनी पनि केही देशमा सांगीतिक कार्यक्रमको कुरा भइरहेको भन्दै नयाँ भेरियन्टले विदेश जाने आशा न्यून रहेको बताइन् ।

‘नेपालभित्रकै कार्यक्रम के हुने हुन् भन्ने त्रास बढेको छ । लकडाउन हुने हल्ला पनि सुनिन्छ,’ रचनाले भनिन्, ‘फागुन–चैतसम्म धेरै कार्यक्रम हुन्छन्, त्यतिञ्जेल लकडाउन नभइदिए हुन्थ्यो भन्ने भएको छ ।’

गायक खुमन अधिकारी पनि लयमा फर्किएको सांगीतिक माहोललाई कोरोनाको नयाँ भेरियन्टको खबरले त्रास थपिएको बताउँछन् । विभिन्न स्थानबाट मेला–महोत्सवको कुरा भइरहेको बेला कोरोनाको नयाँ भेरियन्टको खबरले आयोजकहरुमा पनि अन्योलता थपेको अधिकारीले बताए ।

तस्वीरहरु : कलाकारको सामाजिक सञ्जालबाट

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?